अर्थतन्त्रसँगै ‘जल्दै छ’ इकोसिस्टम !

आगलागीले आक्रान्त देश

काठमाडौँ । पछिल्लो समय देशका अधिकांश स्थानका वनमा डढेको लागेको छ । वनदेखि बस्तीसम्म फैलिएको आगोका कारण व्यक्तिका ज्यानदेखि करोडौँको धनमाल जलेका समाचार छिनछिनमै आइरहेका छन् । आगलागीका कारण सामान्यतया व्यक्तिका घरगोठ, पशुचौपाया र धनमाल मात्रै जलेको देखिए पनि यसले देशकै अर्थतन्त्रमा व्यापक धक्का दिइरहेको सरोकारवालाहरू बताउँछन् । हरियो वन, नेपालको धन भनेर वनजंगललाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड मानिएकामा त्यही वनजंगल आगोले सखाप बनाउँदा कति क्षति भइरहेको छ भन्ने तथ्यांक राज्यसँग पनि छैन ।

वनमा काटेर संकलन हुन नसकेका काठ दाउरा, ढलापढा तथा सुखड खडा रूख, बहुमूल्य जडीबुटी जल्दा राज्यले कल्पनै गर्न नसकिने क्षति बेहोरिरहेको छ । अर्कातर्फ जंगलमा लागेको आगोले कतिपय वन्यजन्तु जलेर मरेका छन् भने जिउँदा रहेका वन्यजन्तुको आहारा जल्दा तिनीहरू भोकभोकै मर्नुपर्ने अवस्थामा पुगेका छन् । जंगलमा भएको आहारा आगोले खाइदिएपछि वन्यजन्तु आहाराको खोजीमा बस्ती पस्दा अर्को आतंक सिर्जना भइरहेको छ । वासस्थान र आहाराको खोजीमा गाउँ पसेको जीवजन्तुका कारण मानिसले लगाएको खेतीबालीदेखि मानव जीवनसम्म जोखिममा परिरहेको छ ।

बढ्दो गर्मीसँगै लागेको डढेलो नियन्त्रणको प्रयास पनि विफल भइरहेको छ । ह्वारह्वार्ती बलेको जंगलको वा घरमा लागेको आगो निभाउन राज्यसँग पर्याप्त स्रोत साधन छैन । आवश्यक मात्रामा दमकल र अन्य साधन नहुँदा बाल्टीबाट पानी छ्यापेर र स्याउलाले छोपेर आगो निभाउनुपर्दा विकराल अवस्था बन्दै गइरहेको छ ।

खडेरीसँगै चलेको हावाका कारण डढेलो फैलाउन मद्दत गरिरहेको र ठुलो पानी पनि नपरेका कारण अझ भयावह बन्दै गएको बताउँछन् डढेलोविद् सुन्दर शर्मा । मंगोलिया भ्रमणको अन्तिम तयारीमा रहेका शर्माले आगलागीका कारण देशै आक्रान्त बनिरहेका कारण भ्रमण नै क्यान्सिल गरे ।

विभिन्न प्रयोजनका लागि थोरै पटक आउने विदेश भ्रमणको अवसर जोकोहीले गुमाउन चाहँदैनन् । तर, डढेलोविद् शर्मा भने पक्का भइसकेको विदेश भ्रमण रोकेर डढेलोबारे जानकारी दिँदै बसेका छन् । उनीजस्तै धेरै जना डढेलोका बारेमा विज्ञता भएकाहरू पत्रकार र सर्वसाधारणलाई आगलागीबारे जानकारी दिनबाट फुर्सद पाइरहेका छैनन ।


‘विभिन्न स्थानका लागिरहेको डढेलोले देश नै जलिरहेको छ, म कसरी विदेश जान सक्छु र ?,’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा डढेलो विज्ञको रुपमा काम गरिरहेका शर्माले भने, ‘आजभोलि त निद्रा नै राम्रोसँग लाग्दैन । कतै डढेलेले ज्यानै लिएको छ त कतै चराचुरुंगी र वन्यजन्तु डढेलोसँगै तितरबितर छन् त कतै जंगलका काठ चलेर राज्यको अथाह सम्पत्ति खरानी भइरहेको छ ।’

उनका अनुसार देशभर वन डढेलोको अवस्था झन्झन् विकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार मात्रै ५३ जिल्लाका ४३६ स्थानका वनमा डढेको सल्किएको छ । बुधबार ३९ जिल्लाका १६५ स्थानमा लागेको आगो एकैदिनमा यतिविधि फैलिएको हो ।

जंगलको आगो कतिबेला कुन बस्तीमा छिरेर बस्ती नै खरानी बनाउँछ भन्ने चिन्ता व्याप्त छ । जंगलछेउका बस्तीका नागरिक रातभर निदाउन सकेका छैनन् । जंगलको आगो आएर घर जलाउने चिन्तामा उनीहरू पानीका बाल्टी र स्याउला बोकेर घरवरिपरि ‘रेकी’ गरिहेका छन् ।

डढेलो विज्ञ शर्माका अनुसार गत मंगलबार बिहान साढे ११ बजेतिर प्राधिकरणमा ललितपुरको गोदावरी नगरपालिका–६ आनन्द वनमा डढेलो फैलिएको खबर आयो । नजिकै रहेको कुष्ठरोग अस्पतालसमेत जोखिममा रहेको सूचना पाउनासाथ शर्मासहितको टोली आगो नियन्त्रणका लागि ललितपुर गयो ।

‘जंगलको आगोबाट अस्पताललाई कसरी सुरक्षित गरेर राज्यको सम्पत्ति जोगाउने भन्ने चिन्ता भयो,’ शर्माले भने, ‘लेलेतर्फको जंगलमा लागेको डढेलो फैलिँदै आनन्द वनसम्म आइपुगेको रहेछ । हामीले पोर्टेबल फायर ड्रोन, पोर्टेबल फायर पम्प र ४ वटा दमकलको सहायताले बल्लतल्ल आगो निभायौँ ।’

ललितपुरका विभिन्न स्थानमा लागेको डढेलो कतै नियन्त्रणमा आयो भने कतै अझै बाँकी छ । डढेलोकै कारण गोदावरी–४ बडीखेलस्थित तपेश्वरमा लागेको डढेलो निभाउने क्रममा २ जनाको मृत्यु भयो ।

शर्माका अनुसार नेपालमा साधारणतया वर्षमा २५ सयको हाराहारीमा डढेलोका घटना हुन्छन् । ८० प्रतिशत वन डढेलोका घटना फागुनको मध्यदेखि जेठको मध्यसम्म हुने गर्छन् । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलो लाग्ने गरेको उनको भनाइ छ ।

डढेलोका कारण जंगलमा लागेको आगोले चराचुरुंगी र अन्य वन्यजन्तु पनि जलेका छन् । उनीहरूको बासस्थानमै खलल पुगेको छ, काठ, दाउरा, जडीबुटी पनि डढेलोका कारण क्षति पुगेको डिभिजन वन कार्यालय ललितपुरका वन अधिकृत थीरप्रसाद कोइराला बताउँछन् ।

यस्तै, गत चैत १९ गते रौतहट गैँडाटारको राष्ट्रिय वनमा डढेलो लाग्यो । डढेलोको खबर पाउनासाथ डिभिजन वन अधिकृत शैलेन्द्र मिश्रसहितको टोली जंगलसँगै जंगल आसपासमा रहेका काठदाउरा सुरक्षित गर्न भन्दै रणनीतिमा जुट्यो । सर्लाहीको हरिवन, बाराको निजगढ, गौर र चन्द्रपुर नगरपालिकाबाट ४ वटा दमकल बोलाइयो । जति प्रयास गरे पनि आखिर खेरै गयो । उनीहरूका आँखैअगाडि घाटगद्दी गरिएका करोडौँ मूल्यका काठ र दाउरा जलेर खरानी भयो ।

यसैगरी, चैतको दोस्रो साता मधेस प्रदेशस्थित वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले महत्तरीस्थित गौशाला नगरपालिका–११ को राष्ट्रिय वनमा आगो लागिरहेको र काठ जलिरहेको भन्ने खबर मन्त्रालय मातहतको डिभिजन वन कार्यालय महोत्तरीलाई पठाए । त्यसपछि महोत्तरीका डिभिजन वन अधिकृत सन्तोष झासहितको टोली जलिरहेको काठ बचाउन जंगलतिर लाग्यो ।

आगो नियन्त्रणका लागि निरन्तर २८ घन्टा खटिएको अनुभव अधिकृत झासँग छ । तर, प्रयास विफल भयो । डेढ करोड रुपैयाँभन्दा बढी मूल्यको काठ र दाउरा उनीहरूले जोगाउन सकेनन् ।

नेपाल–भारतबीच विद्युत् व्यापारका लागि निर्माण गरिएको हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणका क्रममा ६ वर्षअघि काटिएको काठ बिक्री हुन नसक्दा जंगलमै राखिएको थियो ।
पहिले तस्करीबाट जोगाएको काठ आज डढेलोले आँखैअगाडि खरानी बनाएको धादिङका डिभिजनल वन अधिकृत विष्णु आचार्य बताउँछन् । ‘कतिपय जिल्लामा जंगलभित्र काटेर राखिएको काठ बिक्री भएका छैनन् ।

कतिपय स्थानका ढलापढा तथा सुखडखडा काठहरू यत्तिकै छन् । पातपतिंगर उत्तिकै छन्,’ उनले भने, ‘अनि यसले जंगलको आगो छिटो फैलाएको छ र जंगलमा रहेका काठदाउरा, वन्यजन्तु तथा अन्य जैविक विविधताको संरक्षण कसरी गर्ने ? भन्ने चुनौती छ ।’

सुख्खायाम बढेसँगै मुलुकका विभिन्न स्थानमा लागिरहेको वन डढेलोको कारण देशका विभिन्न स्थानमा आगलागीका घटना बढिरहेका छन् । वन तथा वातावरण मन्त्रालयका अनुसार डढेलोका कारण के–कति काठ जले भन्ने यकिन तथ्यांक आइनसकेको जानकारी गराएको छ । डढेलोका कारण वन क्षेत्रमा कटान गरी राखिएको काठ र ढलापढा तथा सुखड काठ वन डढेलोबाट जोगाउन मुस्किल रहेको अन्य डिभिजनल वन अधिकृतहरूको पनि गुनासो छ ।

कोसी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले पनि डढेलो नियन्त्रणमा आउन नसक्दा वन क्षेत्रभित्र रहेका काठ जोगाउन चुनौती थपेको बताउँछन् । ‘वन डढेलो नियन्त्रणका लागि हामीले जनचेतनामूलक कार्यक्रमहरू गर्दै त आइरहेका छौँ, यसो हुँदाहुँदै पनि वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रण हुन सकिरहेको छैन,’ उनले भने, ‘डढेलो नियन्त्रणका नीति कार्यान्वयनमा केन्द्रीय सरकार र स्थानीय तहसँगको सहकार्य जरुरी छ ।’


कपिलवस्तुका डिभिजनल वन अधिकृत विजय सुवेदीले पनि वन क्षेत्रमा लाग्ने डढेलोका कारण काठ दाउरा जोगाउनै मुस्किल भइरहेको बताए । ‘वन डढेलोका घटनाबाट कसरी काठ र दाउरा जोगाउने भन्ने नै अहिलेको मुख्य चुनौती हो,’ उनले भने, ‘वन डढेलो धेरैजसो मानवीय कारणले लाग्ने भएकाले नियन्त्रणका लागि हामीले सिसी क्यामेरा जडानलाई प्राथमिकता दिएर अगाडि बढेका छौँ ।’

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) का अध्यक्ष ठाकुर भण्डारी वन क्षेत्रका काठले बजार नपाउँदा डढेलोसँगै जलिरहेको बताउँछन् । ‘हामीले समयमा नै वनको काठ बाहिर बजारमा ल्याउनुपर्छ भनेका थियौँ । तर, काठले बजार नपाउँदा बजारमा नआउने, उता विदेशी काठ आयात गर्नुपर्ने यो कस्तो बिडम्बना हो ?’ प्रतिप्रश्न गर्दै उनले भने, ‘डढेलो नियन्त्रणका प्रभावकारी कार्यक्रम गर्न सामुदायिक वन कार्ययोजना परिमार्जन, वन उद्यम विकास गरेर वन पैदावारको सदुपयोग, तालिम गोष्ठी सञ्चालन, नियन्त्रणका पर्याप्त आधुनिक औजारहरूको व्यवस्था हुनु जरुरी छ ।’

वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपक खरालले पछिल्लो समय बढ्दै गइरहेको वन डढेलो नियन्त्रणलाई प्रभावकारी बनाउन आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा डढेलो नियन्त्रणका कार्यक्रमलाई प्राथमिकतामा राखिने जानकारी दिए । ‘अहिले देशका विभिन्न स्थानमा आगलागीका घटनाहरू बढिरहेका छन् । हामीले प्रदेश सरकारसँग पनि समन्वय गरेर डढेलो नियन्त्रणका लागि प्रभावकारी गतिविधि अगाडि बढाउन निर्देशन दिएका छौँ,’ उनले भने ।

मन्त्रालयले डढेलोबाट काठ जोगाउन सुरक्षित सतर्कता अपनाउन भन्दै डिभिजनल वन कार्यालयलाई परिपत्र गरिसकेको थियो । मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाले सबैलाई काठ व्यवस्थापनका लागि परिपत्र गरिसकेको भए पनि काठ दाउरा जल्नु दुःखद् भएको बताए ।

मानिसले जंगलमा आगो लगाएमा कारबाही हुने कानुनी व्यवस्था छ । कडाइका साथ कानुन कार्यान्वयन नहुँदा मानवीय लापरबाहीका कारण वन डढेलो बढेको सराकारवालाहरूको भनाइ छ ।

‘आगो निभाउन हेलिकोप्टर प्रयोग गरौँ’

काठमाडौँ । गृह मन्त्रालयले देशका विभिन्न स्थानका जंगलमा लागिरहेको आगो निभाउन हेलिकोप्टर प्रयोग गर्नुपर्ने प्रस्ताव गरेको छ । गृह सचिव एकनारायण अर्यालले डढेलो नियन्त्रणका लागि हेलिकोप्टरको प्रयोग आवश्यक रहेको भन्दै गृहमन्त्री रवि लामिछानेले मन्त्रिपरिषद्मा यसबारे प्रस्ताव गरेको जानकारी दिए । संघीयता प्रबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपत् व्यवस्थापनबारे ब्रिफिङ गर्दै गृहसचिव अर्यालले डढेलो विश्वव्यापी समस्या भएको र अरू देशमा जस्तै हेलिकोप्टर परिचालन गरेर नियन्त्रणमा लिनु जरुरी रहेको बताएका हुन् ।

डढेलो नियन्त्रणका लागि आवश्यक हेलिकोप्टर अपुग रहेको भन्दै अर्यालले स्रोत सुनिश्चितताका लागि पहल गरिदिन समितिलाई अनुरोध गरे । ‘डढेलो नियन्त्रणका लागि हेलिकोप्टरको आवश्यकता छ । बजेटका लागि समितिबाट निर्देशन भए सजिलो हुन्थ्यो,’ उनले भने ।

अर्यालले विपत्का बेला मात्रै कर्मचारी तात्ने, विपत् सकिएपछि चासो नदिने प्रवृत्ति रहेको भन्दै यसलाई चिर्नुपर्ने बताए । विपद् जोखिम न्यूनीकरणका लागि दक्ष जनशक्ति, स्रोत र उच्च प्रविधियुक्त उपकरणको अभाव रहेको अर्यालको भनाइ थियो ।

उनले भने ‘अरू देशमा आगलागी, डढेलो नियन्त्रणका लागि हेलिकोप्टरबाट आगो निभाउने कार्य भएको हामीले देखिरहेका छौँ । हाम्रोमा पनि त्यो उपकरणको व्यवस्था भइदिए हुन्थ्यो भन्ने मन्त्रालयको अपेक्षा छ । माननीय गृहमन्त्रीज्यूले मन्त्रिपरिषद्मा पनि त्यो कुरा गरिसक्नुभएको छ ।’

प्रतिक्रिया