नमोबुद्धमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

काभ्रे । नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फी डाँडामा मंगलबार साँझ भएको सडक दुर्घटनामा दुई युवकको मृत्यु भएको छ । स्थानीयस्तरमै शोकको लहर फैलिएको यो दुर्घटना स्कुल बस र मोटरसाइकल एकापसमा ठोक्किँदा भएको हो ।

नमोबुद्धबाट भकुण्डेबेसीतर्फ गइरहेको बा ४ ख ७१ नम्बरको ‘सगुन विद्या मन्दिर’को स्कुल बस र विपरीत दिशाबाट आउँदै गरेको बा ७१ प ६८८० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

ठक्करबाट मोटरसाइकल चालक र पछाडि सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरूलाई तत्काल उपचारको लागि धुलिखेल अस्पताल पुर्याइएको थियो ।

दुवैको उपचारको क्रममा निधन भएका दुई युवामध्ये २३ वर्षीय पासाङ तामाङ र २२ वर्षीय विजय तामाङ मोबुद्ध नगरपालिका–२ कै स्थायी बासिन्दा हुन् । अस्पताल पुर्याएपछि चिकित्सकले भरपुर प्रयास गरे पनि उपचारकै क्रममा दुवैको ज्यान गएको अस्पताल स्रोतले जनाएको छ ।

उत्तल दुर्घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ । मृतक दुवै जना युवाहरु सामाजिक रूपमा सक्रिय र मिलनसार स्वभावका थिए भन्ने स्थानीयहरू बताउँछन् । एकै वडाका दुई युवाको एकैचोटि निधन भएपछि नमोबुद्ध–२ मा सिंगो वडामै शोकको छायाँ छाएको छ ।

प्रहरीका अनुसार दुर्घटनापछि बस चालकलाई नियन्त्रणमा लिइएको छ भने दुर्घटनाको थप अनुसन्धान भइएको छ । प्रारम्भिक विवरणमा तीव्र गतिले चलिरहेको मोटरसाइकल अनियन्त्रित भएर बसमा ठोक्किएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया