भारतीय विदेश सचिवको बंगलादेश भ्रमणले दिएको सन्देश

बंगलादेशमा विगत केही महिनादेखि जारी राजनीतिक अस्थिरताको प्रभाव त्यहाँका अल्पसंख्यक हिन्दूमाथि बढी परेको छ । जमाते इस्लामीजस्ता कट्टर धार्मिक संगठनको घृणास्पद एवं नकारात्मक र हिंस्रक क्रियाकलापका कारण त्यहाँका अल्पसंख्यक हिन्दू, सिख र इसाइहरूले जनधनको ठूलो क्षति भोग्नु परिरहेको छ । इस्लामिक कट्टरपन्थीहरूले खासगरिकन हिन्दूहरूलाई आफ्नो प्रमुख निशाना बनाएका छन् ।

श्रीमन नारायण

गत साता दक्षिणी छिमेकी भारतका विदेश सचिव विक्रम मिस्री बंगलादेशको भ्रमणमा गएका थिए । छिमेकी बंगलादेशसँगको द्विपक्षीय सम्बन्धलाई सामान्य बनाउनु भ्रमणको उद्देश्य थियो । सम्बन्धलाई पहिलेको जस्तै प्रगाढ बनाउने उद्देश्य थियो । भारत र बंगलादेशबीचको दुई पक्षीय सम्बन्ध सुरुदेखि नै बलियो रही आएको छ । तर समय–समयमा बंगलादेशमा हुने गरेको राजनीतिक उथलपुथल र अस्थिरताका कारण वर्तमान अवस्थामा दुई देशको सम्बन्धमा केही कटूता पनि थपिएको छ ।

हत्या, अपहरण, र उत्पीडनका घटनाले बंगलादेशका हिन्दूहरू आफूलाई असुरक्षित ठानिरहेका छन् । भारतका विदेश सचिवको यो भ्रमण, बंगलादेशकी जननिर्वाचित प्रधानमन्त्री शेख हसिना सत्ताबाट हटेको २ महिनापछि भएको छ । उनको भ्रमण पश्चात् अब बंगलादेशका हिन्दूहरू पनि आफूलाई सुरक्षित ठान्नेछन् । किनकी भारतमा हिन्दूवादी पार्टी बिजेपीको शासन सत्ता छ । विश्वका जुनसुकै देशमा रहेका हिन्दूहरूको संरक्षण गर्ने बिजेपीको घोषित नीति नै हो । गत अगस्टमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदको निष्काशनपश्चात् भारतको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण थियो । साझा चिन्ताहरूलाई सम्बोधन गर्ने र परस्पर संवादलाई बढावा दिने उद्देश्यले यो भ्रमण भएको मानिन्छ ।

शेख हसिना सरकारलाई लोकतान्त्रिक पृष्ठभूमि भएको सरकार मानिन्थ्यो । उनका बुबा शेख मुजि बुर रहमानले पाकिस्तानबाट बंगलादेशको गठन गरेका थिए । उनलाई बंगलादेशको राष्ट्रनिर्माता पनि मानिन्छ । तर पाकिस्तानको राजनीतिजस्तै बंगलादेशमा पनि धार्मिक कट्टरपन्थीहरूको शासन सत्तामा रहँदै आएको छ । साथै त्यहाँको राजनीतिमा सेनाको भूमिका पनि रहि आएको छ । पाकिस्तान होस् अथवा बंगलादेश देशको सैन्य प्रतिष्ठानसित सुमधुर सम्बन्ध नराख्ने शासक त्यहाँको शासन सत्तामा टिक्न सक्दैन ।

बंगलादेशको अन्तरिम सरकारका प्रमुख प्रो. मोहम्मद युनुस एक विद्वान् तथा अर्थशास्त्री हुन् । उनले अर्थशास्त्रमै विश्वप्रसिद्ध नोबेल पुरस्कार पनि प्राप्त गरेका छन् । तर राजनीतिको बाटो त्यति सहज र सरल हुँदैन । उनको शासनमा इस्लामिक कट्टरपन्थी समूहको प्रभाव र वर्चस्व बढेको छ । अल्पसंख्यक हिन्दूमाथिको आक्रमणलाई रोक्न सकिएको छैन । हिन्दू मन्दिर र हिन्दू साँस्कृतिक स्थलहरूमा तोडफोडका घटना भएका छन् । त्यहाँका प्रमुख हिन्दू साधु चिन्मय कृष्णदासलाई देशद्रोहको आरोपमा पक्राउ पनि गरिएको छ । साधुको गिरफ्तारीको विरोधमा चौतर्फी प्रतिरोध छ । पाकिस्तानबाट अलग भएर बंगलादेशको जन्महुँदा यही इस्कन मन्दिरले महिनौँसम्म लाखौँ मुसलमानलाई खाना ख्वाएर पालेको थियो ।

बंगलादेशमा विगत केही महिनादेखि जारी राजनीतिक अस्थिरताको प्रभाव त्यहाँका अल्पसंख्यक हिन्दूमाथि बढी परेको छ । जमाते इस्लामीजस्ता कट्टर धार्मिक संगठनको घृणास्पद एवं नकारात्मक र हिंस्रक क्रियाकलापका कारण त्यहाँका अल्पसंख्यक हिन्दू, सिख र इसाइहरूले जनधनको ठूलो क्षति भोग्नु परिरहेको छ । इस्लामिक कट्टरपन्थीहरूले खासगरिकन हिन्दूहरूलाई आफ्नो प्रमुख निशाना बनाएका छन् । युक्रेनमाथि रुसी आक्रमण र प्यालेस्टाइनमाथि इजरालयको आक्रमणको घोर निन्दा गर्दै सैकडौँ नेपाली बुद्धिजीवी, मानव अधिकारवादी, सञ्चारकर्मी र राजनीतिकर्मीहरू सडकमा आए, तर बंगलादेशको सवालमा नेपालका मानव अधिकारवादी, सञ्चारकर्मी र राजनीतिकर्मीले केही पनि बोलेनन् ।

सनातन धर्म संस्कृतिको पृष्ठभूमि रहेको तथा यसको विरासत बोक्दै आएको नाताले नभए पनि मानवीयताको आधारमा हाम्रो सरकारले बंगलादेश सरकारसित घटनाको सत्य तथ्य अवस्थाबारे सोधपुछ गर्नुपर्ने हो । हाम्रो देशका बुद्धिजीवीहरू, राजनीतिकर्मी र विश्लेषकहरू पुरै विश्वको चिन्ता गर्छन् तर आफ्नो घरभित्रको चिन्ता गर्र्दैनन् । दक्षिण एसियामा के भइरहेको छ, यसबारे चिन्ता गर्दैनन् ।

हामी सनातनी हौँ, तर यति मात्रै भनेर कर्तव्यको इतिश्री हुँदैन । जब इसाइ धर्ममाथि संकटको कुरा आउँछ, विश्वभरिका इसाइहरू एकजुट हुन्छन्, जब विश्वका कुनै पनि कुनामा मुसलमानहरूमाथि अप्रिय घटना भएको विषय चर्चामा आउँछ, पुरै विश्वका मुसलमानहरू एकजुट हुन्छन्, तर जब हिन्दू धर्म संस्कृतिमाथि प्रहार भइरहेको अवस्था आउँछ हामी ध्यान दिइरहेका हुँदैनौँ । बंगलादेश एउटा स्वतन्त्र एवं सार्वभौम देश हो, हाम्रो मित्र राष्ट्र पनि हो, नेपाल र बंगलादेशबीच सुमधुर सम्बन्ध पनि छ तर यदि बंगलादेशमा हिन्दूमाथि उत्पीडन र आतंकको अवस्था उत्पन्न हुन्छ भने हामीले हाम्रो चिन्ता उपयुक्त च्यानलमार्फत् व्यक्त गर्नुपर्छ ।

प्रमुख हिन्दू साधु चिन्मय कृष्णदासको गिरफ्तारीको विरोध भारत र नेपाललगायत विश्वभरि नै भएको छ । यस घटनाले पुरै विश्व समुदायलाई चिन्तित बनाउने काम ग¥यो । नेपालका विभिन्न भागमा पनि इस्कन समर्थकहरूले विरोध प्रदर्शन गरे । इस्कनका समर्थकहरू शान्तिपूर्ण तरिकाले, विनम्रता, सहजता र सरलताका साथ धार्मिक कार्य गरिरहेका हुन्छन् । जसमा परोपकार सर्वोपरी हुने गर्दछ । इस्कनका शाखाहरू विश्वभरि नै फैलिएका छन् । तर आजसम्म १ जना श्रीकृष्णभक्तमाथि कुनै पनि किसिमको आरोप लागेको छैन । बंगलादेश सरकारका सल्लाहकारहरू मध्ये कतिपय यस्ता अनुहारहरू पनि छन् जो कट्टर धार्मिक मानसिकताले ग्रसित छन् । स्वामी चिन्मय कृष्णदासको गिरफ्तारीको विरोध भारत सरकारले गरेको छ र चाँडै रिहाइको माग पनि गरेको छ । भारतका विदेश सचिवले पनि आफ्नो बंगलादेश भ्रमणमा यस विषयलाई उठाएको हुनुपर्छ । भारतका विदेश सचिवले शान्तिपूर्ण, प्रगतिशील, लोकतान्त्रिक एवं समाजसेवी बंगलादेशप्रति आफ्नो समर्थन पनि जनाएका छन् ।

बंगलादेशले आफ्नो देशमा बसोबास गरिरहेका अल्पसंख्यक हिन्दूमाथि भएको हिंसा र उत्पीडनको घटनालाई स्वीकार पनि गरेको छ । गत अगस्टदेखि अक्टोबरसम्म अल्पसंख्यकमाथि भएका विभिन्न घटनामध्ये अधिकांश हिन्दूमाथि भएका थिए । बंगलादेशले स्वीकार पनि गरेको छ कि यससँग सम्बन्धित ८८ वटा घटना भएका छन् । जसमध्ये ७७ जना उपद्रवीलाई पक्राउ पनि गरिएको छ । यद्यपि बंगलादेशका अधिकारीहरू भने यस हिंसालाई व्यक्तिगत विवाद तथा राजनीतिक संलग्नाको कारण बताएका छन् । धार्मिक उत्पात भएका कारण हिंसात्मक घटना भएको मान्न तैयार छैनन् । जबकि यथार्थमा भएको त धार्मिक उत्पात नै हो ।

बंगलादेश पनि अब भारतसित सिमाना व्यवस्थापन, व्यापार, सम्पर्क, जल र ऊर्जाको क्षेत्रमा सहयोग लिन चाहन्छ । बंगलादेश सरकारका कार्यवाहक प्रमुख मोहम्मद युनुसले विश्वास पनि व्यक्त गरेका छन् कि भारतसितको दुई पक्षीय सम्बन्ध चाँडै नै सामान्य अवस्थामा फर्कनेछ । साथै यी दुई देशबीचको सम्बन्ध निकै घनिष्ठ रहेको विश्वास पनि व्यक्त गरेका छन् । बंगलादेशको आवामी लिगको पार्टीको सरकारसित भारतको राम्रो सम्बन्ध रहिआएको छ किनभने यो पार्टी लोकतन्त्रवादी तथा उदार हो, धार्मिक कट्टरतामाथि विश्वास गर्दैन । अमेरिकाले पनि बंगलादेश सरकारलाई धार्मिक अल्पसंख्यकमाथि भइरहेको उत्पीडन अन्त्य गर्न भनेको छ । अमेरिका पनि स्थिर र शान्ति दक्षिण एसियाको पक्षमा रहेको छ ।

प्रतिक्रिया