पत्रकार मण्डलकाे पहलमा बन्याे भुजेल परिवारको घर

सिरहा । सिरहाका पत्रकार बिनोद मण्डलको प्रयासले धनगढीमाई १२ गडमें दोभानका भुजेल परिवारले नयाँ घर प्राप्त गरेका छन् । धनगढीमाई १२ गडमें दोभा स्थित पत्रकार मण्डलले स्थानीय करिब ७५ वर्षीय सहाराविहिन काले भुजेल र घुस्की भुजेलले नयाँ घर पाएका हुन् ।

पत्रकार मण्डलले घरको छानो माटोको टायल र त्रिपालले छाएको बिजोग अवस्थाको घरको तस्बिर सामाजिक सञ्जालमा राखेर ‘घर निर्माण अभियान’ थालेका थिए । सहयोगी हातहरूबाट प्राप्त करिब ४६ हजार ५ सय ५ रुपैयाँबाट घर निर्माण सम्पन्न गरिएकाे हाे ।

धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतोको प्रमुख आथित्य र वडाध्यक्ष जयप्रकाश शर्माको अध्यक्षतामा स्थानीय समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थितिमा विधिपूर्वक पण्डितबाट मन्त्रोच्चारण सहित पूजापाठ गरी मेयर महतोले भुजेल परिवारलाई घर हस्तान्तरण गर्दै गृह प्रवेश गराएका छ्न् ।

कार्यक्रममा बोल्दै मेयर महतोले घरमा किचेनको लागि आफूले २० हजार रकम उपलब्ध गराउने बताए । गाउँ टोलको समस्याहरू उठाई रहेको भन्दै पत्रकार मण्डललाई बधाई तथा शुभकामना दिए ।

घर पाए पछि भुजेल परिवारले स्थानीय पत्रकार मण्डल र सहयोगी सबैप्रति आभार व्यक्त गरे ।

करिब ११ दिनमा निर्माण सम्पन्न भएको उक्त घर निर्माण भएपछि पत्रकार मण्डलको चौतर्फी चर्चा भइरहेको छ । घरको हालत देखेर पत्रकार मण्डल ढुङ्गा, बास अर्थात् आवस्यक घर निर्माणको सामाग्री बोक्दै आएका थिए ।

प्रतिक्रिया