रसुवा । काठमाडौँबाट नजिक रहेको रसुवागढी नाका हुँदै मित्रराष्ट्र चीनको तिब्बतस्थित केरुङ बजार नेपाली व्यवसायीको रोजाइमा परको छ । रसुवा जिल्लाका बासिन्दालाई मात्र प्राप्त हुने सीमा परिचयपत्रका आधारमा केरुङमा व्यापार–व्यसाय गर्न पाउने सुविधा भएसँगै बाहिर जिल्लाका बासिन्दाको समेत बसाइँसराइका आधारमा सो परिचयपत्र लिन दौडधुप गरेको देखिन्छ ।
उक्त परिचयपत्रवाहकले व्यावसायिक कामकाजका सन्दर्भमा उक्त नाका हुँदै केरुङ आइजाइ गर्न पाउने व्यवस्था छ । अध्यागमन कार्यालय रसुवागढीले चालु आर्थिक वर्षमा २४२ रसुवावासीलाई सीमा परिचयपत्र प्रदान गरेको छ ।
रसुवागढी अध्यागमन कार्यालय घट्टेखोलाका वरिष्ठ अध्यागमन सहायक मेघराज शर्माका अनुसार कति रसुवावासीसँग यस किसिमको पास भएको भन्ने यकिन तथ्यांक नभए पनि अहिलेसम्म करिब ३० हजार रसुवावासीले सीमा परिचयपत्र लिएको अनुमान छ ।
अन्यत्रबाट रसुवामा बसाइँ सरेपछि प्राप्त गर्न सकिने सीमा परिचयपत्र लिई केरुङमा व्यापार–व्यवसाय गर्नेको संख्या वृद्धि भइरहेको अध्यागमन सहायक शर्माले जानकारी दिए । अध्यागमन कार्यालयका अनुसार एकपटक पास लिएपछि हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान रहेको छ ।
जिल्लास्थित राजनीतिक पार्टीका नेता तथा नागरिक समाजका अगुवाले सीमा परिचयपत्र वाहकले केरुङमा घर भाडामा लिन र ढुक्कसँग व्यापार–व्यवसाय गर्न पाउने भएपछि बसाइँसराइ आउनेको संख्या वृद्धि भएकाले यसबाट भविष्यमा अनेकौँ समस्या सिर्जना हुनेसक्नेतर्फ सम्बद्ध निकायको ध्यानाकर्षण गरेका छन् ।
पछिल्लो समय बसाइँसराइको संख्या बढेपछि जग्गाधनी प्रमाणपुर्जा, घर निर्माणसहित विद्युत् महसुल तिरेको प्रमाणपत्र र सम्बन्धित वडाको सिफारिससमेत आवश्यक हुने प्रावधान राखेसँगै बाहिर जिल्लाबाट यहाँ आउनेको संख्या कमी हुने अपेक्षा गरिएको छ ।
यसै सन्दर्भमा माइती नेपाल रसुवागढी शाखाकी सीमा इन्चार्ज बिरू तामाङले रोजगारीका लागि रसुवागढीनाकाबाट ५०० नेपाली महिला केरुङ गएका छन् । रोजगारीका लागि केरुङ गएका ती महिलामध्ये २०–२५ जनाले आफ्नै लगानीमा पसल सञ्चालन गरेका र बाँकीले होटल, पसल तथा तिब्बेतियनको घरमा रोजगारी गरिरहेको इन्चार्ज तामाङले जानकारी दिए ।
केरुङ आवतजावत गर्ने व्यवसायीले दिएको जानकारीअनुसार नेपालीले केरुङमा करिब २० वटा होटल तथा लज खोलेका छन् । यसरी केरुङमा होटल खुलेपछि आफ्नोपन महसुस गरी सुपथ मूल्यमा दालभात खान र सुत्न नेपालीलाई सहज भएको छ ।
यसैगरी, खुद्रा पसलबाहेक १५–२० जनाले सिलाइबुनाइ गर्ने, करिब १५ जनाले सुनका गरगहना बनाउने र अन्य व्यक्ति मजदुर पेसामा रमाइरहको बताइएको छ ।
यसैगरी, यस वर्ष रसुवागढी नाकाबाट मानसरोवर कैलाश तीर्थका लागि २ हजार ३९८ पुरुष र १ हजार ६१४ महिला गएको अध्यागमन कार्यालय रसुवाले जनाएको छ ।
प्रतिक्रिया