पर्सा । वीरगन्ज महानगरपालिका–११ श्रीपुरका सुनिल राउत कुर्मीले घर नजिकै रहेको नारायणी रंगशालाबाट फुटबल खेलेर हुर्किए । सोही रंगशालामा खेलेको खेल कौशलले उनलाई २०६०÷०६१ सालमा त १९ वर्षमुनिको राष्ट्रिय फुटबल टोलीको सदस्य भएर पनि खेल्ने अवसर जुरायो । तर, अहिले कुर्मीलाई आफैँलाई खेलाडी गराउन प्रेरित गरेको रंगशालाको जीर्ण अवस्था देखेर मन भतभती पोल्ने गरेको सुनाए ।
‘यही रंगशालामा फुटबल खेलेर हुर्कियौँ । तर, अहिले रंगशालाको जीर्ण अवस्था देखेर भने उदेक लाग्ने गर्छ’, उनले भने, ‘रंगशाला बेहाल हुनुमा राष्ट्रिय खेलकुद परिषद्देखि स्थानीय सबै दोषी छन् । रंगशालाको पूर्वाधार निर्माण गरेर मात्रै हुँदैन । नियमित रेखदेख र संरक्षणको अभावकै कारणले अहिले बेहाल अवस्थामा आइपुगेको हो ।’
कुर्मीले यही रंगशालामा हुँदै आएको विशाल गोल्ड कपदेखि अन्य विभिन्न फुटबल प्रतियोगितामा पनि सरिक भए । कुर्मी अहिले नारायणी रंगशालासँगै रहेको गौतम माध्यमिक विद्यालयको खेलकुद प्रशिक्षकको रूपमा कार्यरत छन् । ‘नारायणी रंगशाला अहिले पहिलोजस्तो रहेन । रंगशालाको तीनैतर्फका प्याराफिट भत्किएर धरापजस्तै भएका छन् । फुटबल खेल्ने मैदान पानी जमेर पौडी पोखरीजस्तै भएको छ’, उनले भने, ‘रंगशालाको उचित संरक्षण र संवद्र्धन नहुँदा नयाँ पुस्ताका खेलाडी उत्पादनमा खडेरी परेको छ ।’
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालापछिकै दोस्रो धेरै दर्शक अट्ने रंगशालाका रूपमा २०३८ सालमा नारायणी रंगशाला निर्माण गरिएको थियो । २०४२ सालमा तेस्रो राष्ट्रिय खेलकुद हुँदा नारायणी रंगशाला तयार भएर सोही रंगशालामा सो प्रतियोगिता आयोजना गरिएको थियो । सुरुआती चरणमा १५ हजार दर्शक क्षमताको विकास गरिएको थियो । तराई–मधेस क्षेत्रकै ठूलो रंगशाला विगतमा राष्ट्रिय खेलकुद प्रतियोगितादेखि अन्य स्थानीयस्तरका विभिन्न गोल्डकप प्रतियोगिता पनि भएका थिए । पछिल्लो समय रंगशाला परिसरका प्याराफिटका भौतिक पूर्वाधार जीर्ण र चिराचिरा भएपछि भने खेलुकदका गतिविधि खासै हुन सकिरहेका छैनन् ।
रंगशालाको ३ तर्फको प्याराफिटका पूर्वाधार जीर्ण रहेका छन् भने हालै निर्माण गरिएको दक्षिणतर्फको प्याराफिट राम्रो अवस्थामा भए पनि रंगशालाको मैदानको अवस्था भने अझै दयनीय छ । मैदानभरि घाँसले ढाकेको छ भने वर्षायाममा पानी जम्ने पोखरी हुने गर्छ । नियमित मर्मतसम्भार र जीर्णाेद्धारको अभावमा रंगशाला जीर्ण बन्दै गएको हो । रंगशाला १८ बिघा क्षेत्रफलमा फैलिएको छ ।
वीरगन्ज, महानगरपालिका, मधेस प्रदेश सरकार तथा संघीय सरकारको यस रंगशालालाई व्यवस्थित गर्नेतर्फ ध्यान पुग्न नसकेको स्थानीयको भनाइ छ । अखिल नेपाल फुटबल संघ पर्साका अध्यक्ष रोशन गुप्ता नारायणी रंगशाला जीर्ण भएर खण्डहर भएको बताउँछन् । ‘सुविधासम्पन्न मैदान भए पो नयाँ खेलाडी नयाँ जोश र जाँगरसहित खेल्न आउने थिए’, उनले भने, ‘मैदान नै बेहाल भएपछि कसको पो नजर पर्ने रैछ र !’
रंगशालाको भौतिक संरचना भत्किएसँगै राष्ट्रिय खेलकुद परिषद्ले करिब एक दशकअघि रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत तयार पारेको थियो । सो डिपिआरअनुसार रंगशाला पुनर्निर्माणका लागि साढे २ अर्बभन्दा धेरै रकम लाग्ने बताइएको थियो । सरकारले रंगशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन नगर्दा रंगशाला दिनप्रतिदिन जीर्ण बन्दै गएको छ ।
अध्यक्ष गुप्ताले नारायणी रंगशाला व्यवस्थित नहुँदा पर्साका फुटबलका गतिविधिमा असर पारेको बताए । उनले भने, ‘वीरगन्जको आदर्शनगरमा एउटै मैदानमा फुटबल र क्रिकेट गराउनुपर्ने बाध्यता रहेको छ ।’ नारायणी रंगशाला यसअघि मध्यमाञ्चल खेलकुद विकास समिति मातहत पर्ने गथ्र्याे । तर, मुलुक संघीयतामा गइसकेपछि समिति अस्तित्वमा छैन । नयाँ प्रावधानअनुसार मधेस प्रदेश परिषद् बनाउनुपर्नेमा अहिलेसम्म कानुनको अभावमा रंगशाला राष्ट्रिय खेलुकद परिषद् मातहत नै पर्ने गर्छ ।
राखेपका अधिकृत मोहम्मद जेउल इस्लामले नारायणी रंगशालाको संरक्षण र रेखदेखमा स्थानीयबासी र सरकारी निकाय दुवैका कमीकमजोरी रहेको बताए । ‘वीरगन्जका स्थानीयवासीले रंगशालामा निर्माण गरिएका फलामका रड काटेर लैजानेसम्मको हर्कत गरेका छन्’, उनले भने, ‘अब सबैले आआफ्नो कमीकमजोरीलाई सच्चाएर रंगशालालाई व्यवस्थित गराउनेतर्फ अग्रसर हुने बेला आएको छ ।’
राखेपका अधिकृत इस्लामले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नारायणी रंगशालाको पुनर्निर्माणका लागि दातृ निकायसँग पहलकदमी गर्ने प्रयास गरिरहेको बताए । ‘‘खेलकुद मन्त्री केही समयअघि रंगशालाको स्थलगत अवलोकन गर्न आएका थिए । उनले दातृ निकायसँग समन्वय गरेर पुनर्निर्माण गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । उनले भने, ‘सबैको पहलकदमीको कारणले अबको केही समयभित्रै नारायणी रंगशाला निर्माणले प्राथमिकता पाउला कि भन्ने आशा जगाएको छ ।’
संघीय सरकारका प्रायः सबैजसो खेलकुद मन्त्रीले यस रंगशालाको स्थलगत निरीक्षण गरेका छन् । भ्रमणको क्रममा उनीहरूले नारायणी रंगशालाको पूर्वाधार निर्माण आफ्नो प्रथामिकतामा रहेको बताउने गर्छन् तर आवश्यक बजेट व्यवस्थापन नहुँदा यसको स्तरोन्नति हुन सकेको छैन ।
वीरगन्ज क्रिकेट मैदानको हालत पनि उस्तै
नारायणी रंगशाला परिसरभित्रै रहेको वीरगन्ज क्रिकेट मैदानको पनि अवस्था उस्तै छ । ४ विघा १८ कठ्ठा १५ धुर क्षेत्रफलमा फैलिएको क्रिकेट मैदान पनि मुआब्जा र संरक्षणको अभावले बेहाल अवस्थामा रहेको छ । पर्सा जिल्ला क्रिकेट संघका अध्यक्ष मनिष सिंहले पनि वीरगञ्ज क्रिकेट मैदान मुआब्जा विवाद र बजेट अभावकै कारणले संरक्षण गर्न नसकिएको गुनासो गरे ।
‘४ कट्ठा जग्गाको मुआब्जाको प्रक्रिया अघि बढाउन नसक्दा क्रिकेट मैदानलाई संरक्षण र रेखदेख गर्न सकिरहेका छैनौँ’, उनले भने, ‘‘मुआब्जाको लागि आर्थिक स्रोत र आवश्यक प्रक्रिया अघि नबढ्दा पनि तारजाली गरेर व्यवस्थित गर्न सकिरहेका छैनौँ ।’ वर्षायाममा फुटबल र क्रिकेट मैदानमा दुवैतर्फ व्यवस्थित ढंगले पानीको निकास नहुँदा पनि समस्या यथावत नै छ । अहिले वीरगञ्ज क्रिकेट मैदानको ‘पिच’ निर्माणको काम भने अघि बढाइएको छ ।
प्रतिक्रिया