जनकपुरधाम । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न रहेको आरोपी पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउपर्नेमा उनकै घरमा काम गर्ने कबिलासी नगरपालिका घर भई हाल चन्द्रनगर गाउँपालिका–१ रतनपुर बस्ने २५ वर्षीय रामउजैन राय र उनका छिमेकी ४६ वर्षीय वीरेन्द्र राय छन् ।
उनीहरू नै पूर्वमन्त्री रायको हत्या घटनामा संलग्न रहेको घटनाको प्रारम्भिक अनुसन्धान र फेला परेको प्रमाणबाट खुलेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । साउन ६ गते राती सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरमा पूर्व भूमिसुधार राज्यमन्त्री रायको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
पूर्वमन्त्री रायको हत्या जग्गासम्बन्धी विवाद र आर्थिक प्रलोभनको कारण कामदा रामउजैनले गरेको प्रहरीको निष्कर्ष छ । प्रहरीका अनुसार करिब १ महिनाअगाडि मन्त्री रायका छिमेकी वीरेन्द्रले राम उजैनलाई रायको घर जग्गाको नक्सा झुक्याई मागेर फोटो भिडियो बनाएका थिए । रायको पक्की घर रहेको जग्गा आफ्नो जग्गा ओगटेर बनाएको वीरेन्द्रले भन्ने गरेका थिए । घटनाको केही दिनअघि मात्र रायको हत्या गरे वीरेन्द्रले रामउजैनलाइ २ लाख रुपैयाँ र व्यवसायका लागि एउटा फर्मसमेत बनाइदिने प्रलोभन दिएको अनुसन्धानबाट खुलेको छ ।
त्यसपछि जग्गा आफूले भोगचलन गर्ने उक्साहटमा काम गर्ने राम उज्जैनले पूर्वमन्त्री रायको हत्या गरेकोसमेत स्वीकारेको डिएसपी श्रेष्ठले बताए ।
हत्या घटनाका प्रमाणहरू पनि फेला परेको छ । घटनास्थलबाट २०÷२५ मिटर पश्चिम बाँसको झ्याङमा रगत (रगतजस्तो देखिने रातो पदार्थ) तथा कपालसमेत लागेको अवस्थामा फलामको धारिलो (उखु काटने फर्सा) काट्ने हतियार, सेतो सेन्डो गन्जी च्याती तीन टुक्रा पारी बेरी गोलो बल (भकुण्डो) जस्तो बनाई घटनास्थलदेखि पश्चिम उत्तरतर्फ रहेको बारी छेउको बाटोतर्फ फेला परेको प्रहरीले जनाएको छ । त्यो कपडा काम गर्ने रामउज्जैनको रहेको प्रमाणित भएको छ ।
भौतिक सबुतहरू परीक्षणका लागि पठाइएको थियो भने मोबाइलसँग सम्बन्धित डाटा नेपाल टेलिकम र एनसेलसँग प्राप्त गरी सूक्ष्म प्राविधिक विश्लेषण गरेको, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो र प्रदेश प्रहरी कार्यालयबाटसमेत अनुसन्धान अधिकृत सहितको टोलीहरूको संलग्नतामा अनुसन्धान गरी आरोपी पत्ता लगाइएको प्रहरीले जनाएको छ ।
दुबैजनामाथि कर्तव्य ज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले बताए ।
प्रतिक्रिया