नेपालमा कम्युनिस्ट विचार र पार्टीको स्थापनाको प्रश्न

वास्तवमा पुष्पलालले संयुक्त जनआन्दोलनको जुन नीति अख्तियार गर्नुभएको त्यो आफूले अंगीकार गरेको माक्र्सवादी लेनिनवादी सिद्धान्तलाई व्यवहारमा उतार्ने, जनतालाई जगाउने र परिवर्तनको बाटोमा अग्रसर गराउने एउटा अमोघ अस्त्र थियो र हो । त्यो नीतिको आधार तत्कालीन बस्तुस्थितिको आधारमा वर्गीय विश्लेषणको निचोड नै थियो ।

लोकनारायण सुवेदी

नेपालमा कम्युनिस्ट पाार्टीको स्थापना भएकै ७५ वर्ष लाग्न थालेको छ । आगामी वर्ष यसको हीरकोत्सव पर्दछ । तर, नेपालमा विक्रम सम्वत २००० को दशकमा एसियाका अन्य देशहरूमा भन्दा निकै बिलम्ब गरी कम्युनिज्मको प्रवेश भएको देखिन्छ । यसको कारण हो कि बृटिस साम्राज्यवादको एक मात्र आड भरोसामा स्थापित भएको नेपालको राणाशासनका बेला नेपाल विश्व समुदायबाट एक्लिएको स्पष्ट भनाैँ एक्ल्याइएको थियो । त्यसैले राणाशाहीकै विरोधमा त्यसको अन्तिम शासनकालमा नेपालमा अरू पार्टीजस्तो नेपाल प्रजापरिषद्, नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको पनि गठन भएको थियो ।

त्यसभन्दा निकै अगाडि सन् १९३० को दशकमा कम्युनिस्ट बिचारका लेखहरू र पत्रपत्रिकाहरू नेपालमा भूमिगतरूपमा प्रवेश गर्न थालेका थिए । त्यतिबेला राणाशासनविरुद्ध जुधिरहेका जोधाहा योद्धाहरू ४ महान अमर सहिदहरूमध्येका २ जना दशरथ चन्द र गंगालालले कम्युनिस्ट साहित्य पढेका थिए भनिन्छ । यद्यपि त्यतिबेला नेपाल भने समग्रमा अशिक्षाको घोर अन्धकारको स्थितिबाट जुज्रिरहेको थियो । त्यस्तो परिवेशमा कमरेड पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीको गठन गर्नुभएको थियो र त्यसलाई त्यतिबेला एसियाको सबैभन्दा कान्छो पार्टी भन्नुभएको थियो ।

त्यो पार्टी विधिवत जन्मेको दिन थियो १५ सेप्टेम्बर १९४९ को दिन हो । सबैलाई थाहा छ कुनै पार्टी पार्टी बन्नका लागि एउटा घोषणापत्र चाहिन्छ । एउटा विधान चाहिन्छ र त्यो घोषणालाई सही किसिमले विधानअनुसार कार्यान्वयन गर्न एउटा संरचना चाहिन्छ । यी तीन वटै कुराले पूर्णता पाएपछि एउटा पार्टी विधिवत खडा हुन्छ । यो नेपालमा राणाशाही अन्तिम चरणमा चलिरहेको बेलामा खडा भएको पार्टीको कुरा हो । अहिले त सबैलाई थाहा छ कि पार्टी खडा गर्नका लागि एउटा घोषणापत्र, एउटा विधान र एउटा संगठन समिति अर्थात अर्थात केन्द्रीय समिति बन्नु नै दलीय व्यवस्थामा पार्टीको आरम्भको कुरा हो ।

नेपालमा राणा शासनको अन्त्यपछि २००८ सालमा अर्थात पार्टी स्थापनाको २ वर्षपछि यसको प्रथम राष्ट्रिय सम्मेलन भयो । त्यो सम्मेलनले अन्य कुराका अतिरिक्त पार्टीको स्थापना दिवस १५ सेप्टेम्बर १९४९ र पार्टीको कार्यक्रम नयाँ जनवाद भनेर पार्टीको सर्वोच्च सम्मेलनले वैधानिक मान्यता दियो । यो क्रम पार्टी अभिवाजित रहुञ्जेल निर्वाध चल्यो । पार्टीको केन्द्रीय पहिलो महाधिवेशन २०१० सालमा पार्टी प्रतिबन्धित रहेकै बेला सम्पन्न भयो । त्यसमा पनि यसबारे कुनै प्रश्न कसैले उठाएन र उठाउनुपर्ने आवश्यकता पनि थिएन । पार्टी माथिको प्रतिबन्ध २०१३ सालमा खुला भएपछि दोस्रो महाधिवेशन २०१४ सालमा भयो ।

त्यो वर्ष पनि पार्टीको स्थापना दिवस १५ सेप्टेम्बरमै धुमधामसित मनाइयो । २०१९ को तेस्रो महाधिवेशनले डा.केशरजंग रायमाझीलाई महासचिव निर्वाचित गरेपछि नेपाल कम्युनिस्ट पार्टीलाई ठूलो धक्का लाग्यो । २०१७ सालको शाही प्रतिगामी कदमको समर्थन गरेपछि उनले कथित बहुमत र मातृ पार्टीको नाममा पार्टी स्थापना दिवस २२ सेप्टेम्बर भनेर बखेडा झिके । अकारण पार्टी स्थापना दिवसको विवाद खडा गरे । तर शाही समर्थन र रुसी खेमामा रहेकोले उनको प्रभाव देखिए पनि स्थापना दिवस बखेडाको कुनै प्रभाव परेन ।

तेस्रो महाधिवेशनपछि महामन्त्री तुलसीलाल पनि खुलेरै रुसी खेमातिर लागे र नयाँ जनवादी कार्यक्रमको सट्टा राष्ट्रिय प्रजातन्त्रको संशोधनवादी कार्यक्रम प्रस्तत गरे । तर, पार्टी गतिविधिहरू अघि बढ्न सकेनन् । बन्द जस्तै भएर तहसनहस र निष्क्रिय हुने स्थितिमा पुगे । त्यसपछि कमरेड पुष्पलालको नेतृत्वमा पार्टीको ऐतिहासिक (जसलाई गोरखपुर सम्मेलन १९६८ पनि भनिन्छ) तेस्रो राष्ट्रिय सम्मेलन २०२५ सालमा सम्पन्न भयो र पार्टीले पुनर्जीवन पायो । त्यस सम्मेलनले नेपालको आमूल र अग्रगामी परिवर्तनका लागि सांगोपांगोरूपमा नयाँजनवादी क्रान्तिको कार्यक्रम अघि सार्यो र पार्टी जन्म दिवस लगायतलाई पूर्ववत सुचारु गर्यो ।

यसरी पार्टी पुनर्गठिन भएपछि २०२८ सालमा नेपाल कम्युनिस्ट पार्टीको चतुर्थ सम्मेलन २०२८ सालमा भयो । त्यसले पार्टीले लिएको बामपन्थी एकता, संयुक्त मोर्चा र संयुक्त जनआन्दोलनको नीतिलाई जोडतोड र प्रष्टरूपमा अघि सार्यो । अनि अखिल नेपाल किसान संघको दोस्रो राष्ट्रिय सम्मेलन र प्रगतिशील बुद्धिजीवीहरूको राष्ट्रिय सम्मेलन गरी संघर्षको नीति र कार्यक्रम प्रस्तुत भए ।

यसै बीचमा आनन्दबहादुर क्षेत्री, रातो तरबार प्रकाशन, बीरबास नेपालको नामबाट ‘गद्धार पुष्पलाल’ भन्ने ९९ पेजको किताब कमरेड पुष्पलालका विरुद्ध मोहनबिक्रम सिंहद्वारा प्रकाशनमा ल्याइयो । अहिले त्यस किताबको नाम फेरेर ‘क्रान्ति कि भ्रान्ति’ भन्ने राखिएको छ । त्यसमा आधारहीन कुराहरू अघि सारेर कमरेड पुष्पलालको बदख्वाईं गरिएको छ । तर त्यो किताब पार्टी स्थापना दिवसबारे मौन छ । त्यसै ३० को दशकको काखण्डमा २०३५ पुष ११ गते नेकपा(माले)का दस्तावेजहरू प्रकाशन भए । तिनले पुष्पलाललाई गद्दार, संशोधनवादी, कांग्रेसको पुच्छर, भारतको दलाल साम्राज्यवादको एजेन्ट आदि दुष्प्रचारपूर्ण फत्तुर लगाए पनि त्यसमा ती दस्तावेजमाा समेत ‘ख्रुश्चेभको पोष्य पुत्र पुष्पलालले’ १५ सेप्टेम्बर १९४९ मा तथाा कथित कम्युनिस्ट कम्युनिस्ट पार्टी गठन गरे भनेको छ । यसरी कमरेड पुष्पलाल र कम्युनिस्ट पार्टी स्थापना दिवसको खेदो खनियो । स्थापनाको तीन दशक यसले ३ दशक पछि आएर यसबारे आधारहीन कुरा किन उछालियो यसको पृष्ठभूमि बुझ्नु बुझाइनु अत्यावश्यक छ ।

वास्तवमा पुष्पलालले संयुक्त जनआन्दोलनको जुन नीति अख्तियार गर्नुभएको त्यो आफूले अंगीकार गरेको माक्र्सवादी लेनिनवादी सिद्धान्तलाई व्यवहारमा उतार्ने, जनतालाई जगाउने र परिवर्तनको बाटोमा अग्रसर गराउने एउटा अमोघ अस्त्र थियो र हो । त्यो नीतिको आधार तत्कालीन बस्तुस्थितिको आधारमा वर्गीय विश्लेषणको निचोड नै थियो ।

त्यसैले उहाँले अघि सारेको संयुक्त जनआन्दोलनको नीति केबल एउटा कोरा नीति मात्र थिएन, त्यो परिवर्तनको प्रभावकारी औजार थियो । जसले समाजमा राजनीतिक, आर्थिक, समाजिक र सांस्कृतिक परिवर्तन ल्याउन सबै परिवर्तनकामी शक्तिहरूलाई एकठाउँमा खडा गर्ने रसायनको काम गर्दथ्यो । बस्तुतः उहाँले अघि सारेको यो नीति माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई व्यवहारमा उतार्ने कार्यनीतिकै महत्वपूर्ण अंश र आधार थियो । जुन बाटो नहिँडिकन समाजलाई अग्र गति दिनै सकिदैनथ्यो भन्ने कुरा नेपालमा अहिलेसम्म सचेतरूपमा चलेका संयुक्त जनआन्दोलनहरूले प्रष्टसँग औँल्याएका छन् ।

यस प्रकार पुष्पलालको यो नीति एकैचोटी वर्गीय मोर्चा र राजनीतिक मोर्चालाई एकै दिशातिर अभिमुख गराउने र हिँडाउने माध्यम पनि थियो । जुन कुराको पुष्टि नेपालको २०१७ अघि ०८ सालतिर जातीय जनतान्त्रिक मोर्चा(त्यसबेला ‘राष्ट्रिय’ शब्दलाई ‘जातीय’ भनेर अभिव्यक्त गन्थ्यिो) र २०१७ साल पछिका महत्वपूर्ण र ऐतिहासिक आन्दोलनहरू, २०३६ सालको संयुक्त विद्यार्थी आन्दोलन, २०४६ सालको संयुक्त जनआन्दोलन र २०६२/०६३ सालको व्यापक संयुक्त जनआन्दोलनहरूले एकपछि अर्को पुनर्पुष्टि गरिसकेका छन् र गरिरहेका छन् ।

वास्तवमा यस बस्तुगत यथार्थले कमरेड पुष्पलालको ‘नेता होइन, नीति प्रधान’ हुन्छ भन्ने कुरालाई पनि सत्य सावित गरेको छ । उहाँ ब्यक्तिवादको विरुद्ध हुनुहुन्थ्यो र हमेशा पुष्पलाल भन्ने गर्नुहुन्थ्यो कि नेताहरू त मञ्चमा आउँछन्, जान्छन् तर सही नीति हमेशा कायम रहन्छ । उहाँले यस्तो निचोड निकालेर नीतिको कुरा गर्दा वर्गीय नीतिको कुरा गरेको हुन्थ्यो कुनै निरपेक्ष नीतिको कुरा होइन । उदाहरण दिँदै उहाँ भन्ने गर्नुहुन्थ्यो – वेदब्यास छैनन् तर वेद छ । बुद्ध छैनन् तर बुद्धको विचार छ, रुसो छैनन् तर उनको ‘सामाजिक सम्झौताको सिद्धान्त’ छ ।

त्यसरी नै माक्र्सवादका प्रणेता– माक्र्स र एंगेल्स छैनन् तर अजेय माक्र्सवाद आज हामीसँग छ । नेताहरूको योगदान र भूमिकाको अवश्य महत्व छ र हुन्छ । उनीहरू हमेशा कायम रहन सक्तैनन् तर उनीहरूको विचार कायम रहन्छ ।

प्रतिक्रिया