दैलेख । दैलेख जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ । यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ । फाट्टफुट्ट भेटिने ज्येष्ठ नागरिक पनि भारी मनले भन्छन् – बस्ती सबै रित्तो भो, जताततै वनमाराले राज गरेको छ ।
दश वर्षअघि गाउँमा गाडीको प्रतीक्षा गरेर बसेकामध्ये अहिले औँलामा गन्न सकिने मानिस भेट्न कठिन छ । गाउँबाट उत्पादित जैविक उपज सवारीसाधनमा राखेर शहर पठाउने सपना साकार नहुँदै सोही सडकमा गुडेका सवारीसाधन चढेर गाउँका युवा शहर पसेपछि अहिले त्यहाँ मलामी पनि नभेटिने अवस्था छ । भौतिक विकासमा अग्रसर देखिने सरकार ग्रामीण बस्तीबाट हुने बसाइँसराइ रोक्नेतर्फ नलागेको उनीहरूको गुनासो छ ।
गडीगाउँमा रहेका रिजाल, आचार्य, खत्री, राउत र बाझखर्क टोल सुनसान छन् । २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार त्यहाँका ३८ घरमा तीन सय ६६ जनाको बसोबास थियो । तर, अहिले १७ घर मात्र छन् । गाउँको जनसंख्या एक सय २० मा झरेको छ ।
गाउँका अगुवा धनबहादुर थापा भन्छन्, ‘पहिले बस्तीमा चहलपहल थियो, चाडबाडमा युवादेखि केटाकेटीसम्म सबै जम्मा हुने गर्दथे । उत्पादन पनि राम्रै थियो, अहिले मानिस सुविधायुक्त स्थानमा जान थाले, गाउँका बस्ती बाँझो जमिनमा परिणत भयो । बस्ती सबै रित्तो भो, रित्तो बस्तीमा अहिले वनमाराले राज गरेको छ ।’ यहाँका सबै टोलमा यस्तै समस्या छन् ।
यस्तै, गुनासो गर्छन्, रावत टोलका ७० वर्षीय दानबहादुर रावत । सत्तरी वर्षमा सहजै हिँडडुल गरी काम गर्न सक्ने उनलाई छिमेकीको घरको आँगन पनि अहिले परदेशजस्तो लाग्न थालेको छ । ‘निकै अप्ठ्यारो महसुस भएको छ, दिनभरि घरमा एक्लै बस्छु, दिन काट्न मुस्किल छ, दुःखसुखका कुरा गर्ने न दौँतरी छन् न छिमेक नै,’ उनले भने ।
दानबहादुरको दुःखभन्दा कम छैन महाबु गाउँपालिका–५ काशीकाँधका ६९ वर्षीय दानेश्वर खत्रीको पनि । ‘सुविधा खोज्दै युवा शहर गए, गाउँमा रोजगारी भएन, युवा शहर पसेपछि परिवार पनि उतै लगे, अनि गाउँमा को आएर बस्छ । दसैँको मुखमा घरमा पालेका खसीबाख्रासमेत चितुवा आएर मारिदियो, मकै लगायो बाँदर र बँदेलले सखाप पार्छ, वनमाराको झाडी भयो वनबाट खानेकुरा खोज्दै अलिअलि दुःख गरेर गाउँमै बसेका किसानलाई समेत छाड्नुपर्ने बाध्यता छ । उब्जनी हुने बाली भित्र्याउन नपाएपछि गाउँमा के खाएर बाँच्ने ?,’ उनले भने ।
शहरी क्षेत्रमा बसाइँ सर्ने क्रम बढेसँगै गाउँ रित्तिएको महावु गाउँपालिका–५ का वडाध्यक्ष दीपबहादुर शाहीले बताए । बसाइँसराइ रोक्न पालिकाले कृषिमा लगानी बढाउँदै गएको उनले बताए । कृषिमा आधुनिकीकरण आवश्यक भएकाले स्थानीय सरकार किसानसँगको सहलगानीमा काम गर्न तयार भए पनि निकै कम मात्र व्यावसायिक खेतीमा लागेका छन् ।
परम्परागत उत्पादनलाई जंगली जनावरले नष्ट गर्न थाले पनि कृषि उत्पादनलाई बढावा दिन गाउँपालिकाले मकै, अलैँची र आलु पकेट क्षेत्र र पशुपालन पकेट क्षेत्र छनोट गरेको र सोहीअनुसार काम सुरु गरेको उनले बताए ।
जंगली जनावरको आतंक
ग्रामीण बस्ती खाली हुनुको एक कारण जंगली जनावरको आतंक पनि हो । केही वर्षअघिसम्म आफ्नै खेतबारीमा लगाएको खेतीले वर्षभरि खान पुग्ने ग्रामीण बस्तीका बासिन्दाले पछिल्ला वर्षमा खेती लगाउन छाडेका छन् । लगाएको खेती नपाक्दै बाँदर र बँदेललगायत जंगली जनावरले नास गर्न थालेपछि पाखाबारी बाँझो छाडेर नागरिक परिवारको गर्जो टार्न कामको खोजीमा भारतलगायतका सुविधासम्पन्न शहर पस्न थालेका हुन् ।
‘केही वर्षअघिसम्म परिवारलाई वर्षभरि खान पुग्ने कोदो, मकै, गहुँलगायत बाली फल्ने गाउँका जमिन अहिले जंगली जनावरका कारण बाँझो हुन थालेका छन् । केही वर्षअघिसम्म परिवारलाई खान पुग्ने अन्न बारीमा फल्थ्यो । अहिले जंगली जनावरले बाली नपाक्दै नष्ट गरिहाल्छन् । बाँझो बारीले परिवारलाई खान पुग्दैन । गाउँका नागरिक काम गर्दै बालबच्चा पढाउँदै शहर पस्न थाले,’ महावु गाउँपालिका–५ का तुलबहादुर रिजालले भने । रासस
प्रतिक्रिया