तनावपूर्ण खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा

महिला साफ च्याम्पियनसिप

काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत आइतबार राति नेपाल र भारतबीच भएको रोमाञ्चक र तनावग्रस्त खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको च्याम्पियनसिपको दोस्रो सेमिफाइनल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

नर्धारित समयसम्म १–१ गोलको बराबरीमा रोकिएको खेलमा पेनाल्टी सुटआउटमार्फत् नेपालले ४–२ को अन्तरले भारतलाई पाखा लगाउँदै फाइनल प्रवेश गरेको हो । विवाद र तनावकै बीच सकिएको उक्त खेल करिब ३ घन्टासम्म चलेको थियो । खेलको ७१औँ मिनेटमा भारतका लागि संगीता बासुरले गोल गर्दै खेलमा अग्रता दिलाएकी थिइन् । भारतले गरेको गोलको सेलिब्रेसन नसकिँदै नेपालले बल चलाएर गोल गरे पनि रेफ्रीले उक्त गोल अमान्य घोषित गरेपछि ७० मिनेटसम्म विवाद भएको थियो ।

विवादपछि पुनः सुरु भएको खेलको दोस्रो मिनेटमै नेपालकी सावित्रा भण्डारी साम्बाले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याइन् । खेलको पूरै अवधिसम्म खेल बराबर भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा भारतका २ वटा प्रहारलाई नेपाली गोलरक्षक एन्जिला तुम्बाहाङ्फेले रोक्दै नेपालको फाइनल यात्रा सुनिश्चित गराएकी थिइन् ।

यसअघि खेलको ५०औँ मिनेटमा नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकी थिइन् । रेखालाई रेफ्री ओम चोकीले दोस्रो पहेँलो कार्ड देखाएकी थिइन् । सहायक रेफ्री छोडेन छिरिङले रेखाले भारतकी चोन्कीलाई फल गरेको भन्दै झन्डा उठाएकी थिइन् । रेखाले चोन्कीसँग बलका लागि जुझेकी थिइन् । जसमा दुवै खेलाडी लडेका थिए । रेखाले रातो कार्ड पाउँदा नेपाली खेलाडी र दर्शक आक्रोशित बनेका थिए । जसकारण खेल १० मिनेटसम्म रोकिएको थियो ।

रेखाले रातो कार्ड पाएसँगै नेपाली टोली १० खेलाडीमा सीमित भएको थियो । खेल सुरु भएपछि भारतका तर्फबाट वैकल्पिक खेलाडी संगीताले पहिलो गोल गरेकी थिइन् । त्यसपछि भारतको सेलिब्रेसन लामो समयसम्म चलिरह्यो । रेफ्रीले खेलका लागि आग्रह गर्दा पनि भारतीय खेलाडी नआएपछि नेपालले बल चलाएको थियो । भारतीय खेलाडी तयार हुँदै गर्दा नै नेपालकी प्रीति राईले बललाई जाली चुमाएकी थिइन् । तर, भारतले यसको चर्को विरोध गर्यो र विवाद सुरु भयो । जसकारण खेल दोस्रो पटक ७० मिनेटका लागि रोकिएको थियो ।

साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारतबीच यो दोस्रो भेट थियो । सन् २०२२ को संस्करणमा पनि भारतलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको थियो । तर, त्यसबेला फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । नेपालले अहिलेसम्म महिला साफ च्याम्पियनसिपको उपाधि जितेको छैन । यस पटक उपाधिका लागि नेपाल र बंगलादेश आमने–सामने हुँदै छन् । आइतबार नै भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ ले हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया