आगो निभाउन दमकल छैन, जलिसकेपछि राहत र आश्वासनको पोको !

रौतहट । गत साता रौतहटको गढीमाई नगरपालिकाको पकाहा गाउँमा आगलागी हुँदा ७ घर जलेर खरानी भए । लुगाफाटो, खाद्यान्न र अन्य धनमाल घरसँगै जलेर खरानी भए ।

स्थानीयबासीसित मिलेर प्रहरीले आगो निभाउँदै गर्दा एसीसहितको सरकारी गाडी हुइँक्याउँदै नगर प्रमुख श्यामप्रसाद यादव घटनास्थल पुगे । रित्तो हात पुगेका नगर प्रमुखले राहतको रित्तो आश्वासन बाँडेर फर्किए ।
सोही दिन दुर्गा भगवती गाउँपालिकाको मनसरी गाउँमा पनि आगोले आधा दर्जन घर जलाएपछि जनप्रतिनिधिहरू राहत लिएर घटनास्थल पुगे ।

गत बिहीबार रौतहटकै माधवनारायण नगरपालिकाको माधोपुर बिनटोलमा आगो लाग्यो । आगोले आधा दर्जन घर खरानी भए । तत्काल जनप्रतिनिधिहरूले चामल, दाल, आलु र दालमोठ लगेर पीडितलाई बाँडे । अन्य राहतको आश्वासन बाँडेर जनप्रतिनिधिको समूह घटनास्थलबाट फर्कियो ।

गत सोमबार रौतहटकै यमुनामाई गाउँपालिकाको जेठरहिया गाउँ र मंगलवार राजदेवी नगरपालिकाको ब्रह्मपुरीस्थित काली मन्दिर टोलमा आगो लाग्दा दर्जनौँ घर खरानी भए । आगो लागेर निभेपछि तुरुन्त जनप्रतिनिधिहरू राहत लिएर पुगे ।

रौतहटमा मात्र होइन, सर्लाहीमा पनि यही प्रवृत्ति छ । सर्लाहीको धनकौलमा गत मंगलबार आगलागी हुँदा ७ जनाको घर खरानी भएको थियो । आगो नियन्त्रणमा लिन रौतहटको गौरबाट दमकल मगाइए पनि बाटैबाट फर्काइयो ।

गत साता नै बलरा नगरपालिकाको एक गाउँमा आगोले ताण्डव मच्चायो । आगो नियन्त्रणमा लिन रौतहटबाट पनि दमकल मगाइएको थियो । तर, दमकल पुग्दासम्म घरसहित सबै सामान जलेर नष्ट भइसकेको हुन्छ । सबै जलिसकेपछि जनप्रतिनिहरू राहत लिएर तुरुन्तै पुग्छन् ।
सर्लाहीकै विष्णु गाउँपालिकाको बाराउद्योरण गाउँमा भयानक आगालागी भएको छ ।

आगोले ७० घरपरिवारको बिचल्ली बनाएको छ । आगलागी नियन्त्रण गर्न स्थानीयले कलधाराबाट बाल्टीमा पानी ओसारेर ज्यान जोखिममा पारेर आगोमा पानी हाल्नुपर्छ । आगोमा पानी हाल्दा पनि नियन्त्रणबाहिर गएपछि आँखैअगाडि आगोले सर्वस्व जलाउँदै गरेको हेर्नु र छाती पिट्नुको विकल्प छैन ।

यस वर्ष सर्लाही र महोत्तरीमा आगलागीका ठुला–ठुला घटना भइसकेका छन् । सर्लाही र रौतहटका हरेकजसो पालिकामा आगलागीका साना–ठुला घटना भइसकेका छन् । मधेस प्रदेशमा यस वर्ष मात्रै आगलागीका कारण करोडौँको क्षति भइसकेको छ । आगलागीले भौतिक क्षति मात्र पुर्याउँदैन, मानसिक क्षति पनि उत्तिकै पुर्याएको हुन्छ ।

आगलागी पीडित परिवारका बालबालिका, ज्येष्ठ नागरिक तथा गर्भवती र सुत्केरी महिलाका साथै बिरामीलाई हदैसम्मको मानसिक यातना हुन्छ । दिउँसोको चर्को घाम, तातो हावा र छारो, साँझका बेला लामखुट्टे र जतिखेर पनि सर्पको डरले चिन्तित बनाइरहन्छ ।

बाराउद्योरणमा स्थानीय सामुदायिक विद्यालयमा पीडितहरूका लागि खाने र बस्ने व्यवस्था मिलाइएको छ । तर, सहानुभूति पाउने वर्गको हालत अकल्पनीय पीडादायी छ ।

स्थानीय सरकारका जनप्रतिनिधिहरू राहत वितरण गर्छन् र फोटो खिचाउँछन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अग्निपीडितलाई घर बनाइदिने कोरा आश्वासन त बाँडेका छन् । तर, कहाँ–कहाँ र कसलाई घर बनाइदिने भन्ने निश्चित छैन ।

जनप्रतिनिधिहरूको राहत र आश्वासनको बाढीमा पीडितहरूलाई भने रत्तिभर विश्वास छैन । किनभने नेताहरू जति बोल्छन्, पूरा गर्दैनन् । नेताको बोलीमा विश्वास हराइसकेकाले विश्वास गर्न नसकेको रौतहटको गढीमाई नगरपालिका पकाहा गाउँका अग्निपीडित बताउँछन् ।

सर्लाही बलराका एक पीडित भन्छन्, ‘जनप्रतिनिधिहरू राहत लिएर उपस्थित हुन्छन् । तर, आगो लागेपछि तुरुन्त निभाउन वारुणयन्त्र (दमकल) को व्यवस्था गर्दैनन् ।’
रौतहट सदरमुकामसमेत रहेको गौर नगरपालिकाको वारुणयन्त्रलाई एकछिन पनि फुर्सद छैन । अहिले तिन सिफ्टमा अग्नि नियन्त्रक टोली परिचालन गरिएको छ । रौतहट र सर्लाही गरी २ जिल्लामा कुदिरहनुपर्छ ।

संयोग नै भनौँ, हालै रौतहट र सर्लाहीमा ठुला आगलागी भएका कुनै पनि पालिकामा वारुणयन्त्र छैन । हरेक पालिकामा बर्सेनि लाखौँ रुपैयाँको धनमाल जलेर खरानी हुने गरेको छ । जनप्रतिनिधिहरू राहत बाँड्छन्, तर वारुणयन्त्र किन्नेतर्फ कसैको ध्यान पुगेको छैन ।
रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादवले आफ्नो पालिकासित सिमाना जोडिएका ३ पालिकासित सहकार्य गरी वारुणयन्त्र किन्ने योजनासहित छलफल गरेको भए पनि सफल हुन नसकेको बताए ।
वारुणयन्त्र किन्न प्रदेश सरकारले पनि प्राथमिकता दिएको छैन । घर बनाउँदा घरको शिलान्यासदेखि उद्घाटनसम्म फोटो खिचाउन पाउने र घर बनाइदिएको भन्दै भोट बैंक बनाउनेतिर प्रदेश सरकारको नेतृत्व गर्नेहरूको ध्यान केन्द्रित भएको स्थानीयको आरोप छ । स्थानीय तह र प्रदेश सरकारले सहकार्य गरेर हरेक पालिकामा अनिवार्य एउटा वारुणयन्त्रको व्यवस्थापन गर्नुपर्नेमा त्यता ध्यान नदिएको उनीहरूको गुनासो छ ।

वारुणयन्त्र खरिद र सञ्चालन गर्न रेडक्रस सोसाइटी, मानव अधिकार आयोगलगायत संघसंस्थाले प्रदेश सरकार र स्थानीय सरकारलाई घचघच्याउनुपर्ने सरोकारवालाहरू बताउँछन् । रौतहटको गौर र चन्द्रपुरमा गरी २ तथा सर्लाहीमा पनि जम्मा २ वटा वारुणयन्त्र छन् । मध्य रौतहट तथा मध्य सर्लाहीमा एउटा पनि वारुणयन्त्र नहुँदा दूरदराजमा आगलागीका घटना हुँदा वारुणयन्त्र पुग्दासम्म ढिलो भइसकेको हुन्छ । वारुणयन्त्र किन्न र दुरुस्त राखी परिचालन गर्न संघ सरकारले पनि समन्वय गर्नुपर्ने आवश्यकता रहेको स्थानीय सरोकारवालाको भनाइ छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया