दोलखा पुरातात्विक एवं पौराणिक ऐतिहासिक महत्व भएका धार्मिक, प्राकृतिक एवं जैविक विविधता बोकेको पर्यटकीय महत्वको जिल्ला हो । तीर्थाटनका लागि दोलखा पुग्ने हरेकजसो पर्यटकहरूको रोजाइमा पर्दछ कालिञ्चोक भगवती मन्दिर ।
कालिञ्चोक जान काठमाडौँबाट १३८ किलोमिटर पूर्वमा रहेको दोलखाको सदरमुकाम चरिकोट पुगेपछि १७ किलोमिटर यात्रामा कुरी पुगिन्छ । कुरीमा खाने बस्ने होटलहरू रहेका छन् । अहिले कालिञ्चोक पुग्न निजी सवारी साधन वा भाडाका जिपहरू रिजर्भ गर्न सकिन्छ भने कुरीबाट केबुलकारमा कालिञ्चोक मन्दिर पुगिन्छ । चारैतिर जंगल र भिरले घेरिएको कालिञ्चोक मन्दिर पुग्नको लागि कुरीदेखि पैदल यात्रा पनि गर्न सकिन्छ । पैदल यात्रामा रमाउने पर्यटकहरूलाई अहिले ठाउँठाउँमा फलामका रेलिङ लगाइएकाले भिरबाट लड्ने डर पनि हँुदैन । पैदल जान नसक्नेहरूका लागि विकल्पमा केबुलकार छँदै छ ।
कालिञ्चोक भगवती मन्दिर धार्मिक पर्यटकका लागि नौलो होइन । तर केबुलकार सञ्चालनमा आएपछि यहाँ तीर्थाटनका लागि आउने धार्मिक पर्यटकहरूको भिड लाग्ने गरेको छ । पहिला कालिञ्चोकको कुरीबाट मन्दिरसम्म पुग्न १ किलोमिटर उकालो हिँडनुपर्ने थियो । कतिपय तीर्थाटनका आएका पर्यटकहरू उकालो चढ्न नसकेकै कारण बीच बाटोबाटै फर्किने गर्थे । अहिले ५ मिनेट जति केबुलकारको यात्रापछि थोरै उकालो चढेर मन्दिरसम्म पुग्न ५–७ मिनेट मात्र लाग्दछ । केबुलकारबाट कुरी बजार र हिमालका मनोरम दृष्य नजिकबाट नियाल्न सकिन्छ । कालिञ्चोक मन्दिर परिसर ३ हजार ८४२ मिटरको उचाइमा रहेकोे छ ।
कालिञ्चोक प्राकृतिक सुन्दरताको हिसाबले पनि महत्वपूर्ण रहेको छ । कालिञ्चोक शिव पार्वतीको क्रिडा स्थलको रूपमा रहेको विश्वास गरिन्छ । कालिञ्चोक भगवती, काभ्रेको पलाञ्चोक भगवती र काठमाडौँको शोभा भगवती दिदीबहिनीको रूपमा मानिन्छ । कालिञ्चोक मन्दिर परिसरको कुण्डमा सधैँ पानी रहने गर्दछ । कालिञ्चोक भगवती मन्दिर तीर्थाटनका लागि मात्र होइन मनोरम दृश्यसमेत अवलोकन गर्न सकिन्छ । मन्दिर परिसरबाट गौरीशंकर हिमाल र लाङटाङ हिमशृंखलाको काखैमा उभिएको महसुस पर्यटकहरूले गर्न सक्दछन् ।
आजभोलि फुर्सदको समयमा घुमफिरका लागि धेरै मानिसहरू यात्रामा निस्कने गर्दछन् । फुर्सदको समय र रुचिअनुसार आफ्ना घुमफिरको स्थलको तय गर्दछन् । त्यसैले पर्यटकहरू घुमफिरमा जाँदा तीर्थाटन, प्राकृतिक, सांस्कृतिक ऐतिहासिक र पुरातात्विक स्थलको खोजीमा हुन्छन् । पर्यटनका लागि यस किसिमका सम्पदा पर्यटकीय क्षेत्रमा कहिल्यै पुराना हुँदैनन् । दोलखा पुग्दा आफ्नो घुमफिरको समय लम्बाउन चाहने पर्यटकहरूको लागि हाइकिङ अर्थात पैदल यात्रा पनि गर्न सकिन्छ । कतिपय पर्यटकहरू कालिञ्चोक र भीमेश्वर मन्दिर तीर्थाटनको प्याकेज नै बनाएर पुग्ने गर्दछन । हिउँदमा बेलाबेलामा पर्ने हिउँको मज्जा लिन पनि धेरै पर्यटकहरू कालिञ्चोक पुग्ने गरेका छन् । कालिञ्चोकमा एकपटक परेको हिउँ कम्तिमा एक सातासम्म रहने गर्दछ । कालिञ्चोकमा बसन्त ऋतुमा गुराँसका थरिथरिका फूलहरूले पनि पर्यटकहरूलाई लोभ्याउने गर्दछन् । कालिञ्चोकमा पर्यटकहरू बढ्न थालेपछि अर्बौं लगानीमा ७० भन्दा बढी होटल बिस्तार भएका छन् । ती होटलमा स्थानीयहरूकै लगानी छ । बिदाको दिन र चाडपर्वमा पर्यटकहरूको भिड धेरै हुन्छ । कालिञ्चोक पुग्ने पर्यटकहरूको रोजाइमा चांँरीको घिउ, छुर्पीजस्ता स्थानीय उत्पादन नै बढी रोजाइमा पर्ने हुँदा स्थानीयको व्यापार पनि त्यस्तै खालका रहेका छन् ।
कालिञ्चोक भगवती मन्दिर परिसरबाट आँखैअगाडि आउने गौरीशकर, दोर्जेलाक्पा, रोल्वालिङ, जुगल, लाङटाङलगायतका हिमशृंखला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ । कालिञ्चोकको मनोरम प्राकृतिक दृष्यका कारण पर्यटक आकर्षित हुने गरेका छन् । कालिञ्चोकमा जेठ–असार महिनामा जंगली फूल, असोज–कात्तिकमा हिमाल, पुस–माघमा हिउँ र चैत–वैशाखमा गुराँसको फूलले पर्यटकहरूलाई आकर्षण गर्दछ । हिमालै हिमालको बीच र हिउँको पहाडमा रहेकी कालिञ्चोक भगवतीको तीर्थाटनमा भने युवा पुस्ताभन्दा बढी पाको उमेरका पर्यटकहरू पुग्ने गर्दछन् । विशेषगरी कालिञ्चोक भगवतीको मन्दिरमा जनैपूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्दछ । यसैगरी बडादसैँमा देवीको दर्शन गर्न तीर्थाटनका पर्यटकहरूको भिड हुने गर्दछ । कुरीदेखि कालिञ्चोक मन्दिरसम्म केबुलकारमार्फत सजिलै पुग्न सकिने भएको हुँदा ज्येष्ठ नागरिक तथा बालबालिकालाई समेतलाई सहज भएको छ । कालिञ्चोक भगवतीको दर्शनले मनोकांक्षा पूरा हुने, परिवारमा सुख–समृद्धि हुने, शत्रु पराजित हुने र निरोगी हुने विश्वास रही आएको छ ।
कालिञ्चोक जाँदा दोलखा बजार पुगेन भने यात्रा नै अधुरो हुन्छ । दोलखा बजारमा विशेषतः नेवार जातीहरूको बसोबास रहेको छ । यो ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पौराणिक धर्म, रीतिरिवाजले सजिएको रमणीय स्थल मात्रै होइन ऐतिहासिक स्थल पनि हो । दोलखामा प्रसिद्ध भीमेश्वर मन्दिर, त्रिपुरासुन्दरी, महादेव, भगवती लगायतका मठ मन्दिरहरू रहेका छन् । बाइसे चौबिसे राज्यकालमा दोलखाबाट नेपालकै पहिलो चाँदीको सिक्का निष्काशन गरिएको थियो । दोलखा बजार प्रवेश द्वारमा राजा जयइन्द्रसिंह देवमा समर्पित ढोका निर्माण गरिएको छ । बजारमा कलात्मक आँखीझ्याल भएका घर र दरबार पनि छन् । यसबाहेक कुमारी घर, त्रिपुरासुन्दरी, तलेजु भवानी, महादेवका मन्दिर र ९ वटा चैत्यसमेत अवलोकन गर्न सकिन्छ । दोलखा बजार पुग्दा पर्यटकले यी बाहेक मठ, मन्दिर, पोखरीलगायत ११४ वटा सांस्कृतिक सम्पदा अवलोकन गर्दछन् । दोलखाको भीमेश्वर मन्दिर ऐतिहासिक मन्दिर हो । त्रिभूज आकारको अमूर्त कालो शिला मूर्तिलाई भीमेश्वर, भीमसेन र भैरवको रूपमा पुजिन्छ । भीमेश्वरलाई एक शीला ३ अवतारको रूपमा हेरिन्छ । भीमेश्वरको मूर्तिलाई महादेव पशुपतिको रूपमा मान्ने र रुद्री पूजा गर्ने गरिन्छ । अर्कोतर्फ भीमसेन र भैरवको रूपमा बलि पूजासमेत गरिन्छ । भीमेश्वरको मूर्ति कसले स्थापना गरेको हो भन्ने किटानी नभए पनि ऐतिहासिक भीमेश्वरको मन्दिर किराँतकालमा भएको अनुमान छ ।
दोलखा बजार प्रवेश गरेपछि देशमा संकट पर्दा भीमेश्वर मन्दिरमा पसिना आउने गर्छ भन्ने कुराले पर्यटकहरू भीमेश्वर मन्दिर पुग्न आतुर हुन्छन् । भय त्रास कहिल्यै नहुने र संकटको बेला सूचना दिने सहरको रूपमा दोलखा बजारलाई लिने गरिन्छ । दोलखा बजार अर्थात ऐतिहासिक अभयपुर सहरमा रहेको साक्षात भीमेश्वरलाई दोलाखाबासीले इष्ट देवताको रूपमा लिने गर्दछन् । जब–जब देशमा अनिष्ट हुन थाल्छ वा कुनै अकल्पनीय घटनाहरू घट्ने आशंका हुन्छ त्यस अवस्थामा पूर्व सूचकको रूपमा भीमेश्वर मन्दिरको शिलामा पसिना आउने गर्छ भन्ने भनाइ छ । अमूर्त कालो शिला मूर्तिबाट पसिना आउने कुराले पर्यटकहरू अचम्म मान्दछन् । बेलाबखत भीमेश्वरको मूर्तिमा आएको पसिनालाई पुजारीहरूले कपासले पुछिदिने र कपासलाई अन्य फूल–प्रसादसहित राष्ट्रपति, प्रधानसेनापति र पर्यटनमन्त्रीलाई पठाउने प्रचलन छ । राजाको शासनकालमा यस्तो प्रसाद दरबारमा पठाउँथे भने अहिले राष्ट्रपति कार्यालयमा पठाउँछन् । यो पुरानो प्रचलन हो । दोलखा भीमेश्वर एउटा सामान्य पत्थरको मूर्ति हो । पत्थर एउटा नीर्जिव वस्तु भएकाले यसमा पसिना आउनु आफैँमा एउटा वैज्ञानिक खोजको विषय बन्न सक्दछ । तर, अहिलेसम्म सरकारी वा गैरसरकारी निकायबाट समेत यसको खोज अनुसन्धान भने भएको छैन । दोलखा बजार पुगेपछि पर्यटकहरूले हरियाली पार्क, दाइँ गर्ने डाँडा पनि अवलोकन गर्ने सक्दछन् । दोलखामा रथ तान्ने जात्रा, खड्ग जात्राजस्ता ऐतिहासिक जात्राको समयमा पुग्ने पर्यटकहरूका लागि छुट्टै रमाइलो हुन्छ ।
दोलखा पुगेपछि पुग्नै पर्ने स्थान हो शैलुङ । शैलुङ दोलखाको महत्वपूर्ण प्राकृतिक पर्यटकीय सम्पदा हो । सयवटा थुम्का भएको शैलुङ धार्मिक पर्यटकहरूका लागि छुट्टै महत्व रहेको छ । सत्य युगमा शैलुङको हरेक थुम्कोमा ऋषिमुनिले तपस्या गरको विश्वास गरिन्छ । शैलुङबाट पनि थुप्रै हिमशृंखलाहरू देख्न सकिन्छ । शैलुङ पुग्न सिन्धुपाल्चोकको मूडेहँुदै खोलाखर्कसम्म गाडीमा गएर करिब २० मिनेट पैदल यात्रा गर्न पर्दछ । पुस माघमा हिमपात हुने भएकोले शैलुङमा फागुनदेखि ज्येष्ठसम्म र असोजदेखि मंसिरसम्म उपयुक्त समय मानिन्छ । शैलुङमा हरेक १२ वर्षमा गोदावरी फुल्ने मेलासमेत लाग्ने गर्दछ भने पाप गरे नगरेको थाहा पाउनका लागि धर्म ढोकासमेत रहेको छ । शैलुङडाँडा दोलखा जिल्लाको नामसँग पनि जोडिएको छ । भारतबाट आएका एक साधु गौरीशंकर हिमालको काखमा रहेको एउटा गुफाभित्र तपस्या गर्न थाले । भगवान् शिवबाट वरदान प्राप्त गरेपछि जोगी खुसी भए । जोगीले खुसीको क्षणमा एकपटक सबैतिर चक्कर लगाएर आउँछु भनी आफ्नो यात्रा सुरु गरे । तर उनी जति घुमे पनि त्यही गुफामा पुग्दथे । २ लाख पटक चक्कर मार्दा पनि अन्यत्र कहीँ पुग्न नसक्दा पहिले आफूले तपस्या गरेको गुफामा आइ बस्न थालेछन् । यसरी २ लाखपटक घुम्दा पनि त्यही स्थानमा आएकाले सो स्थानलाई दोलाख भन्दाभन्दै दोलाखको शब्द दोलखा भएको मानिन्छ ।
इतिहास अनुसार सातौँ शताब्दीमा भारतको बिहार र तिब्बतको व्यापार दोलखाको बाटो हुँदै हुने गर्दथ्यो । यो मार्ग खुलेपछि दोलखालाई वनगढको रूपमा विकसित गरियो । त्यसपछि काठमाडौँ उपत्यकाबाट ७०० नेवार परिवारलाई दोलखामा बस्ती बसाएको इतिहास छ । यसरी बस्ती विकास भएपछि वनगढबाट वार्षिक २ लाख प्राप्त हुने भएकोले यसको नाम २ लाखा रहन गयो । पछि २ लाखाबाट दोलाखा र दोलाखाबाट दोलखा नाम रहन गएको भन्ने भनाइ पनि छ । दोलखाको नामकै प्रसंगमा तिब्बती भाषामा ‘दो’ को अर्थ ढुंगा ‘ल’ को अर्थ मन्दिर र ‘खा’ को अर्थ घर हुनेहुँदा दोलखामा ढुंगाबाट बनाइएको मन्दिर र घरहरू भएकोले जिल्लाको नाम दोलखा रहन गएको भन्ने अर्को भनाइ छ ।
दोलखा जाँदा धेरै पर्यटकहरू लामाबगर पनि पुग्दछन । विशेष गरी लामाबगरमा ४५६ मेगावाटको जलविद्युत् आयोजना रहेको छ । लामाबगर चीनको तिब्बतसँग जोडिएको छ । लामाबगरमा विश्वकै प्रसिद्ध लप्ची गुम्बासमेत रहेको छ । लप्ची गुम्बामा हरेक १२ वर्षमा लाग्ने मेलामा विश्वका विभिन्न मुलुकबाट बौद्धमार्गीहरू पुग्ने गर्दछन् । लामाबगरकै गोंगरमा स्वस्थानी व्रत कथामा उल्लेख भएको महादेवले सती देवीलाई खरको भित्ता च्यातेर कैलाशको दर्शन गराएको ठाउँसमेत रहेको छ । जसलाई देउलाङ्गेश्वर महादेव भनिन्छ । देउलाङ्गेश्वर महादेवको दर्शन गर्दा रोगव्याधि नलाग्ने, बच्चा नहुनेको बच्चा हुने, चिताएको कुरा पुरा हुने विश्वास गरिन्छ । चरिकोटबाट ६८ किलोमिटरको दुरीमा रहेको लामाबगरमा बसको यात्राबाट करिब ४ घण्टामा पुग्न सकिन्छ ।
सगरमाथा प्रवेशद्वारको रूपमा पनि मानिने दोलखाको जिरी उपत्यका दोलखा जाँदा पुग्नै पर्ने अर्को रमणीयस्थल हो । स्विटजरल्यान्डको जुरीक नामले चिनिने जिरी दोलखाको दोस्रो प्रमुख बजार हो । जिरीको चिज र चिया प्रख्यात मानिन्छ । स्विस सरकारले एकीकृत विकास योजनाअन्तर्गत जिरी प्राविधिक शिक्षालय, पशु विकास फार्म, जिरी अस्पताल, चिज उद्योग आदिको विकास गरिदिएकोले पनि जिरी आर्थिक हिसाबले समेत महत्वपूर्ण रहेको छ । जिरी बजार पुग्न चरिकोटबाट ५६ किलोमिटर बस यात्रा गर्नुपर्ने हुन्छ । जिरी उपत्यका मनोरम प्राकृतिक सौन्दर्यले भरिएको छ । यो उपत्यकामा सीमान्तकृत जिरेलहरूको बसोबास रहेको छ । सगरमाथा आरोहणमा जाने पर्यटकहरू जिरी हुँदै जाने गर्दछन् । विशेष गरी विदेशी पर्यटकहरू रोल्वालिङ क्षेत्र घुम्न जिरीको सिंगटी हुँदै जाने गर्दछन् । जिरी आसपासका चेर्दुङ र हनुमन्तेबाट रोल्वालिङ क्षेत्रका हिमालहरू, दोलखा र रामेछापका अधिकांश गाउँहरू देख्न सकिन्छ । जिरी पुगेपछि प्रकृति प्रेमी पर्यटकहरूलाई चेर्दुङ डाँडा पुग्नै पर्दछ । चेर्दुङ डाँडा जिरीको उत्तरी भेगमा रहेको सुन्दर रमणीय ठाउँ हो । चेर्दुङ डाँडा जानका लागि जिरी बजारबाट ४ घण्टाको पैदल यात्रा गर्नु पर्दछ । जिरी बजारबाट उकालो चढ्दै बोत्ले, सालङदिङ, दोलाङसा, पटसे, क्याङ पोखरी हुँदै चेर्दुङ डाँडा पुग्न सकिन्छ । चेर्दुङ डाँडाबाट गौरीशंकर हिमाल, तामेडाँडा, हनुमन्ते डाँडा, सिंगटी, जिरीबजार, पिके डाँडा, शैलुङ डाँडा, सगरमाथा हिमाल, रोल्वालिङ हिमशृंखला, काठमाडौँ उपत्यका, कालिञ्चोक भगवती लगायतका ठाउँहरूलाई एकै स्थानबाट अवलोकन गर्न सकिन्छ ।
च्छोरोल्पा हिमताल दोलखाको रोलवालिङ उपत्यकामा रहेको छ । पदयात्राका लागि अति रोमाञ्चकारी स्थलको रूपमा च्छोरोल्पा हिमताल मानिन्छ । यस उपत्यकालाई साहसिक पैदल यात्राको लागि प्रख्यात मानिन्छ । च्छोरोल्पामा विदेशी पर्यटकहरू पुग्ने गर्दछन् । यो हिमताल नेपालकै ठूलो हिमताल हो । रोल्वालिङ हिमाल शृंखलामा पर्ने गौरीशंकर हिमाल महत्वपूर्ण हिमाल मानिन्छ । हिन्दू धर्मावलम्बीहरूका अराध्यादेव शिव र पार्वतीको प्रतिक मानिने गौरीशंकर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिबन्ध छ । गौरीशंकर हिमाललाई आधार मानी नेपालको प्रमाणिक समय निर्धारण गरिएको कारणले पनि यस हिमालको महत्व अझ बढेको छ ।
प्रतिक्रिया