मधेसलाई काकाकूल बनाउँदै मसलाका रुख

मसलाको एक वयस्क रुखले दैनिक ६२ लिटरभन्दा बढी पानी खपत गर्छ । यो रुखकै कारण मधेस मरुभूमीकरणतर्फ उन्मुख भएको छ ।

महोत्तरी । मधेसमा पानीको संकट बढिरहेको बेला मसलाको रुखलाई पनि कारक बनाउन थालिएको छ । भूमिगत पानीको सतह सुकाउन मसलाको रुखको महत्वपूर्ण भूमिका रहेको भन्दै किसानहरूले स्थानीय तहहरूमा निवेदन नै दिन थालेका छन् ।

झण्डै ५ दशकअघि सागरनाथ वन परियोजनाले भित्र्याएको यो रुखकै कारण मधेस मरुभूमीकरणतर्फ उन्मुख भएको किसानहरूको गुनासो रहेको छ ।
‘जब–जब यो मसलाको बिरुवा लगाइयो तब पानीको चरम अभाव सिर्जना हुँदै गयो’, बर्दिवास हात्तीलेटका पवन मगरले भने, ‘मलाई लाग्छ पानी सुक्नुको प्रमुख कारण यही नै हो ।’

जतिसुकै रसिलोे ठाउँमा पनि मसलाको रुख रोपेपछि सुक्खा हुने गरेको मगरको अनुभव छ । रुख ठूलो बनिसकेको ठाउँमा एक किलोमिटरसम्म उर्वरभूमि बन्जर बनेको बताउँदै उनले यही रुखको कारण नै पानी र माटोलाई समेत असर गरेको दाबी गरे । अन्य रुखको तुलनामा अग्लो र मोटो हुने हुँदा अस्वभाविक रूपमा एउटा रुखले दैनिक ६२ लिटरसम्म पानी सोस्न सक्ने विज्ञहरू स्वीकार गर्छन् ।

पर्यावरणविद् डा.विजय सिंहका अनुसार पानीका दृष्टिकोणले मसलाको रुख मधेसमा हानिकारक नै भए पनि किसानहरूका लागि व्यावसायिक उत्पादनमा महत्वपूर्ण छ । ‘यो जातको रुख कत्तिको हानिकारक छ भन्ने विषय वैज्ञानिक ढंगले अनुसन्धान गर्न जरुरी छ । मधेसमा पानीको समस्या गहिरिँदो छ, किसानले गरेको गुनासोमा अध्ययन गर्न सक्नुपर्छ ।’ तर विभिन्न अध्ययनले भने मसलाको रुख पर्यावरणीय हिसाबले हानिकारक नै हुने निष्कर्ष निकालेका छन् ।

अमेरिकाको नेसनल लाइब्रेरी अफ मेडिसिनले गरेको एक अध्ययनले मसला रुखको पातमा एसिड हुने हुँदा माटोको उर्वराशक्तिमा ह्रास आउने र पानी बढी सोस्ने निष्कर्ष निकालिएको छ । अध्ययनका अनुसार यसले भूमिगत पानीमा गहिरो असर पुर्याउने गर्दछ परिणामस्वरूप यो रुख भएको ठाउँमा पानीको अभाव चुलिँदै गएको छ ।

विज्ञहरूले यो रुखलाई पर्यावरण विरोधी बनस्पतिका रूपमा उभ्याएका छन् । पारिस्थितिक प्रणाली तथा जैविक प्रणालीको हिसाबले अरूको अस्तित्व स्वीकार गर्न नसक्ने बताउँदै पर्यावरणविद् नागदेव यादवले मधेसबाट यो रुखलाई विस्थापन गर्नुपर्ने बताए ।

‘यो रुखमा चराचुरुंगीले बासस्थान बनाउँदैनन् नै, किरापतंगसमेत भेटिँदैन । त्यसैले यो रुखलाई पर्यावरण विरोधी हो भन्न सकिन्छ’, उनले भने, ‘भूमिगत पानीको मुहानसमेत यो रुखले सखाप बनाइरहेको देखिन्छ ।’

संयुक्त राष्ट्रसंघको अर्को एक अनुसन्धानले पनि मसलाको एक वयस्क रुखले ६२ लिटरभन्दा बढी दैनिक पानी खपत गर्ने बताएको छ । सन् १९९३ मा युएन फुड एन्ड एग्रीकल्चर अर्गनाइजेसनले गरेको अध्ययनमा ४०० एमएल देखि १ हजार २०० एमएलसम्म वार्षिक वर्षा नहुने ठाउँमा यो रुखलाई पूर्ण प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिएको थियो ।

अध्ययनमा यो रुखले अक्सिजन दिन खासै सहयोग नगर्ने उल्लेख गरिएको छ । अध्ययनअनुसार अझ तापक्रम असन्तुलन बनाइराख्ने हुँदा जलवायु परिवर्तनमा समेत न्यून भूमिका खेल्ने देखिएको छ । देख्दा सदावहार हरित देखिए पनि अध्ययनले यो रुख पानीको लागि निक्कै हानिकारक हुने जनाएको छ ।

केही वर्ष अघिसम्म मधेसमा यो रुख लगाउने अभियान नै चलाइएको थियो । ‘आली–आलीमा सपेता गरिबी बेपत्ता’ भन्ने मूल नाराका साथ मधेसका सागरनाथ वन परियोजनादेखि व्यक्तिगत जग्गामा समेत मसलाका रुखहरू व्यापक लगाउन थालियो ।

सागरनाथ वन परियोजना र जिल्ला वन कार्यालयका अनुसार अहिले मधेसमा करोडौँ संख्यामा मसलाका रुखहरू फैलाइएको छ । अस्ट्रेलियाका लेखक एलन रुटले पनि आफ्नो एक लेखमा यो रुख पानीका लागि भने हानिकारक हुनसक्ने बताएका छन् । यो रुखको उत्पत्ति पनि अस्ट्रेलियामा नै भएको मानिन्छ ।

लेखक रुटका अनुसार अस्ट्रेलियाको सिमसार र दलदल भएको ठाउँलाई सुक्खा बनाउन यो रुख लगाइएको थियो । केही वर्षमै सिमसार क्षेत्रलाई यसले सुक्खा बनाइदियो । त्यसपछि ब्राजिलको सिमसार क्षेत्रमा लगाउन सुरु गरियो । छिटो बढ्ने र अन्य रुखको तुलनामा अग्लो, मोटो हुने हुँदा आयआर्जनका दृष्टिकोणले फाइदाजनक भएपछि विश्वभर फैलाइएको पाइन्छ । अहिले विश्वका ६७ भन्दा बढी देशमा यो रुख लगाइएको विज्ञहरू बताउँछन् ।

मसलाको रूखलाई अरू भूभागमा सार्नुमा अस्ट्रेलियाका डा.एडमन्डो नाभारु डे आन्ड्राडेको ठूलो योगदान रहेको बताइन्छ । ब्राजिलको विनाश हुँदै गएको जंगललाई पुनः घना जंगल बनाउने अठोट गरेर १९१० मा उनले अस्ट्रेलियाबाट मसलाको रूखको आयात गर्न थाले । तीमध्ये ३ करोड ८० लाखको वृक्षरोपण उनी आफैँले गरेका थिए । ब्राजिलमा मात्र २ अर्बभन्दा बढी मसलाका रूखहरू भएको बताइन्छ ।

यो रुख पानी र पर्यावरणीय हिसाबले हानिकारक नै छ भन्ने विषयलाई पछिल्लो समय अस्ट्रेलियाको सरकारले समेत महसुस गरेको देखिएको छ । यो रुखकै कारण पर्यावरणमा हानि पुगेको विषयलाई मध्यनजर गर्दै ३ लाख वर्गमिटरमा फैलिएका रुखहरूलाई विस्थापन गरिएको अस्ट्रेलियाको वाइल्डरनेस सोसाइटीले पुष्टि गरेको छ । अस्ट्रेलियाको तास्मेनिया टापुमा यो बनस्पतिको उत्पति भएको मानिन्छ ।

भारतमा १८४३ मा नै यो रुख भित्रिएको पाइएको छ । बेलायती नागरिकले भारतको तमिलनाडूमा लगेर रोपेपछि यो बनस्पति नेपालसम्म बिस्तार भएको र सागरनाथ वन परियोजनाले २०३० को दशकमै नेपालमा भित्र्याएको थियो ।

त्यसलगत्तै सरकारले यो रुख रोप्ने नीति नै बनायो । तराई र मधेसमा ‘आली–आलीमा सपेता, गरिबी वेपत्ता’ भन्ने नारा नै बनाइएको थियो । मधेसमा मसलाको रुखलाई सपेता पनि भन्ने गरिन्छ ।

उर्वराशक्ति ह्रास बनाउने, पानीको मात्रा सोसेर मरुभूमीकरणमा सहयोग गर्ने, प्रज्वलनशील हुने हुँदा आगलागीमा सहयोगी हुने, अक्सिजनको मात्रा न्यून हुने, उत्पादनमा कमी आउँदा किसानहरू नियमित खेतीपातीबाट पलायन हुनुपर्ने अनेकौँ समस्या सिर्जना भएको किसानहरूको गुनासो छ ।

विस्थापन गर्ने प्रयासमा पालिका

यही रुखका कारण मधेसका कतिपय पालिकाहरूमा किसानहरूले विस्थापन गरिदिन निवेदनसमेत दिएको पाइएको छ । २०७६ सालमा बर्दिवासमा बसेको प्रदेश समन्वय समिति बैठकमा समेत मसलाको विरुवा विस्थापन गर्नुपर्ने माग गरिएको थियो ।

यसै क्रममा धनुषाको मिथिला नगरपालिकाले त प्रस्ताव नै पेस गर्यो । उपप्रमुखले पेस गरेको उक्त प्रस्तावमा मसलाको बिरुवालाई रोक्न कानुन नै बनाउनुपर्ने माग गरिएको थियो ।

रुखले किसानहरूको पानी र बालीनालीमा गम्भीर असर परेको बाक्लै निवेदन आएपछि हटाउने र बरु फलफूलको बिरुवा रोप्ने नगरसभाबाट नै पास गराएको बताइएको थियो ।

महोत्तरीको बर्दिवास नगरपालिकाको विषयलाई लिएर पनि किसानहरूले गुनासो गर्न थालेका छन् । अघिल्ला नगरप्रमुख विदुरकुमार कार्कीले कतिपय सार्वजनिक कार्यक्रमहरूमा मसलाको रुख निषेध गर्नुपर्ने बताए पनि नीतिगतरूपमा भने पास हुन सकेको थिएन । अहिले पनि उक्त गुनासाहरू बढ्दै गएको उपप्रमुख तारादेवी महतोका सहयोगी विष्णुदेव महतो बताउँछन् ।

उदारवादी अर्थतन्त्रको प्रभाव

मसलाको रुख नेपालमा ल्याउनुमा शक्ति राष्ट्रको स्वार्थ रहेको विज्ञहरू दाबी गर्छन् । वैज्ञानिक समाजवादीका नेता मदन प्रभात सन् १९९० पछि उदारवादी अर्थतन्त्रको प्रभावमा सरकारले चुरे भावर क्षेत्रमा सागरनाथ वन परियोजनाको नाममा लाखौँ हेक्टरमा युक्लिप्टस (भिक्स)को बिरुवा लगाएको दाबी गर्छन् ।
चाँडै आम्दानी दिने बिरुवाको नाममा चारकोसे झाडीको सखुवाका रूख मासेर दलदले जमिनलाई सुक्खा बनाउन मसलाको बिरुवा लगाएर नेपाली वन क्षेत्रमा उदारवादी अर्थतन्त्रको प्रयोग गर्नु नै सबैभन्दा दुःखद् भएको उनको भनाइ छ ।

‘भावर क्षेत्रलाई मात्र होइन, माथिल्लो चुरे र तल्लो मधेसलाई नै वातावरणीय रूपमा यसले असन्तुलित बनायो’, उनले भने, ‘बितेका २५ वर्षमा त्यो वनस्पतिले पारेको नकारात्मक प्रभावलाई हामीले नियालिरहेका छौँ । २०४८/०४९ तिर सागरनाथ वन परियोजनामा बेर्नाका रूपमा छिरेको मसलाको बिरुवा आज चुरे र मधेसको कुन गाउँ र टोलमा नपुगेको होला र ? तत्काल यसले ५ देखि ७ वर्षमा आम्दानी दिए पनि कालान्तरमा यसले कृषि, पर्यावरण र वातावरणमा पारेको प्रभावलाई केलाउने हो भने आजै गएर त्यो रूख काटौँजस्तो हुन्छ ।’

नेपाली समाजको परम्परागत वनपैदावारलाई मासेर विदेशी अनुदान र सहुलियत ऋणका लोभमा लगाइने यी र यस्ता अन्य वनस्पतिले पर्यावरणलाई कस्तो असर पारेको छ ? भन्ने सरकारीस्तरबाट नै अविलम्ब अनुसन्धान गर्न जरुरी देखिएको थाहायात्राका सम्पादकसमेत रहेका पत्रकार प्रभातको सुझाव छ ।

प्रतिक्रिया