बादल माथिको मानुङकोटमा सूर्योदय र कुहिरो (फोटो फिचर

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि निकै भीड लाग्न थालेको छ । जाडो मौसम लागेसँगै मानुङकोट एकाबिहानै भीड बढ्न थालेको छ । प्राकृतिक सौन्दर्य दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकले अहिले यो ठाउँ भरिभराउ देखिएको छ ।

डाँडामा पुगेपछि तलसम्म हेर्न मिल्ने भ्युटावर पनि बनिसकेको छ। मौसम खुलेसँगै उक्त ठाउँदेखि धौलागिरी, मनास्लु, लमजुङ, अन्नपूर्ण, माछापुछ्रे जस्ता थुप्रै हिमश्रृङ्खला देखिन्छ । दमौली बजार, मादी नदी, रिसिङ, साँगे खोला र दक्षिणमा सेती नदी क्षेत्र, गुणादी पनि देख्न सकिन्छ ।

पौराणिक किम्बदन्ती अनुसार महर्षि वेद व्यासकी माता माछेगन्दसँग प्रेममा थिए महर्षि परासर । उनीसँगको प्रेमलीला अरुले नदेखुन् भन्ने हेतुले महर्षि परासरले कुहिरोको उत्पति गरेको कथन छ भने मनुङकोट डाँडाबाटै कुहिरोको उत्पति भएको हो पनि भन्ने गरिन्छ ।

काठमाडौंदेखि १६० किलो मिटर र पोखरादेखि ५५ किलो मिटर दुरीमा पर्ने मानुङकोट पुग्न तनहुँ जिल्लाको सदरमुकाम दमौलीदेखि मनुाङकोट १० किलोमीटर लामो कतै पिच कतै कच्ची बाटो छिचोल्नु पर्छ । गन्तव्यसम्म स्कुटर, बाइक, गाडीमा सजिलै पुग्न सकिन्छ ।

पैदल यात्री ले भने दमौलीदेखि करिव १ घण्टा हिँड्नु पर्छ । विशेष गरेर शुक्रबार र शनिबार बढी भीड हुने मानुङकोटमा शनिबार मात्र ५ हजारभन्दा बढी पर्यटक पुग्ने गरेको होटेल सञ्चालकहरु बताउँछन् ।

खानेपानीको अभावमा विसं २०५२ साल तिर स्थानीयवासीले त्यस ठाउँ, गाउँ छाडेका थिए । अहिले पनि खानेपानीको भने दुःख नै । बजारको प्रशोधित जार र ट्यांकरको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।

मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । अहिले त्यहाँ बस्न र खानको लागि प्रसस्त होटेल खाजा घरसमेत खुलीसकेका छन् ।– तस्विरहरु नेपाल फोटो लाईब्रेरी

प्रतिक्रिया