संसारको खेलकुद इतिहासमा धेरै नाम छन्, जो अत्यन्त गरिबी र समस्याका बीचबाट आफूलाई स्थापित गर्न सफल भए । यसरी आफूलाई स्थापित गर्ने खेलाडीको सूचीमा संसारका विभिन्न देशका खेलाडी छन् ।
कुनै समय कठोर गरिबीमा रहेको इथोयोपिया पछिल्लो दशकमा ग्रामीण अर्थतन्त्रलाई मूल आधार बनाएपछि मात्र केही उक्सिएको थियो । त्यही गरिबीमा रहेका धेरै व्यक्तिले आफूलाई संसारका महान् खेलाडीका रूपमा स्थापित गरे । इथोयोपियाका लामो दुरीका धावक हर्सल गेब्रेसाइलीले त तहल्का नै मच्चाए ।
संसारमा एकदम कमजोर देशका धेरै खेलाडीले आफूलाई स्थापित गरेका छन् । यसरी स्थापित हुने खेलाडीमा केन्यालगायत भूमध्य रेखासेरोफेरोमा रहेका अफ्रिकी देशका धेरै छन् । यसको मतलब यो होइन कि, संसारका गरिब देशका खेलाडीले मात्र समस्या भोगेका छन् । संसारका नाम चलेका र धनी देशका धेरै स्टार खेलाडीको पनि सफलताको पछाडि उस्तै संघर्षका कथा जोडिएका छन् ।
गृहयुद्धकै बीचबाट जोकोभिकको सफलता यात्रा
संघर्ष र गरिबीका बीच स्थापित भएका धेरै खेलाडीमा सर्बियाका नोभाक जोकोभिक पनि हुन् । जोकोभिक सन् १९९० मा सर्बियामा हुर्किरहँदा त्यहाँ गृहयुद्ध भइरहेको थियो । त्यही समयमा जोकोभिक भने मैदानमा गइरहेका थिए । सबैभन्दा आश्चर्य त त्यस समयको युगोस्लाभिया अहिले टुक्रा–टुक्रा भएको छ । परन्तु जोकोभिकलाई त्यो राजनीतिक विषयको कुनै मतलब छैन । संसारमा सबैभन्दा सफल टेनिस खेलाडी जोकोभिकलाई नै अहिले आदर्श मान्नेको कमी छैन ।
टोलीका अन्तिम खेलाडी सिलाची
यसै वर्ष इटालीले सन् १९९० को विश्वकप फुटबलका नायक साल्भाडोर सिलाचीलाई गुमाएको छ । तिनै सिलाचीको खेल जीवन नै संघर्षबाट सुरु भएको थियो । सन् १९९० मा उनी जुन विश्वकपमा छाएर स्टार भएका थिए, त्यस समयमा मैदानमा ओर्लिन पाउने अपेक्षा पनि कमैको थियो । ९ जुन, १९९० को साँझ विश्वकप खेलिरहेको उपाधि दाबेदार घरेलु टोली इटालीले कमजोर मानिएको अस्ट्रियालाई नै जित्न धौधौ परेको थियो । त्यो समयमा प्रशिक्षक अजेग्लो भिन्सिनीले अन्तिम खेलाडीका रूपमा राखेका साल्भाडोर ‘टोटो’ सिलाचीलाई मैदानमा प्रवेश गराए । खेलको ७६औँ मिनेटमा मैदानमा प्रवेश गरेका सिलाचीले नै ७९औँ मिनेटमा जियानलुइका भियालीको दायाँ विङबाट आएको क्रसमा हेड गर्दै इटालीका लागि विजयी गोल गरेका थिए ।
उनले यसरी खुसी मनाए कि टोलीका अन्य खेलाडीले सम्हालेर मैदानमा नल्याएसम्म उनी खुसीले पागल नै थिए । त्यो नै विश्व फुटबलमा नपत्याउँदो रूपले एउटा स्टारको उदय गराउने क्षण थियो । त्यसको २ साताअघि मात्र युभेन्ट्ससँगको २ लेगको खेलमा सफलता दिलाएर युभेन्ट्सलाई इइएफए कपको उपाधि दिलाएका २५ वर्षीय सिलाची अन्त्यमा टोलीमा परेका थिए । उनले विश्वकप हेरेर मात्र फर्किने अनुमान धेरैको थियो । तर, अहिले पनि इटाली विश्वकपको एउटा पर्यायका रूपमा सिलाचीलाई लिने गरिन्छ ।
पार्लेमाकोमा जन्मिएर गरिबीमा बिताएका तथा कठोर संघर्ष गर्दै सफलताको यात्रा तय गरेका सिलाचीको ५९ वर्षको उमेरमा कोलोन क्यान्सरका कारण मृत्यु भएको हो । विश्व फुटबलमा संघर्ष र थकान हुनुहुँदैन, सफलता जुनसुकै समयमा पनि आउन सक्छ भन्ने कुराको उदाहरण नै सन् १९९० को विश्वकपमा सिलाचीको उदय हो ।
सिमोन वाइल्सको संघर्ष र सफलता
अमेरिकी जिम्न्यास्टिक स्टार सिमोन वाइल्सको संघर्षको कथा पनि कम्ती छैन । ओहियोकी सिमोनले सानै उमेरमा जिम्न्यास्टिकमा प्रतिस्पर्धा गर्न सुरु गरेकी थिइन् । सन् २०१३ को बेल्जियममा भएको विश्व जिम्न्यास्टिक च्याम्पियनसिपबाट वाइल्स स्टारका रूपमा उदाएकी हुन् । सो च्याम्पियनसिपमा १६ वर्षीया वाइल्सले २ स्वर्ण पदक जितेकी थिइन् । सन् २०१४ को विश्व च्याम्पियनसिपमा ४ स्वर्ण जितेकी उनले सन् २०१५ को विश्व च्याम्पियनपछि पनि सोही सफलता पाएकी थिइन् ।
यसै कारण पनि सन् २०१६ को रियो ओलम्पिकमा उनी नै स्टार हुने अपेक्षा पहिलेदेखि नै थियो । उनले टिम, अलराउन्ड, भल्ट र फ्लोरमा स्वर्ण पदक जितिन् । सोही ओलम्पिकमा उनले ब्यालेन्स बिममा कास्य पदक जितिन् । पेरिस ओलम्पिकमा ३ स्वर्ण र १ रजत पदक जितेपछि उनको कुल ओलम्पिक पदक संख्या ११ पुगेको थियो । यस पटकको पेरिस ओलम्पिकमा बाइल्सले टिम, अलराउन्ड र भोल्टमा स्वर्ण पदक जितेकी हुन् । फ्लोरमा भने उनी रजत पदकमा सीमित भइन् । उनले सहभागिता जनाएको अर्को स्पर्धा बिममा भने चिप्लिएपछि पदकविहीन भएकी थिइन् ।
यसबीचमा सन् २०२१ मा टोकियोमा भएको ओलम्पिक भने उनका लागि दुःखद् रह्यो । टिम स्पर्धाको बीचमा उनले मानसिक स्वास्थ्यमा समस्या भएको जनाउँदै खेल त्यागेकी थिइन् । यसपछि जिम्न्यास्टिक स्पर्धाको एक मात्र इभेन्ट ब्यालेन्स बिममा सहभागिता जनाउँदै कास्य पदक जितेकी थिइन् ।
विश्व च्याम्पियनसिपको हकमा भने उनको सनसनी सन् २०१३ देखि २०२३ सम्म लगातार रह्यो । सन् २०१७ मा बाइल्सले आफ्नै अटो बायोग्राफी लेख्न समय खर्चिइन् । सन् २०१८ मा कतारमा भएको विश्व च्याम्पियनसिप पनि उनका लागि अझ आश्चर्यको विषय बन्यो । विश्व च्याम्पियनसिपमा क्वालिफिकेसन राउन्ड चलिरहेका बेला बाइल्सलाई किड्नीमा भएको पत्थरीका कारण पेट दुख्न थाल्यो ।
आफैँ अस्पताल गएर परीक्षण गराएकी उनी अस्पतालबाट आएर प्रतियोगितामा सहभागी भइन् । टिम, अलराउन्ड, भोल्टमा स्वर्ण पदकसँगै दोहा विश्व च्याम्पियनसिप २०१८ को अन्त्य गरेकी थिइन् ।
सन् २०१९ को विश्व च्याम्पियनसिपमा फेरि ५ स्वर्ण जितेकी उनले सन् २०२३ को विश्व च्याम्पियनसिपमा पनि ४ स्वर्ण जितेकी थिइन् । यो उमेरमा पनि सफलताको पछि भने उनको संघर्षपूर्ण यात्रा नै हो ।
अमेरिकी खेलकुदमा अहिले पनि सर्वकालीन महान् महिला खेलाडीको बहस धेरै लामो हुन सक्छ । यो सूचीमा धेरै जनाले टेनिस स्टार सेरेना विलियम्सको नाम लिने गर्छन् । धाविका एलिसन फेलिक्स, सिड्नी म्याग्लाउलेन र फ्लारेन्थ ग्रिफ्थ जोयनरले कायम गरेको सफलता छँदै छ । तथापि यी धेरै नाममा वाइल्सको नाम भने छुट्नेछैन । बाल्यकालमा पारिवारिक तनाव, खेल जीवनको चिकित्सकबाटै खराब व्यवहार, जीवनको अधिक समय आफ्नो अभिभावकत्व आफैँ लिनु वाइल्सका लागि कम्ती चुनौतीपूर्ण थिएन ।
रोनाल्डो : अरूको घरमा काम गर्ने आमाका छोरा
संसारका सायद सबैभन्दा लोकप्रिय र नाम चलेका खेलाडीको कोटीमा रोनाल्डो पनि पर्छन् । हो, तिनै रोनाल्डोका बाबु फुटबलसम्बन्धी सामान बनाउने सामान्य काम गर्थे भने आमा भने अरूको घरको भान्सामा काम गर्थिन् । छोरा संसारको सबैभन्दा लोकप्रिय खेलको सबैभन्दा लोकप्रिय खेलाडी बने । सन् १९८५ मा पोर्चुगलमा जन्मिएका क्रिस्टियानो रोनाल्डोको बाल्यकाल सहज थिएन ।
बाबुको व्यवसायका कारण छोरा रोनाल्डो सानोमा नै फुटबल मोह भएका व्यक्ति हुन् । १२ वर्षको उमेरमा उनलाई पोर्चुगलको फुटबल क्लबले त्यहाँबाट लिएर गएको थियो । त्यही गरिब परिवारका रोनाल्डोका लागि यो शताब्दीको सुरुमै सुखद् अवसर आयो । १६ वर्षको उमेरमा सन् २००१ मै संसारको पायोनियर शक्ति म्यानचेस्टर युनाइटेडले १४ मिलियन अमेरिकी डलरमा उनीसँग सम्झौता गरेको थियो ।
गरिबीबाट हुर्किएका यी खेलाडीले फुटबलमा मात्र होइन, समर्थकहरूको माझमा आफ्नै भिन्न छवि बनाए । उनी अहिले संसारका लोकप्रिय व्यक्तिमध्येमा पर्छन् । युट्युब च्यानल खोलेको १ दिनमै १ करोड सब्सक्राइबर पुगेपछि रोनाल्डोको नाममा सामाजिक सञ्जालमा नयाँ कीर्तिमान बनेको छ । गरिबीबाट हुर्किएका खेलाडीले फुटबलमा मात्र होइन, समर्थकको माझमा आफ्नै भिन्न छवि बनाएका छन् । युट्युब च्यानल खोलेपछि सामाजिक सञ्जालका विभिन्न रेकर्ड तोडेका रोनाल्डो यतिबेला चर्चामा छन् ।
इटाभट्टमा काम गर्थे जोसे अल्डोका बाबु
ब्राजिलमा जन्मिएका युएफसी फाइटर जोसे अल्डो संसारका स्थापित अर्का खेल व्यक्तित्व हुन् । उनको पनि बाल्यकाल सहज थिएन । मानुएसमा जन्मिएका उनका बाबु इँटा बनाउने काम गर्थे भने आमा गृहिणी मात्र हुन् । उनी सानो रहँदा नै उनका आमा र बाबु छुट्टिएका थिए । बाबुसँग बसेका उनी सडकमा कुस्ती खेल्नमा व्यस्त हुन थालेका थिए । केही नयाँ कुरा सिक्ने रहर भएका उनमा गरिबीका कारण त्यो सम्भव भएन । यसै कारण उनी जिजित्सु खेल्न पुगेका थिए । यस खेलमा नै उनले सबै कुरा सिके ।
त्यसपछि नै उनी रियो द जेनरियो पुगेका थिए । रियो द जेनरियोमा पुग्दा पनि उनका लागि दुई छाक खानका लागि समस्या थियो । त्यहीँ पुगेर उनले युएफसी र डब्लुइसीको फेदर वेट च्याम्पियन हुने मौका पाए । गरिबीमा जन्मिएका उनी सम्पन्न भइसकेपछि संसारका अन्य गरिबको सहयोगार्थ च्यारिटीमा सक्रिय छन् । सन् २०१६ मा उनले आफ्नो देशमा गएर गरिबीमा बिताउनेका लागि सहयोगार्थ च्यारिटी फुटबल म्याच पनि खेलेका थिए । रोनाल्डो जस्तै उनका कारण पनि अहिले धरै जना गरिबीबाट बाहिर निस्कन प्रयास गरिरहेका छन् ।
मुक्केबाज कसिम ओउआको रोचक विगत
व्यावसायिक मुक्केबाज कसिम ओउआको कथा त अझ अर्कै छ । सन् १९७८ मा युगान्डाको पनि अत्यन्त गरिब परिवारमा उनी जन्मिएका थिए । त्यत्तिकै कठिन जिन्दगी बिताएका उनलाई ५ वर्षको उमेरमा अपहरण गरेर राष्ट्रिय रेसिस्टेन्स आर्मीमा आबद्ध गराइयो । यसबाट नै उनले डरलाग्दो कुरा सिकेका थिए । ३ वर्षपछि परिवारसँग भेट भएका उनी कुनै पनि कुराबाट डराउन छाडिसकेका थिए ।
त्यसपछि युगान्डाको सैन्य र झडपको बाटो छाडेर उनी सन् १९९८ मा अमेरिका गए । त्यहाँ उनको एक सूत्रीय अभियान बक्सिङ खेल्ने बन्यो । यसपछि नै उनले बक्सिङ खेलेर पैसा कमाउने तथा त्यही आर्थिक समृद्धिको आडमा परिवारलाई खुसी दिने जमर्को गरे । सन् २००४ मा उनले आइबिएफ विश्व जुनियर मिडलवेट उपाधि जिते ।पछिल्लो समय व्यावसायिक मुक्केबाज भएपछि उनले धेरै पैसा कमाएका थिए । सोहीमध्येको धेरै रकम उनले युगान्डामा गरिबीमा बिताउनेहरूमाथि सहयोग गरेका थिए ।
यासाई पुगेईको फेरिएको जीवन
क्युबामा जन्मिएका यासाइ पुगेईको अवस्था फरक छ । एकदमै खराब जीवनयापनको अवस्थाबीच पनि उनको सपना अमेरिका गएर बेसबल खेल्ने नै थियो । क्युबाका लागि धेरै खेल खेलेका उनको त्यहाँ रहँदाको कमाइ मासिक १७ डलर मात्र थियो । यस कठिन अवस्थामा बाँच्नै नसक्ने भएपछि उनी सन् २०१२ मा अमेरिका जाने निर्णयमा पुगे । यस निर्णयमा मेक्सिकोमा सीमाबाट पार गराउने र लागूऔषध कारोबार गर्नेको फन्दामा उनी परे । पछि उनले वार्तामार्फत् छुटकारा पाएका थिए ।
अमेरिका पुगेर उनले डगर्सका लागि खेले । त्यहीँबाट कमाएको पैसाले उनले क्युबामा रहेका धेरै गरिब बालबालिकाका लागि अहिलेसम्म सहयोग गरिरहेका छन् । थुप्रै गरिबहरूको उद्धारमा आफू सक्रिय भएर लागिरहेका छन् । उनको अहिले पनि एउटै चाहना छ, आफू लागेको क्षेत्रमा केही गर्नका लागि अत्यन्त धेरै संघर्ष गर्न नपरोस् ।
आमाबाबुविहीन बिबियानो फर्नान्डेजको पीडादायी यात्रा
जोसे अल्डो जस्तो बिबियानो फर्नान्डेजको जन्म पनि ब्राजिलको मानुएसमा भएको थियो । ७ वर्षको हुँदा उनकी आमाको निधन भएको थियो । उनका बाबु पनि ५ छोराछोरीलाई त्यत्तिकै छाडेर हिँडे । सडकमा माग्दै हिँडेर पनि भोक टार्न नसकेपछि उनी अमेजन जंगलमा सिकारका लागि गएका थिए ।
उनका दाजुभाइले नै लामो समय जंगलमा नै बिताए । रोगका कारण झन्डै ज्यानै गएपछि उनी सहर भित्रिएका थिए । डोजो नजिकै सडक छेउमा झन्डै कारले ठक्कर दिएपछि उनी सुसज्जित मार्सल आर्टमा लागेका थिए । सुसज्जित मार्सल आर्टको संसारको टप फाइटर समेत भए । ३ पटक एएमए फाइटर भएका उनी पछिल्लो समय क्यानडाका प्रशिक्षणमा संलग्न छन् ।
कठोर संघर्ष र गरिबीका माझ पनि आफूलाई स्थापित गराउने संसारका नाममध्येका यी केही हुन् । त्यो सही स्टार हो, जो कठिन परिस्थितिमा पनि आफूलाई स्थापित गराउन सक्छ । स्थापित भइसकेपछि आफ्नो रकम र कमाइको केही अंक गरिबीमा हुर्कनेहरूकै लागि समर्पित गरोस् ।
प्रतिक्रिया