टेलिकमकी निलम्बित एमडी पहाडीसँग २ लाख धरौटी माग

काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक (एमडी) संगीता पहाडीलाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । भ्रष्टाचार मुद्दामा उनलाई मंगलबार न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

नेपाल टेलिकमको बिलिङसम्बन्धी वार्षिक मर्मतसम्भार ठेक्का (एएमसी)का क्रममा भ्रष्टाचार गरेको आरोपमा पहाडीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

उनी प्रबन्ध निर्देशक भएका बेलामा नयाँ बिलिङ प्रणाली खरिद प्रक्रिया अघि नबढाई बदनियतसाथ ६ वर्षको वार्षिक मर्मतसम्भार सम्झौता गरेको अख्तियारको दाबी छ । अख्तियारले उनीलगायत १८ जनाविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।

प्रतिक्रिया