काठमाडौं : ‘साइकल प्रयोग गरी पेट्रोल र वातावरण बचाऔँ, काठमाडौंको ट्राफिक जाम हटाऔँ’ भन्ने नाराका साथ काठमाडौंमा साइकल र्याली गरिने भएको छ ।
विश्व साइकल यात्री सौरभ दाहाल फाउन्डेसनको आयोजनामा आगामी २५ चैतमा र्याली गरिने कार्यक्रम संयोजक सुनीलराज दाहालले बताए । तीनकुनेबाट सुरु हुने र्याली भक्तपुरको सूर्यविनायक पुगेर टुंगिनेछ । कार्यक्रमले हरेक नेपालीलाई ‘स्वास्थ्यका लागि साइकल चढ्नुपर्छ’ भन्ने सन्देश दिने उनले बताए । र्यालीमा एक हजारभन्दा बढीको सहभागिता रहने विश्वास आयोजकको छ ।
र्यालीमा सहभागी हुन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि निम्तो दिइएको छ । ६ वर्षअघि विश्व शान्तिका लागि शिक्षा र वातावरणको महत्त्वको सन्देश बोकेर साइकल यात्रा सुरु गरेका दाहाल विभिन्न देशमा नेपालबारे सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् । अहिलेसम्म उनले विश्वका ५८ देशको साइकल यात्रा गरिसकेका छन् । (सौस)
प्रतिक्रिया