काठमाडौं । मलेसियामा जारी एसिसी यु–१९ महिला एसिया कप क्रिकेटअन्तर्गत वर्षा रोकिएपछि खेल सुरु भएको छ । वर्षाका कारण ढिलो गरी सुरु भएको ‘सुपर–४’ मा आज ११ ओभरको खेल हुने भएको छ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा बंगलादेशले टस जितेर बलिङ गरेको छ । नेपालले टस हारेर पहिला ब्याटिङ गर्र्दै छ । नेपाली समय अनुसार बिहान ११ः१५ मा हुनु पर्ने टस वर्षाका कारण हुन सकेको थिएन । झण्डै २ घण्टापछि सुरु भएको खेलप्रति इनिङ ११ ओभरको हुनेछ ।
खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुँदैछ । यसअघि सुपर–४ को पहिलो खेल बिहीबार वर्षाका कारणले रद्द भएपछि नेपाल र श्रीलंकाले समान एक–एक अंक बाँडेका थिए । आजको खेल नेपालको लागि महत्वपूर्ण छ ।
आजको खेलमा नेपालले बंगलादेशलाई पराजित गरेमा फाइनलको यात्रा तय गर्नेछ । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक एक अंक बाँडेका थिए । तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो ।
गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित छ टोली सम्मिलित छन् । यसमा समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन् । पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिसकेका छन् । फाइनल खेल आगामी आइतबार हुनेछ ।
प्रतिक्रिया