जग्गासँगै महिलामा पनि बाँझोपनको समस्या !

ग्लोबल वार्मिङ र फोहोरका कारण संकटमा सगरमाथा

सोलुखुम्बू । सोलुखुम्बूको खुम्बू पासाङल्हामु गाउँपालिका–४ सोमारेकी ३४ वर्षीया शेर्पा थरकी एक महिलाको अनुभवले सगरमाथा क्षेत्रका महिलाहरूमा जलवायु परिवर्तनको असर देखिन थालेको छ । उनकोे महिनावारी अनियमित भएपछि काठमाडौँ पुगेर उपचार गराइन् । स्वास्थ्य सामान्य भएपछि फर्किएकी उनलाई गाउँ फर्किएसँगै रोग पनि फर्कियो ।

‘यहाँको हावापानीले नै यस्तो भएको हो कि भन्ने लागेको छ,’ उनले भनिन् । प्रजननमै समस्या आएपछि केही समय गाउँ छोडेर काठमाडौँमै बस्न थालेकी छिन् उनी । उनीमात्र होइन, उच्च हिमाली भेगमा बसोबास गर्ने आममहिलामा महिनावारी अनियमित हुने र बाँझोपनको समस्या सामान्य जस्तै हुँदै गएको छ ।

खुम्बू क्षेत्रका स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाका अनुसार धेरैजसो महिला स्वास्थ्य संस्था पुग्दा प्रजननसम्बन्धी समस्या लिएर आउने गरेका छन् । कतिपय महिला आफ्नो समस्या चुपचाप सहेर बस्छन् भने केही मात्र जाँच गराउन आइपुग्छन् । महिनावारीको अवधि लम्बिने, असामान्य रगतस्राव हुने र गर्भधारणमा समस्या उत्पन्न हुने घटना बढिरहेको शेर्पाले बताइन् ।

‘पहिले मेरो महिनावारी नियमित थियो । तर, अहिले अनियमित भइसकेको छ । यो समस्या जलवायु परिवर्तनकै कारण भएको जस्तो लाग्छ,’ सगरमाथा क्षेत्रकै अर्की शेर्पा थरकै महिलाले परिचय नखुलाउने सर्तमा भनिन्, ‘विगतमा यस्तो हुँदैनथ्यो । तर, पछिल्लो १५ वर्षमा यहाँको परिवर्तनले हामी महिलालाई धेरै असर गरेको छ । मेरो मात्रै होइन, मेरा धेरै साथीहरूको पनि प्रजननमा समस्या भइरहेको बताएका छन् ।’ उनीहरू सबैको महिनावारी समयमा नहुने, रगत धेरै बग्ने, गर्भपतन हुने जस्ता समस्या देखिएको र ती समस्या सामान्य जस्तै भइसकेको उनी बताउँछिन् । पुरुषहरूलाई खासै असर नगरे पनि महिलाहरूलाई यसको असर बढी देखिएको छ । हिमाली क्षेत्रमा बेमौसमी हिमपात र अस्वाभाविक तापक्रम वृद्धिले प्रजनन स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको छ ।

महिलाहरूले समयमै चिकित्सकीय परामर्श नपाउँदा समस्या गम्भीर हुने गरेको छ । लबुचेका संगम राई भन्छन्, ‘पछिल्लो केही वर्षयता चैत–वैशाखमा धेरै हिमपात हुने क्रम बढिरहेको छ । यो हिमपात पुस–माघमा हुनुपर्ने हो । अब समय त धेरै फेरियो ।’ हिमालमा यस्ता परिवर्तनका असरहरू देखिने क्रम बढ्दो छ । जलवायु परिवर्तनले सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा अनपेक्षित चुनौती थपेको छ । सगरमाथा क्षेत्रको खुम्बू हिमनदी छोटिँदै गएको र आधार शिविर क्रमशः गहिरिँदै गएको स्थानीय व्यवसायीहरूले बताएका छन् ।

आरोहीहरूद्वारा छाडिएका सामग्री र फोहोरका कारण तापक्रममा थप असर परिरहेको छ । पर्यटन व्यवसायी सांगे शेर्पा भन्छन्, ‘आधार शिविर वर्षैपिच्छे खाल्डोमा परिणत हुँदै छ । यो राम्रो संकेत होइन ।’ यसले स्थानीय पर्यावरण मात्र नभई महिलाहरूको जीवनशैली र स्वास्थ्यमा समेत असर पु¥याएको अभियान्ता प्रजिता कार्कीले बताइन् । ‘महिलाहरू घरदेखि बाहिरसमेत बढी केन्द्रित हुने भएकाले चुलोमा देखिएको असरदेखि हिमालको फेदमा देखिएको असरको सिकार बढी मात्रामा महिलाहरू भइरहेका छन् । यसलाई रोक्न र समाधान गर्न सबै एक हुनुको विकल्प छैन,’ कार्कीले भनिन् ।

प्रजनन् स्वास्थ्यमा जलवायु परिवर्तनको प्रभाव

महिनावारी अनियमितताले महिलाहरूको जीवनमा ल्याउने दीर्घकालीन असरलाई नजरअन्दाज गर्न नसकिने खुम्बू क्षेत्रका स्वास्थ्यकर्मीहरूको भनाइ छ । गर्भाधानमा समस्या, बच्चा जन्माउने क्षमतामा गिरावट र मानसिक स्वास्थ्यमा प्रभाव जस्ता समस्या जलवायु परिवर्तनसँग सम्बन्धित हुने संकेत देखिएको छ । स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाका अनुसार जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगमा जलवायु परिवर्तनले महिलाहरूको हर्मोन सन्तुलनमा असर गरिरहेको हुन सक्छ । यो समस्या समाधान गर्न विशेष स्वास्थ्य योजना र परामर्श सेवाको आवश्यकता छ ।

जलवायु परिवर्तनका कारण हर्मोन असन्तुलन र त्यसको शारीरिक तथा मानसिक प्रभावले महिलाहरूको प्रजननमा असर गरेको हुन सक्ने नेपाल चिकित्सक संघका महासचिव सञ्जीव तिवारीको तर्क छ । ‘यहाँका महिलाहरूमा जलवायु परिवर्तनको असर भएको महसुस भयो । तर, यो गहिरो खोज र अध्ययनको विषय हुन सक्छ । यो सामान्य विषय भने होइन । यसलाई सामान्य सम्झिँदै जाने हो भने भोलिका दिनमा यहाँका महिलाहरूमा ठुलो प्रजनन समस्या नदेखिएला भन्न सकिन्न,’ उनले भने ।

खेती र उत्पादनमा गिरावट

खुम्बू क्षेत्रका खेतीयोग्य बालीमा समेत गिरावट आएको छ । खुम्जुङकी पासाङ ल्हामु शेर्पाका अनुसार गहुँ, जौ र फापरजस्ता बाली अब उब्जाउन कठिन भएको छ । ‘पहिले कति धेरै उवा र फापर हुन्थ्यो । अहिले बाली लगाउने बारी पनि बाँझो छाडिएको छ,’ उनले भनिन् । कृषि उत्पादन घट्नुले महिलाहरूको पोषण र स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको छ । खुम्जुङ क्षेत्रमा फल्ने हिमाली खेतीहरू अहिले उत्पादन हुनै छोडेको स्थानीय बताउँछन् । यसले गर्दा बालबालिकादेखि महिलाहरूको पोषणमा असर पर्न सक्ने सम्भावना बढेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । खेती नै हुन छाडेपछि विगतमा उवा, फापर, जौ जस्ता बालीहरू उब्जाउ हुने जग्गा बाँझो पाखोमा परिणत भएको स्थानीय फुरी शेर्पाले बताइन् ।

खस्किँदै हिमनदी, कालापत्थर बन्दै हिमाल

सगरमाथा क्षेत्रका हिमनदीहरू छोटिँदै र पातलिँदै गइरहेका छन् । आरोहीहरूका लागि आधार शिविरका रूपमा परिचित क्षेत्रहरू अहिले पहिरोको जोखिममा परेका छन् । १५ वर्षदेखि सगरमाथा क्षेत्रमा पर्यटन व्यवसाय गर्दै आएका कर्मा शेर्पा भन्छन्, ‘पहिला आधार शिविरका हिमनदी चहकिला र सफा देखिन्थे । तर, अहिले त आधार शिविर नै खाल्डो जस्तो देखिन्छ । हिउँ कम हुँदै गएर कालापत्थर देखिन थालेको छ ।’ पछिल्लो एक दशकमा हिमनदीहरूको पग्लिने दर तीव्र भएको छ । स्थानीय जानकार पासाङ शेर्पाका अनुसार यस क्षेत्रको तापक्रम वृद्धि र विगतमा आरोहीहरूद्वारा छाडिएका फोहोरले ग्लेसियरको संरचनामा प्रत्यक्ष असर पारेको छ ।

सगरमाथा क्षेत्र जलवायु परिवर्तनको सबैभन्दा प्रत्यक्ष असर भोग्ने हिमाली क्षेत्रहरूमध्ये एक हो । बेमौसमी हिमपात अनियमित वर्षा र अस्वाभाविक तापक्रमले यहाँको हावापानीलाई परिवर्तन गरिरहेको छ । ‘पहिले पुस–माघमा हिउँ पथ्र्यो, अहिले चैत–वैशाखमा हिउँ पर्न थालेको छ । यसले पर्यावरणीय सन्तुलन खलबलिएको छ,’ गोरक्सेपका व्यवसायी हिरा कुलुङले भने । यस्तो परिवर्तनले हिमालको फेददेखि शिखरसम्मको जैविक र भौतिक संरचना जोखिममा परेको उनकोे भनाइ छ ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले हालै अजरबैजानमा आयोजित कोप सम्मेलनअघि सार्वजनिक गरेको प्रतिवेदनले हिमाली क्षेत्रको हिमगलनमा तीव्रता आएको देखाएको छ । सगरमाथा आरोहीहरूले आधार शिविरमा छाडेका फोहोरले पनि यहाँको तापक्रममा असर पु¥याएको छ । प्लास्टिक, खाद्यान्नका प्याकेट र अन्य गैरजैविक फोहोरले हिमनदीहरूमा सूर्यको प्रकाशको प्रभाव बढाएको जानकारहरूको तर्क छ ।

पर्यटन व्यवसायी पासाङ शेर्पाका अनुसार आरोहीहरू यहाँ आफ्नो सामग्री छाडेर फर्किन्छन् । सधैँ चाँदीझैँ टलक्क टल्किने हिमालहरू काला पहाडमा परिणत हुँदै छन्, जसका कारण पनि जलवायु परिवर्तनको चपेटामा सगरमाथा क्षेत्र परेको पुष्टि हुने नाम्चेका लामाकाजी शेर्पाले बताए । उनले भने, ‘सगरमाथा नै अब कालो पहाड जस्तो देखिन थालेको छ, नाम्चेबाट देखिने हिमालहरू हेर्दा विरक्त लाग्ने भइरहेको छ । यी सबै समस्या जलवायु परिवर्तनको असरले नै देखिइरहेको आभास हुन्छ ।’

जलवायु परिवर्तनको कारण र समाधान

जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका महिलाहरूको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने सम्भावना देखिएको छ । वातावरणविद् डा. राजन थापाका अनुसार शक्ति राष्ट्रहरूले चलाएका उद्योगहरू र विश्वव्यापी तापक्रम वृद्धिले नेपालको हिमाली क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्दै गएको छ । युनेस्कोको प्रतिवेदनअनुसार तापक्रमको वृद्धिले विश्व सम्पदा सूचीका प्राकृतिक सम्पदामा गम्भीर जोखिम थपिएको छ । यदि तापक्रम वृद्धिको नयाँ गति रोकिएन भने २ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना छ, जसले सगरमाथा क्षेत्रका हिमालहरू संरक्षणमा ठुलै मूल्य चुकाउनुपर्ने थापाको भनाइ छ ।

सामूहिक कदमको आवश्यकता

सगरमाथा क्षेत्रको पर्यावरणीय र सामाजिक समस्या समाधानका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सामूहिक प्रयास गर्न आवश्यक छ । जलवायु परिवर्तनको प्रभावलाई न्यून गर्न शक्ति राष्ट्रहरूले आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ । ‘यदि विश्वव्यापी तापक्रम वृद्धिमा रोक लागेन भने सगरमाथाका हिमनदीहरू केही दशकमै समाप्त हुनेछन्,’ डा. थापाले चेतावनी दिए । जलवायु परिवर्तनले महिलाहरूको स्वास्थ्य र जनजीवनमा परेको असरले यो क्षेत्रका चुनौतीहरूको व्यापक अध्ययन र समाधानको खाँचो देखाएको छ । हिमाली क्षेत्रका महिलाहरूको स्वास्थ्य सुरक्षाका लागि थप अनुसन्धान, स्वास्थ्य सेवा विस्तार र जलवायु परिवर्तन न्यूनीकरणमा ठोस कदम चाल्नु अपरिहार्य छ ।

प्रतिक्रिया