श्रीमान् मलाई अघि लगाउनुहुन्छ

Bhawani-Shing-Ranaम बिहेपहिलादेखि नै घरबाहिरकै काम बढी गर्न रुचाउँथेँ । सामाजिक काममा संलग्न हुन पाउँदा आनन्द लाग्थ्यो । जहाँ बुहारी भएर भित्रिएँ, त्यो घर पनि मेरो रुचि र स्वभावसँग मेल खाने रहेछ । त्यसैले चुलोचौकोभन्दा बढी सामाजिक काममै बितिरहेका छन् मेरा दिनहरू ।

१८ वर्ष भयो विवाह गरेको । मेरो पेसा र व्यवसायले निजी जीवनमा कुनै समस्या सिर्जना गरेको छैन । व्यावसायिक जीवनमा जति सफल छु, पारिवारिक रूपमा पनि त्यत्ति नै छु । आममहिलालाई जस्तै मेरो परिवारले पनि मबाट विभिन्न पारिवारिक भूमिकाको आशा गर्नु स्वाभाविकै हो । तर, उनीहरूको त्यो चाहना कहिलेकाहीँ चाहेर पनि पूरा गर्न सक्दिनँ । त्यतिबेला सामान्य गुनासोबाहेक केही सुन्नुपरेको छैन । यो मानवीय स्वभावै हो, सामान्य रूपमा लिन्छु ।
व्यवसायमा व्यस्त रहँदा कहिलेकाहीँ निजी जीवन हराएजस्तो लाग्छ । आखिर म पनि यही समाजभित्रकी महिला हुँ । महिलालाई घरबाहिरको काम गर्न सोचेजति सहज पक्कै छैन । श्रीमती, बुहारी र आमाको भूमिकासाथै सामाजिक दायित्वहरूमा पनि उत्तिकै फिट हुनुपर्ने, त्यसैले कहिलेकाहीँ अपेक्षाकृत कुशलता नदेखिन सक्छ ।

तर, म व्यवसाय भन्दैमा घरलाई वास्तै नगर्ने अनि घर भन्दैमा व्यवसाय चटक्कै बिर्सने महिला हुइनँ । दुवैतिर आफ्नो उत्तिकै भूमिका रहेको बुझेकी छु ।
ठूला चाडबाडमा पूरै समय परिवारलाई दिन्छु । उनीहरूको खुसीमा आफूलाई सामेल गराउँछु । तर, आफन्तकोमा हुने बिहे–पूजाजस्ता कार्यक्रममा चाहेर पनि समय दिन सकिरहेकी हुन्नँ । खल्लो लाग्छ तर पनि मन बुझाउँछु, सामाजिक दायित्वको अगाडि निजी जीवन गौण हो भनेर । परिवारले पनि मेरो अप्ठ्यारो बुझेका छन्, त्यसैले गुनासो गर्दैनन् । त्यसैले त पेसा र पेसारत संगठनले दिएको जिम्मेवारीलाई सधैँ प्रथमिकतामा राख्न पाएकी छु ।
आफ्नो व्यवसायमा मात्र सीमित हुँदा जति सजिलो थियो, अहिले छैन । कहिले कता, कहिले कता । जिल्लाजिल्ला धाइरहनुपर्छ । आफ्नो व्यवसायमा दश प्रतिशत पनि समय दिन पाएकी छुइनँ । उद्योग वागिज्य महासंघमा आएपछि चुनौती बढेका छन्, तिनीहरूसँग जुध्न सिकिरहेकी छु । महासंघको इतिहासमा पहिलोचोटि महिलाले पाएको यति ठूलो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्ने दायित्व मेरा अघि छ । सचेत छु– कसैले महिला भएकै कारण राम्रो काम हुन सकेन भन्ने अवस्था निम्तिन दिनु हुँदैन । मेहनत पनि गरिरहेकै छु । यो इतिहास हो । चाहन्छु– मेरो कार्यकालबाट महिलाले अझ राम्ररी जिम्मेवारी निर्वाह गर्न सक्दा रहेछन् भन्ने उदाहरण प्रस्तुत हुन सकोस् । म सधैँ चुनौती सामना गर्न रुचाउने महिला हुँ ।

हाम्रो समाज अझै पनि महिला घरभित्रकै कामधन्दामा सीमित भएको हेर्न रुचाउँछ । परिवर्तनका नारा जतिसुकै चर्काए पनि रूढीवादी मान्यता पूर्ण रूपमा निमिट्यान्न भएका छैनन् । सामाजिक वा व्यावसायिक रूपमा स्थापित परिचय बनाए पनि घरभित्रका काम गर्ने जिम्मा नारीको मात्रै हो भन्ने भावनाले जरो गाडेको छ ।
कतिलाई लाग्छ– राणा परिवारकी महिला जबर्जस्ती गरेर बाहिरी जिम्मेवारीमा निस्किएकी होली । होइन, मेरो परिवारलाई यसरी बुझियो भने गलत हुनेछ । खुला र फराकिलो सोच राख्ने परिवारकी श्रीमती र बुहारी हुँ म । त्यही कारण मलाई काममा सजिलो भएको छ । सानोतिनो कुरामा खोजीनिती, शंका–उपशंका गर्ने कोही छैन । सासूआमा नै मलाई घरभित्र मात्र खुम्चिएर बस्नु हुँदैन, बाहिरका काम पनि गनुपर्छ भनेर प्रेरणा दिनुहुन्थ्यो ।
मेरो सामाजिक एवं व्यावसायिक सक्रियताप्रति गर्व गर्छ मेरो परिवार । तर, उनीहरूका लागि मैले चाहेर पनि यथेष्ट समय दिन पाएकी छुइनँ । परिवार सिनेमा हेर्न वा बजार घुम्न जाँदा म छुट्छु । खल्लो लाग्छ आफैँलाई । उनीहरूसँग रमाइलो गर्न, खुसीमा साथ दिन नपाएकोमा । उनीहरू मेरो बाध्यता र जिम्मेवारीलाई बुझ्छन् । तर, पनि उनीहरूलाई मेरो अभाव खट्किइरहन्छ, मलाई थाहा छ ।
जोकसैको पनि सफलताका पछाडि व्यक्तिगत क्षमता मात्र होइन, पारिवारिक सहयोगको पनि हात हुन्छ । मेरो सफलतामा Bhawanishing-Ranaपनि उहाँहरूको ठूलो हात छ । मेरा श्रीमान् म अझै सफल भएको र प्रगति गरेको हेर्न चाहनुहुन्छ । हौस्याउनुहुन्छ– ‘तिम्ले अझ धेरै काम गर्नुपर्छ, मैले जे सहयोग गर्नुपर्छ तयार छु ।’ पारिवारिक व्यवसायमा पनि म नै अघि बसेर काम गरेको उहाँलाई मन पर्छ । कहिले कसैले केही माग गरे ‘ऊ.. भवानीलाई भन्नु सबै कुरा’ भनेर पन्छिन खोज्नुहुन्छ ।
पेसागत जिम्मेवारीसँगै पारिवारिक रूपमा पनि मैले यथेष्ट समय दिएको उहाँ हेर्न चाहनुहन्छ । यस कुरामा सामान्य गुनासो पनि चल्छ । उहाँकै नजिक बसेर सफल बनेको हेर्न रुचाउनुहुन्छ । म पनि त्यही प्रयास गर्छु । तर, सम्भवै हुँदो रहेनछ । निजी जीवनलाई समय निकाल्न निकै गाह्रो पर्छ कहिलेकाहीँ । उहाँको त्यो गुनासोलाई पुरुषमा रहेको सामान्य मानवीय स्वभावका रूपमा हेर्छु । महिलाको घरबाहिरको भूमिका घरभित्र प्रवेश गर्नेबित्तिकै सकिन्छ । तर, पुरुषको सामाजिक भूमिका घरभित्र पनि घुमिरहेको हुन्छ, कहिल्यै सकिँदैन ।
छोराको स्कुलबाट नियमितजसो इमेल आउँछ । म आफँै हेर्छु । बोलाउँदा भ्याएसम्म स्कुल पनि पुग्छु । हत्तपत्त गुनासो खेप्नुनपरोस्, छोराहरूको मन दुख्ने अवस्था नआओस् भनेर सचेत हुन्छु । तर, पनि कहिलेकाहीँ भ्याउँदिनँ ।

बिहेको यत्तिका वर्षमा आजसम्म हामी पतिपत्नीबीच झगडा परेको छैन । कहिलेकाहीँ सामान्य ठाकठुक त चलिहाल्छ नै । एकपटक चार दिनसम्म बोलेनौँ । पछि उहाँले झर्केजस्तै गरेर ‘फिल्म हेर्न जाने हो ?’ भन्नुभयो । त्यसपछि फेरि सम्बन्ध पहिलेकै जस्तो भइहाल्यो । सद्भाव र सहकार्यसाथ निरन्तर चलिरहेछ हाम्रो दाम्पत्य–रथ । अरू महिलाका हकमा पनि आर्थिक रूपमा पावरफुल र स्ट्रङ हुने हो भने सबै कुरा ठीक हुन्छ भन्ने मलाई लाग्छ । महिलाले न घरमा हेपिनुपर्छ, न त समाजमा दबिनुपर्छ ।
परिवार मिलेर वर्षको एकपटक विदेश घुम्न जान्छौँ । देशभित्रै पनि बेलाबखत घुम्न गइन्छ । आफूले गर्ने काम र योजनाबारे श्रीमानसँग सधैँ सल्लाह गर्छु । मेरा हरेक योजनाबारे उहाँलाई जानकारी हुन्छ । विश्वास र सकारात्मक सोच भएपछि काम गर्न पनि सजिलो हुन्छ । महासंघको चुनावमा पनि धेरै समय उहाँलाई साथै राखेँ, मलाई बुझ्न उहाँलाई सजिलो होस् भनेर । कहिलेकाहीँ ढिला घर पुग्दा चिन्ता गर्नुहुन्छ । ‘समय ठीक छैन, सबै मान्छे आफूजस्ता हुँदैनन्, विचार गरेर हिँड्नुपर्छ’ भन्दै सम्झाउनुहुन्छ । उहाँको माया र सहयोगले मलाई थप हौसला दिन्छ ।
पेसागत जिम्मेवारीमा पुरुषहरूसँग बसेर छलफल गर्नुपर्छ, रातविरात हुन्छ । समयको ठेगान हुँदैन । सधैँ आफू अनुकूल सबै कुरा चल्दैनन् पनि । आजसम्म ढिला घर पुग्दा सामान्य जानकारी लिनेबाहेक अरू प्रश्न ओइरिएका छैनन् । अहिले त झनै व्यस्त छु, अधिवेशन नजिकिँदै छ । जिल्ला दौडाहामा छु । श्रीमती ठूलो मान्छे भएको हेर्न श्रीमान्ले गरेको त्याग र सहयोगलाई पूर्णता दिने कोसिस गर्दै छु ।
मेरो श्रीमान् अहिले व्यवसायी मात्र हुनुहुन्छ । उहाँले पनि सामाजिक काममा निस्कने रुचि गर्नुभयो भने म हरतरहले सहयोग गर्न तयार छु । तर, उहाँ जे गर्नु छ तिमी नै गर भनेर मैलाई अघि बढाउनुहुन्छ । त्यसका लागि हरसम्भव सहयोग पनि गर्नुहुन्छ । परिवारको साथ र सहयोगको दुरुपयोग नहोस् भनेर चनाखो हुन्छु सधैँभरि ।
महिलाले परिवारको मात्र साथ पाएर हुँदैन । सामाजिक चेतना र दृष्टिकोणलाई पनि बुझेर हिँड्नुपर्छ । समाजमा महिलालाई थुप्रै आँखाहरूले फरकफरक ढंगले नियालिरहेका हुन्छन् । त्यसैले आफू कुन ठाउँमा कोसँग कति बेला हिँड्दै छु भन्ने राम्ररी विचार गरिरहन्छु । उमेर र जिम्मेवारीका हिसाबले अझै निकै धेरै गरेर देखाउनु छ मैले ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया