पोखरीयाका निवर्तमान अधिकृत श्रीवास्तवसहित २ जना पक्राउ

वीरगञ्ज । पोखरीया नगरपालिकाका निवर्तमान अधिकृत अजय कुमार श्रीवास्तव सहित २ जनालाई पर्सा प्रहरीले बुधबार पक्राउ गरेको छ । सुवासप्रसाद चौरसियाको जाहेरीले बादी नेपाल सरकार रहेको ज्यान मार्ने उद्योग मुद्दामा श्रीवास्तव र विन्दवासिनी गाउँपालिका ईटियाही टोलका अजित कुमार चौरसियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तत्कालिन पोखरीया नगरपालिकाको भ्रष्टाचारविरुद्ध पत्रकार रन्जीत चौरसियाले समाचार प्रकाशन गरेकोमा त्यसैका निहुँमा पत्रकार रन्जीत चौरसियाको बुबा सुवासप्रसाद चौरसिया माथी कुटपिट भएको आरोप छ ।

समाचारकै विषयलाई लिएर पत्रकार रन्जीत चौरसियाको बुवा सुवास प्रसाद चौरसियामाथि रानिघाट पुल नजिक आक्रमण गरी घाइते बनाएका थिए । तत्काल जिल्ला प्रहरी कार्यालय पर्सामा ज्यान मार्ने उद्योगको जाहेरी लिएर घाइते सुवासप्रसाद चौरसियाले जाँदा उल्टै हप्काई दप्काई फिर्ता पठाएको घाइते चौरसियाको भनाई छ ।

त्यससछि घाइते सुवासप्रसाद चौरसियाले अदालतको ढोका ढक–ढकाई परमादेशको आदेशबाट मुद्दा दर्ता गराएका थिए । पक्राउ परेका निवर्तमान अधिकृत श्रीवास्तव र नेशेन्टका चौरसियालाई जिल्ला अदालत पर्साबाट म्याद थप गराई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

समाचारलाई लिएर पत्रकार चौरसिया र उनले काम गरिरहेको अनलाइनमाथि जिल्ला अदालत पर्सामा श्रीवास्तवले गाली बेइज्जतीको मुद्दा दिएका थिए । सोही सामाचारलाई आधार बनाई पत्रकार चौरसियामाथि अधिकृत श्रीवास्तव र नेशेन्ट एजुकेशनका अजित चौरसिया लगायतकाले विद्युतीय अपराध सम्बन्धमा मुद्दा दर्ता गराएका छन् ।

प्रतिक्रिया