मकवानपुरको कैलाश गाउँपालिकाले ल्यायो ४८ करोड ७८ लाखको बजेट

काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४८ करोड ७८ लाख ६७ हजार रुपैयाँको बजेट ल्याएको छ ।

सोमबार सम्पन्न कैलाशको १४औँ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि ४८ करोड ७८ लाख ६७ हजार रुपैयाँ अनुमानित आय र व्ययको विवरण पेस गरेका हुन् । कैलाशले चालू वर्षको तुलनामा गाउँपालिकाको ३ करोड बढी रकम घटाएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेटमा ३ करोड ६३ लाख ८७ हजार रुपैयाँ घटाएर विनियोजन गरेको छ । कैलाशले चालु वर्षका लागि ५२ करोड ४२ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरी कार्यान्वयन गरिरहेको छ ।

गाउँपालिकाले आगामी वर्ष कृषि विकासतर्फ ९० लाख ५१ हजार रुपैयाँ, उद्योग विकास तर्फ ३१ लाख रुपैयाँ, पर्यटनतर्फ ५४ लाख रुपैयाँ, सिँचाइतर्फ ५७ लाख ३५ हजार रुपैयाँ, पशुपन्छी विकासतर्फ २२ लाख ७२ हजार रुपैयाँ र आर्थिक विकासतर्फ ३ करोड २७ लाख २९ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसैगरी मनहरी खोला पक्की पुल देखि नामटार कालिकाटार सडकको स्ल्याब ढलान तथा कालोपत्रेका लागि बहुवर्षीय योजना अन्तर्गत संघको ६५ लाख रुपैयाँ र पालिकाको ७० लाख गरी १ करोड ३५ लाख रुपैयाँ, यातायात पूर्वाधार विकासतर्फ ९ करोड ४४ लाख ५० हजार रुपैयाँ, युवा तथा खेलकुदतर्फ ४० लाख ५० हजार रुपैयाँ, भाषा तथा संस्कृति प्रवर्द्धनमा १४ लाख ५० हजार रुपैयाँ, शिक्षातर्फ १५ करोड ३२ लाख ८१ हजार रुपैयाँ र चेली प्रोत्साहन कार्यक्रमका लागि ४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष ठकुरीले बताए ।

प्रतिक्रिया