मुगु । चिसो छल्न रारा आएका पाहुना चराहरुको गणना गरिएको छ । रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुले सोमबार नेपालकै ठूलो ताल रारामा चिसो छल्न आएका पाहुना चराहरुको गणना गरेको हो । गणना कार्यमा निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती समितिका पदाधिकारी र स्थानीयहरुको सहयोग सहभागिता रहेको थियो ।
चरा गणना गर्न निकुन्जले ४ वटा समूह बनाएर चराहरुको सधैँ बसोबास गर्ने र तैरिने तालका निश्चित ठाउँहरुमा खटाइ सोमबार बिहान ९ बजेदेखि ११ बजेसम्म गणना गरिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए ।
चारवटै टोलीले ल्याएका चराहरुको संख्या, प्रजातिहरुलाई छुटाउँदा यो मौसममा साइवेरिया, मानसरोवरबाट चिसो छल्न सोमबारसम्म कोम्मोन कोड (मरुल) १७८, टुप्टेड डक (कालिजुरे हाँस ८१, खोया हास ३, हरियो टाउके हाँस १, सुनजुरे हास ११७ र सिउरी डुबुल्के हास १२ गरि कुल ३९२ पाहुना चरा रारा आएको पाइएको वरिष्ठ संरक्षण अधिकृत घिमिरेले बताए ।
घिमिरेका अनुसार चिसो छ्ल्न सयौँ चराहरु कयौँ माइलको यात्रा गर्दै रारा आउने क्रममा कयौँ चराको समूहबाट छुटेर, बाटो बिराएर, थाकेर बाटोमै मृत्यु हुने गरेको र पुस, माघ महिनामा रारामा पुगेका पाहुना चराहरु ४–५ महिनाको रारा बसाइपछि फर्किन्छन् । चरा गणना २०१२ का अनुसार रारा राष्ट्रिय निकुन्जमा २७२ प्रजातिका चराहरु पाइने एकीन गरिएको थियो भने यसमध्ये ४९ प्रजाती चराहरु पानी चरा रहेका थिए ।
पुस र माघको चिसोमा रारा तालको पानी तातो हुने, पर्याप्त आहारा पाइने भएकाले चराहरु रारा आउने गरेका हुन् । पाहुना चराहरु निकुञ्जको मिलीचौर, ठाकुरज्यू मन्दिर, ओखरबोट, निजार क्षेत्रमा खोया हाँस, कपनकुट लगायतका चरा प्रशस्त देख्न सकिन्छ । तालमा मिसिएका स–साना हिमखोलातिर पनि यी चराहरु उक्लिने गरेका छन् । चराहरु राति बास बस्न ताल नजिकका ढुंगेओढार, रूखमा आउने गरेका छन् ।
मंसिर सुरु भएपछि राराको तालदेखि जंगल क्षेत्रमा विभिन्न प्रकारका ठूला–साना चराचुरिंगी देखिनुका साथै चिरविर चिरविरको आवाज सुनिने गरेको मुर्मा गाउँका स्थानीय नन्दसिंह रोकायाले बताए । प्रत्येक वर्ष विश्वका विभिन्न चिसो ठाउँहरुबाट चिसो छल्न रारामा विभिन्न प्रजातिका पाहुना चरा आउने गरेका छन् । कुन वर्ष कति पहुना चरा आए भनेर निकुञ्जले चराहरुको गणना गर्ने गर्दछ ।
मुगु
प्रतिक्रिया