जनकपुरधाम । धनुषाको सबैला नगरपालिका मेयर कारीराम यादवको खातामा ५० हजार रुपैयाँ आएपछि उनले प्रहरीमा उजुरी दिएका छन् । आफूलाई बदनाम गर्ने नियतले खातामा पैसा हालेको भन्दै उनले वडा–१२ स्थित फकिरचन्द गामी माध्यमिक विद्यालय, बरकुर्वाका लेखापाल देवकुमार यादव र खाता उपलब्ध गराउने बैंकक कर्मचारीविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएका हुन् ।
मेयर यादवका अनुसार सबैलाको सिटिजन बैंकको शाखामा रहेको उनको खातामा साँझ ५० हजार रुपैयाँ जम्मा भएको म्यासेज मोबाइलमा आएको थियो ।
‘खातामा अचानक शुक्रबार साँझ ५० हजार रुपैयाँ जम्मा भएको म्यासेज मोबाइलमा आएपछि म आश्चर्यमा परे । गल्तीले कसैको आएन भनेर आइतबार बैंकमा गएर बुझ्दा बरकुर्वा माविका लेखापाल देवकुमार यादव र प्रधानाध्यापक बैजुकुमार साहले सो रकम हालेको थाहा पाएँ’ मेयर यादवले भने, ‘मेरो खातामा कहाँबाट आयो भनेर बुझ्दा बैंककै कर्मचारी विनोद भन्नेले दिएका रहेछन् । मलाई बदनाम गर्ने नियतले पो भन्ने लागेर दुबैजना विरुद्ध उजुरी दिएको छु । छानविन गरेर दोषीलाई कारबाही हुनुपर्छ ।’
सबैलास्थित सिटिजन बैंकका शाखा प्रबन्धक जनक कार्कीले कर्मचारीबाटै व्यावहारिक रूपमा उक्त खातामा नम्बर प्रअ र लेखापाललाई उपलब्ध भएको स्वीकार गरे ।
उजरी परेपछि इलाका प्रहरी कार्यालय सबैलेले बुधबार लेखापाल देवकुमार यादवलाई बोलाएको थियो । बदनाम गराउने उद्देश्यले आफ्नो खातामा पैसा हालेको भनेर मेयरले निवेदन दिएको र त्यसकै कारण लेखापाल यादवलाई बोलाएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाईंले बताए ।
पैसाजम्मा गरेको भौचरमा नम्बर प्रअ साहको छ । जम्मा गर्नेमा पहिले प्रअ साहकै नाम उल्ल्ेख गरिएको छ । अन्तमा काटेर माथि लेखापाल देवकुमार यादवको नाम उल्लेख छ । मेयर यादवका अनुसार शिक्षकलाई तलब खुवाउने भनेर प्रअसँगै बैंकमा पुगेर खातामा पैसा हालेको स्वीकारको बताए । तर, लेखापाल यादवले भने फोन उठाएनन् ।
प्रतिक्रिया