काठमाडौँ । रोलर मिल एसोसिएसन अफ इन्डियाले आयोजना गरेको द फ्युचर अफ मिलिङ, भिजन २०३० एन्ड बियोन्ड सेमिनारमा नेपाल मैदा उद्योग संघले प्रतिनिधिमूलक सहभागिता जनाएको छ । उक्त कार्यक्रम २०२५ मार्च ३ र ४ मा भारतको गोवामा सम्पन्न भएको थियो । प्रत्येक ५ वर्षमा आयोजना हुने यो कार्यक्रममा भारतका ६०० भन्दा बढी मैदा मिल कम्पनीहरू, अन्य विदेशी मुलुकका मिलिङ कम्पनीहरू र खाद्य उत्पादन, सुरक्षा, व्यवस्थापन तथा प्रशोधन प्रविधिसँग सम्बन्धित विशेषज्ञहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
नेपाल फ्लोर मिल्स एसोसिएसनका अध्यक्ष कुमुद दुगडको नेतृत्वमा नेपालका १६ प्रतिष्ठित मैदा मिल कम्पनीहरूले ३ दिने कार्यक्रममा भाग लिएका थिए । सेमिनारमा मैदा मिलको भविष्य, गहुँ उत्पादन, खाद्य सुरक्षा, नयाँ प्रविधि र चुनौतीहरूबारे विस्तृत छलफल र अन्तरक्रिया भएको थियो । विशेषज्ञहरूले स्याटलाइट प्रविधिबाट गहुँलगायत बालीको उत्पादन क्षेत्रफल र अवस्था निरीक्षण गरी भविष्यवाणी गर्ने र वास्तविक उत्पादन वृद्धिमा सहयोग पु¥याउने प्रविधिबारे जानकारी गराएका थिए । साथै, खाद्य भण्डारणका लागि आवश्यक प्रविधि र विधिहरूको पनि प्रदर्शन गरिएको थियो ।
नेपालमा हाल गहुँको औद्योगिक र घरेलु खपत १२ लाख टन रहेको अनुमान छ, जसमध्ये ४ लाख टन अभाव भारतलगायत अन्य मुलुकबाट आयात गर्नुपर्ने अवस्था छ । विगत ४ वर्षदेखि भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाए पनि यस वर्ष नेपालका लागि २ लाख टन गहुँ निर्यात गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया