सर्लाही । जिल्लाको हरिपुर्वा नगरपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण भएको २ वर्ष बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन । सो अस्पताल तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतोले २०६९ जेठ २ गते शिलान्यास गरेका थिए । अस्पताल २ वर्षअघि नै निर्माण सम्पन्न भएको थियो । तर, नगरपालिकाका जनप्रतिनिधिबीचको आन्तरिक टकरावका कारण जिल्लाको दक्षिणपूर्वी ग्रामीण भेगस्थित हरिपुर्वा नगरपालिका–२ मा निर्माण भएको सुविधासम्पन्न अस्पताल भवन सञ्चालनमा आउन सकेको छैन ।
१० वर्ष लगाएर निर्माण भएको अस्पताल भवन सञ्चालनमा नआउँदा स्थानीयले गुनासो गरेका छन् । गाउँमा १५ शय्याको अस्पताल निर्माण भए पनि सामान्य बिरामी पर्दासमेत उपचारका लागि मलंगवा, जनकपुर वा काठमाडौँ जानुपर्ने बाध्यता हट्न नसकेको भन्दै स्थानीयले दुःखेसो पोखेका छन् ।
अस्पताल सञ्चालनमा जनप्रतिनिधिले चासो नदिएको स्थानीयको भनाइ छ । गाउँमै यति ठुलो अस्पताल भवन बनेको २ वर्ष पुग्यो तर सञ्चालन गर्न जनप्रतिनिधिले चासो देखाएका छैनन् । आमनागरिक सामान्य बिरामी पर्दा खर्च बढाएर अन्यत्र गई उपचार गराउनुपर्ने बाध्यता छ । तर, जनताले भोट दिएर जिताएको जनप्रतिनिधि भने आफैँ लडेर बसेको स्थानीयको आरोप छ ।
अस्पताल भवन निर्माणका लागि हरिपुर्वा नगरपालिका–२ का स्थानीय विनोद साहले १० कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए । निर्माण भएको अस्पताल भवन भने २ वर्षसम्म पनि अलपत्र परेपछि जग्गादाता साहसमेत चिन्तित छन् ।
नगरमा निर्माण भएको अस्पताल सञ्चालन नहुँदा स्थानीयले सास्ती खेपिरहनुपरेको छ । जनताको प्रत्यक्ष सरोकारका यस्ता विषयमा जनप्रतिनिधिले देखाएको गैरजिम्मेवार कार्यले स्थानीमा आक्रोश पैदा गराएको छ ।
प्रतिक्रिया