काठमाडौँ । मंगलबार बिहान करिब ३ बजे रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा तिब्बत क्षेत्रबाट आएको बाढीले नेपालतर्फ भोटेकोसी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा अकल्पनीय क्षति पुर्यायो । बाढीका कारण यो समाचार तयार पार्दासम्म ७ जनाको शव फेला परेको छ भने ५५ जनाको उद्धार गरिएको छ र १९ जना बेपत्ता छन् । ३ जना प्रहरी बेपत्ता भएकामा मंगलबार साँझ प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदीमा भेटिएको थियो भने २ जना प्रहरी अझै बेपत्ता छन् । त्यस्तै, अन्य ११ जना नेपाली र ६ जना चिनियाँ नागरिक पनि बेपत्ता छन् ।
जल तथा मौसम विज्ञान विभागसँग भएको रेकर्डका आधारमा भोटेकोसीमा मंगलबार बिहानको भीषण बाढी रसुवामा आएको बाढीमध्ये इतिहासकै ठुलो हो । बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल नै बगाएको छ भने नेपाल र चीनबीच सबैभन्दा बढी व्यापार हुने नाकाको रूपमा रहेको रसुवागढी नाका नै ठप्प हुँदा २ देशबीचको आर्थिक गतिविधि प्रभावित बनेको छ । पक्की पुल बन्न लामो समय लाग्ने भएकाले अस्थायी संरचना बनाएर केही सातामा आयात–निर्यात सुचारु गर्ने सरकारको तयारी छ । तर, जोखिम कायमै रहेकाले तत्कालै अस्थायी संरचना निर्माण गर्न पनि समस्या छ ।
मंगलबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले मितेरी पुल बगाई आवागमन बन्द भएकाले पुल र चीनतर्फको बाटो पुनः निर्माण गरी केरुङ नाका सुचारु गर्न परराष्ट्र मन्त्रालयमार्फत् चीन सरकारसँग समन्वय गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह नै बगाउँदा २३ वटा मालवाहक कन्टेनर, ६ वटा मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन बगाएको छ । विशेष गरी दसैँलाई लक्षित गरी व्यवसायीहरूले कन्टेनरमा ल्याएका करोडौँ मूल्य बराबरको लत्ताकपडा, विद्युतीय सामग्री पनि कन्टेनरसँगै बगाएको छ ।
बाढीले निर्माणाधीन सुक्खा बन्दरगाहससहित रसुवा गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको इभी चार्जिङ स्टेसन, करिब आधा दर्जन जलविद्युत् आयोजनामा समेत क्षति पुर्याएको छ । उत्तरगया गाउँपालिका–१ मैलुङस्थित गल्छी बेत्रावती–स्याफ्रुबेँसी सडकखण्डअन्तर्गत त्रिशूली नदीमा रहेको बेलिब्रिज पनि बगाएको छ भने सोही क्षेत्रमा हालसालै निर्माण गरिएको पक्की पुलमा पनि असर पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ ।
तिब्बतमा गएको पहिरोका कारण नेपालमा बाढी
भोटेकोसी बाढीको कारण तिब्बतको पहिरो भएको खुलेको छ । चिनियाँ सञ्चारमाध्यमहरूले तिब्बतको जिलोङ काउन्टीमा रहेको जिलोङ बन्दरगाह क्षेत्रमा पहिरो गएको बताएका छन् । तर, के कारणले पहिरो गएको हो भन्नेबारे केही पनि खुलाइएको छैन । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले पनि जिलोङ बन्दरगाह क्षेत्रमा पहिरो गएको पुष्टि गरेको छ । उक्त पहिरोमा परेर चीनतर्फ ११ जना र नेपालतर्फ ६ चिनियाँ नागरिक हराएको चिनियाँ सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
बिहान ३ बजेट तिब्बतबाट पसेको बाढी ५ बजे त्रिशूली आइपुग्यो
बाढी पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको बाढीसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार मंगलबार बिहान ३ बजे आसपास भोटेकोसी नदीमा तिब्बत क्षेत्रबाट एक्कासि ठुलो बाढी प्रवेश गरेको देखिन्छ । जसअनुसार रसुवागढी नाकाबाट केही तल रसुवा–टिमुरेस्थित जलविद्युत् आयोजनामा रहेको स्वचालित जलमापन केन्द्रको तथ्यांकअनुसार बिहान ३ः१० बजे उक्त स्थानमा जलसतह एक्कासि करिब ३.५ मिटर बढेको थियो । रसुवागढी नाकाबाट करिब १३ किलोमिटर तल विभागको रसुवास्थित स्याफ्रुबेंसी स्वचालित जलमापन केन्द्रमा बिहान ३ः३० बजे एक्कासि बहाव बढेको देखिन्छ ।
उक्त केन्द्रमा बिहान ३ः३० बजे ३.६५ मिटर रहेको जलसतह एक्कासि ३ः४० बजे ५.३७ मिटर पुगेको र तत्कालै केन्द्रबाट तथ्यांक सम्प्रेषण बन्द भएको देखिन्छ । उक्त केन्द्रका गेजरिडरसँग बिहान ६ बजे आसपास सम्पर्क हुँदा जलमापन केन्द्र नै बगाएको जानकारी प्राप्त भएको थियो । प्रतिवेदनअनुसार रसुवागढी नाकाबाट करिब ४१ किलोमिटर तल विभागको नुवाकोटस्थित त्रिशूली वेत्रावती स्वचालित जलमापन केन्द्रमा बिहान ५ बजे १.६० मिटर रहेको जलसतह एक्कासि बिहान ५ः१० बजे ३.६३ मिटर पुगेको र उच्चतम जलसतह बिहान ५ः५० बजे ४.१८ मिटर पुगेको थियो ।
त्यसपछि बिहान ६ः३० बजे सरोकारवाला तथा तटीय क्षेत्रका नागरिकलाई एसएमएसमार्फत् सूचना जारी गरिएको थियो । तटीय क्षेत्रमा बाढीको असर आकलनका लागि बिहान ७ बजे एसिया–प्यासिफिक क्षेत्रका लागि विकसित गरिएको अन्तरिक्षमा आधारित सेन्टिनल एसिया प्लेटफर्ममा तत्कालीन अवस्थाको स्याटेलाइट तस्बिरका लागि अनुरोध गरिएको थियो ।
प्रारम्भिक रूपमा बाढीको ठुलो प्रभाव रसुवाको भोटेकोसी तथा त्रिशूली नदी तटीय क्षेत्रमा तथा मध्यम प्रभाव नुवाकोटको त्रिशूली नदी तटीय क्षेत्रमा परेको तथा सामान्य प्रभाव धादिङको बूढीगण्डकी दोभान (बेनिघाट) आसपाससम्म परेको प्रतिवेदनमा उल्लेख छ ।
०००
करिब २५० मेगावाटका जलविद्युत् आयोजनामा क्षति
बाढीका कारण त्रिशूली नदी करिडोरमा रहेका जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ । आयोजनाहरूमा बाढीले क्षति पुर्याएपछि सम्भावित जोखिमबाट बच्न उक्त क्षेत्रका अन्य केही आयोजना पनि बन्द गरिएको छ । जसकारण २५० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजना बन्द भएका छन् । प्राधिकरणका अनुसार रसुवागढी जलविद्युत् आयोजना, बेनी हाइड्रोपावर, चिलिमे, त्रिशूली–३ए र ‘त्रिशूली–३बी’मा बाढीले प्रत्यक्ष असर पुर्याएको छ ।
बाढीले १११ मेगावाटको रसुवागढी जलविद्युत् केन्द्र तथा यसको बाँधलगायत संरचनामा क्षति पुर्याएको र क्रेनलगायत संरचना बगाएको छ । त्यस्तै, बाढीले नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरिरहेको ६० मेगावाटको ‘त्रिशूली–३ए’को बाँध नै बगाएको छ । ३७ मेगावाटको ‘त्रिशूली–३बी’को हब सबस्टेसनमा पनि बाढी पसेपछि बन्द गरिएको छ भने २१ मेगावाटको तल्लो त्रिशूली आयोजना र १९ मेगावाटको बेनी हाइड्रोपावरको उत्पादन पनि ठप्प छ ।
नुवाकोटमा रहेको २१ मेगावाट क्षमताको तल्लो त्रिशूली जलविद्युत् आयोजनाको पनि बाढीकै कारण उत्पादन रोकिएको छ । त्यस्तै, रसुवामा रहेका चिलिमे, सान्जेन, रसुवागढी जस्ता अन्य आयोजनामा पनि क्षति पुगे पनि यकिन विवरण भने आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
८ जनाको शव भेटियो, १९ जना अझै बेपत्ता
मंगलबार रातिसम्म प्राप्त जानकारीअनुसार बाढीमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार रातिसम्म ८ जनाको शव फेला परेको छ भने १९ जना बेपत्ता छन् । बेपत्ता हुनेमा ११ जना नेपाली सर्वसाधारण, २ जना प्रहरी र ६ जना चिनियाँ नागरिक छन् । त्यस्तै, विभिन्न ठाउँबाट ४ महिला र ५१ पुरुष गरी ५५ जनाको उद्धार गरिएको छ । जसमा ५० नेपाली, ४ भारतीय र १ चिनियाँ नागरिक छन् ।
बाढीले रसुवाका ४ वटा स्थानीय तहका विभिन्न क्षेत्रमा असर गरेको छ । जसमा गोसाइँकुण्ड–१, २ र ३, आमाछोदिङमो गाउँपालिका–१, २, ४ र ५, उत्तरगया गाउँपालिका–२, ४ र ५ तथा कालिका गाउँपालिका–१ प्रत्यक्ष प्रभावित भएका छन् ।
तिब्बतमा भारी वर्षा, सिन्धुपाल्चोकमा हाइअलर्ट
मंगलबार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले त्यहाँको भोटेकोसी र सुनकोसीमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेकाले त्यसको असर नेपालको भोटेकोसी र सुनकोसीमा पर्ने भन्दै चिनियाँ अधिकारीहरूको सूचनाका आधारमा प्रशासनले सतर्क रहन भनेको हो ।
चिनियाँ राजदूतसहित प्रधानमन्त्री पुगे बाढी प्रभावित क्षेत्र
मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल पनि गरेका छन् । प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरूको स्थिति, नेपाल–चीन सिमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, मालवाहक कन्टेनर बगाउँदा भएको क्षतिबारे चासो राख्दै सबै निकायलाई राहत तथा पुनस्र्थापनाका लागि निर्देशन दिएका थिए ।
प्रधानमन्त्री ओलीसँगै अर्थमन्त्री विष्णुु पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जामन्त्री दीपक खड्का, ४ वटै सुरक्षा निकायका प्रमुख, मुख्यसचिव एकनारायण अर्याल तथा नेपालका लागि चिनियाँ राजदूत छन सोङ प्रभावित क्षेत्र पुगेका थिए ।
रसुवा बगिरहँदा धुलिखेलको रिसोर्टमा थिए सिडिओ र डिएसपी !
२ साताअघि सिडिओ आफैँले जारी गरेका थिए बाढी जोखिमको सूचना
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रसुवाले गत असार १० गते सूचना जारी गर्दै बाढीको जोखिम भएकाले तटीय क्षेत्रमा पूर्वतयारी अपनाउन भनेको थियो । तर, आफैँले नागरिकलाई सचेत गराउन विज्ञप्ति जारी गर्न लगाएका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल भने त्यसको १० दिनपछि काठमाडौँ आएका थिए । उनीसँगै जिल्ला प्रहरी प्रमुख डिएसपी हेम शाही पनि जिल्लामा थिएनन् ।
बाढीले क्षति पुर्याएको सूचनापछि उनीहरू धुलिखेलबाट काठमाडौँ हुँदै हेलिकोप्टरबाट जिल्ला फर्किएका थिए । उनीहरू दुवै जना गृह मन्त्रालयकै अनुमतिमा गृह मन्त्रालयले नै आयोजना गरेको र बाग्मती प्रदेश सरकार पनि सहभागी भएको सुरक्षा गोष्ठीमा सहभागी हुन धुलिखेल आएका थिए ।
बाग्मती प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लामा नेतृत्व गरिरहेका प्रहरी प्रमुखहरू गोष्ठीमा सहभागी थिए । बाढीपहिरोको समयमै गृह मन्त्रालयले सुरक्षा गोष्ठी राख्नुले गृह मन्त्रालयमाथि नै प्रश्न तेर्सिएको छ । मनसुनको समयमा जिल्ला छाडेर नजान भन्दै सिडिओहरूलाई निर्देशन दिएका गृहमन्त्री लेखककै निर्देशनमा सिडिओहरूलाई जिल्लाबाहिर बोलाएर गोष्ठी गर्नुले लेखकको नेतृत्वमा रहेको मन्त्रालयमाथि नैतिक प्रश्न उठेको छ ।
बाढीपहिरोबारे पूर्वसूचना भएका प्रमुख जिल्ला अधिकारी नै बच्ने र बचाउने तयारीमा लाग्न छाडेर जिल्लाबाहिर हुनुमा गृह प्रशासनको पनि कमजोरी देखिन्छ । जिल्लावासीलाई भीषण बाढीको पूर्वसूचना दिएर जिल्लाको नेतृत्व लिएका दुवैजना गोष्ठीका नाममा जिल्ला बाहिर रहनु र मनसुनजन्य विपद्को जोखिममा रहेका जिल्लाका प्रतिनिधिलाई नै बोलाउनुले गृह प्रशासनको काम गर्ने शैलीमाथि पनि प्रश्न उठेको छ ।
यी हुन् बेपत्ता भएका १९ जना
नेपाली नागरिक
प्रतिक्रिया