प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमाथि अभूतपूर्व हमला गरेको छ । उक्त समूहका लडाकुहरूले गाजा स्ट्रिपनजिकै इजरेली बस्तीहरूमा प्रवेश गरी सयौँ मानिसलाई मारिदिए भने थुप्रैलाई बन्धक बनाएर लगे ।
मृतकमध्ये १० नेपालीसहित विदेशी नागरिकहरू पनि छन् । उक्त घटनामा संलग्न व्यक्ति तथा स्थान र आवश्यक सन्दर्भबारे यहाँ चर्चा गरिएको छ जसबाट तपाईंलाई यो समाचार बुझ्न सहज हुनेछ ।
हमास के हो ?
हमास एउटा प्यालेस्टिनी इस्लामवादी लडाकु समूह हो । गाजा स्ट्रिपमा अहिले त्यस समूहको सत्ता छ । हमासले इजरेलको विनाशको शपथ लिएको छ र सन् २००७ मा गाजाको सत्ता हातमा लिएयता उसले कैयौँपटक इजरेलसँग लडाइँ गरिसकेको छ । ती लडाइँका क्रममा उसले इजरेलमाथि रकेटहरू प्रहार गरेको छ अथवा अरू समूहलाई पनि प्रहार गर्न लगाएको छ ।
इजरेलले पनि लगातारजसो हमासविरुद्ध हवाई हमलाहरू गर्दै आएको छ र इजिप्टसँग मिलेर सन् २००७ यता गाजा स्ट्रिपमाथि नाकाबन्दी गरेको छ । आफ्नो सुरक्षाका निम्ति त्यसो गरेको इजरेलको दाबी छ ।
इजरेल, संयुक्त राज्य अमेरिका, युरोपेली संघ र युकेका साथै विभिन्न मुलुक समग्रमा हमासलाई अथवा केही अवस्थामा उसको सैन्य संगठनलाई आतंकवादी समूह ठान्छन् ।
हमासलाई इरानले सघाउँदै आएको छ । उसले सो समूहलाई आर्थिक सहायता उपलब्ध गराउनुका साथै अस्त्र तथा प्रशिक्षण दिँदै आएको छ । गाजा स्ट्रिप ४१ किलोमिटर लम्बाइ र १० किलोमिटर चौडाइ भएको इजरेल, इजिप्ट र भूमध्यसागरबीचको भूभाग हो । त्यहाँ २३ लाख व्यक्तिको बसोबास छ । विश्वका धेरै जनघनत्व भएका ठाउँमध्ये गाजा स्ट्रिप पनि एक हो ।
इजरेलले गाजाको आकाश (हवाई क्षेत्र) र समुद्री तटमा नियन्त्रण गर्छ र आफूसँग जोडिएको सीमानाका भएर को आउजाउ गर्न पाउँछ अनि के सामान ओसारपसार गर्न दिने हो भन्ने कुरा इजरेलको नियन्त्रणमा छ । त्यसै गरी इजिप्टले पनि आफूसँग जोडिएको नाका भएर को आउजाउ गर्न पाउँछ भन्ने कुराको नियन्त्रण गर्छ ।
इजरेल र हमासबीच किन लडाइँ भएको हो ?
हमास र इजरेलबीच निरन्तर तनाव रहिआएको छ । तर हमासले शनिबार बिना कुनै चेतावनी इजरेलभित्र आक्रमण ग¥यो । हमासले इजरेलमाथि हजारौँ रकेट प्रहार ग¥यो भने उसका लडाकुहरूले सीमामा लगाइएको तारबार हटाए अनि इजरेली समुदायमाथि अतिक्रमण गरे, सयौँलाई मारिदिए र कैयौँलाई बन्धक बनाएर लगे ।
गाजामा लडाकुहरूको अखडालाई लक्ष्य बनाएर इजरेलले तत्कालै हवाई हमलाहरू सुरू ग¥यो । यो हमला कति अभूतपूर्व हो ?
हाम्रा अन्तर्राष्ट्रिय सम्पादक जेरमी बोवन लेख्छन् – हमासले गाजाबाट सुरु गरेको यो सबैभन्दा महत्वाकांक्षी कारबाही हो र इजरेलले एक पुस्ताको भन्दा बढी समयभित्र झेलेको यो सबैभन्दा गम्भीर सीमापार हमला हो । लडाकुहरूले गाजा र इजरेललाई छुट्टयाउने तारबारहरू धेरै ठाउँमा काटिदिए । मध्यपूर्वमा ठूलो युद्ध निम्त्याउने गरी इजिप्ट र सिरियाले सन् १९७३ मा अचानक आक्रमण गरेको ५० वर्ष पुगेको एक दिनपछि यो अभूतपूर्व आक्रमण भएको हो । हमासको नेतृत्वका लागि अहिलेसम्म त्यसको सान्दर्भिकता सकिएको छैन ।
के यो इजरायली गुप्तचरको विफलता हो ?
इजरेलको घरेलु गुप्तचर निकाय सीन बेट र उसको बाह्य गुप्तचर निकाय मोसाद तथा इजरेली रक्षा बलहरूको शक्ति एवं संयुक्त प्रयासबीच कसैले यस्तो हुन्छ भन्ने आँकलन गर्न नसक्नु अनौठो हो । यदि आँकलन गरिएको भए पनि ती निकाय उपयुक्त कदम चाल्न विफल भए ।
इजरेलको गुप्तचर निकायलाई मध्यपूर्वको सबैभन्दा शक्तिशाली र स्रोतसाधन सम्पन्न गुप्तचर निकाय मानिन्छ । प्यालेस्टाइनको लडाकु समूहसहित उसका गुप्तचर र सुराकीहरू लेबनन, सिरिया र अन्यत्र छन् ।
प्यालेस्टाइन के हो र यी घटनासँग उसको के सरोकार छ ?
वेस्ट ब्याङ्क र गाजा प्यालेस्टिनी भूभागको रूपमा चिनिन्छ । साथै इस्ट जेरुसलेम र इजरेल बनेको सबै भूभाग रोमनकालदेखि प्यालेस्टाइनको रूपमा चिनिन्छ । बाइबलमा उल्लेख गरिएअनुसार ती भूभाग यहुदी अधिराज्यहरू हुन् जसलाई यहुदीहरूले आफ्नो प्राचीन मातृभूमिका रूपमा हेर्छन् ।
सन् १९४८ मा इजरेल एउटा राज्यको रूपमा घोषणा भयो । यद्यपि इजरेललाई देशको रूपमा मान्यता नदिएकाहरूले अझै त्यो भूमिलाई प्यालेस्टाइन नै भन्ने गरेका छन् । प्यालेस्टिनीहरूले वेस्ट ब्याङ्क, गाजा र इस्ट जेरुसलेमलाई समग्रतामा बुझाउन प्यालेस्टाइन नाम प्रयोग गर्छन् ।
अब के होला ?
हमासका कमान्डर मोहम्मद डेफले प्यालेस्टिनी र अरू अरबहरूलाई ‘इजरेली कब्जा अन्त्य गर्न’ का लागि आफ्नो कारबाहीमा सहभागी हुन आह्वान गरेका छन् । तर, हाम्रा जेरुसलेम संवाददाता योल्यान्ड नेलका अनुसार वेस्ट ब्याङ्क र इस्ट जेरुसलेममा रहेका वा अन्यत्र रहेका प्यालेस्टिनीहरूले हमास कमान्डरको यो आह्वानलाई सुन्छन् वा सुन्दैनन् भन्ने सबैभन्दा ठूलो प्रश्न रहेको छ ।
निःसन्देह इजरेलले एउटा सम्भावित युद्ध देखेको छ जुन विभिन्न मोर्चाबाट सुरु हुन सक्छ । लेबननको शक्तिशाली लडाकु समूह हिज्बुल्लाह त्यसमा संलग्न भयो भने नराम्रो अवस्था आउन सक्छ । इजरेली सेनाले संगठनभित्र व्यापक सुदृढीकरणको निर्देशन दिएको छ । साथै गाजामा हवाई आक्रमण तीव्र पारेको इजरेलले स्थल कारबाही गर्ने योजना बनाइरहेको छ ।
इजरेलमा आक्रमणको योजनालाई इरानले सहयोग गरेको हो ?
गाजाक्षेत्र आसपासका इजरेली समुदायमाथि हमासले गरेको घातक आक्रमणमा इजरेलको शत्रु राष्ट्र इरानको संलग्नताबारे प्रश्न उठिरहेको छ । वालस्ट्रिट जर्नलमा प्रकाशित एक विवरणमा नाम उल्लेख नगरिएका हमासका र लेबननका गुरिल्ला हिजबुल्लाहका सदस्यलाई उद्धृत गर्दै इरानले एक साताअघि नै इजरेलमा आक्रमणका लागि अनुमति दिएको उल्लेख छ ।
यो दाबीमा दम देखिन्छ । यदि इजरेलमाथि भएको आक्रमणपछाडि इरानको पनि हात देखियो भने यसले द्वन्द्वलाई क्षेत्रीय स्तरको द्वन्द्वमा विस्तार गर्नसक्छ । उक्त आक्रमणको प्रशंसा गर्न र त्यसमा हर्षोल्लास मनाउन इरानी नेताहरू अगाडि देखिए पनि उनीहरूले तत्कालै आफ्नो संलग्नता अस्वीकार गरे ।
‘इरानको भूमिका बारेका आरोपहरू ‘राजनीतिक कारणबाट प्रेरित छन्’, इरानको विदेश मन्त्रालयले भनेको छ । एक जना प्रवक्ताले ‘अरू देशको निर्णय प्रक्रियामा’ इरानले हस्तक्षेप नगर्ने बताएका छन् । तर यी आधारमा मात्रै इरान संलग्न थिएन भन्न कठिन छ ।
हमासका प्रवक्ता गाजी हमादले उक्त आक्रमणका लागि आफ्नो समूहलाई इरानबाट प्रत्यक्ष आड रहेको बिबिसीसँग बताए । इरानले ‘प्यालेस्टाइन र जेरुसलेमको मुक्तिका लागि प्यालेस्टिनी लडाकुहरूको पक्षमा उभिने’ वाचा गरेको छ ।
अमेरिकाले हमास हमलापछाडि इरानको संलग्नताबारे ‘अहिलेसम्म’ कुनै पनि प्रमाण नभेटिएको जनाएको छ । यद्यपि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले घटनाक्रमपछि ‘पक्कै पनि लामो सम्बन्ध रहेको’ दाबी गरेका छन् ।
तेहरान वर्षौंदेखि हमासको प्रमुख आर्थिक दाताको रूपमा रहेको छ । उसले आर्थिक सहयोगका अतिरिक्त हमासलाई रकेट सहितका कैयौँ अस्त्रहरू पनि उपलब्ध गराउँदै आएको छ ।
इरानले गाजामा आपूर्तिका लागि प्रयोग गर्ने मार्ग अवरुद्ध गर्न इजरेलले कैयौँ वर्ष बिताइसकेको छ । गाजा र इरानको बीचमा सुडान र यमनजस्ता देशहरूसँगै रेड सी र कानुनी शून्यता रहेको सिनाई प्रायद्वीपमा सक्रिय फिरन्ते तस्करहरू पर्छन् । इजरेलसँग लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहेको इरानको यहुदी राष्ट्रमा हुने समस्याबारे चासो छ ।
‘इरानको संलग्नता छ भन्ने ठानिनु धेरै टाढाको कुरा होइन’, इजरेलको विदेशी गुप्तचर निकाय मोसादका पूर्वअधिकारी हाइम तोमरले बिबिसीसँग भने । ‘इजरेल र साउदी अरबबीच शान्ति सन्धि हुन लागेको विवरणप्रति यो इरानको प्रतिक्रिया हो ।’ यद्यपि तोमर शनिवारको आक्रमण इरानकै आदेशमा भएको भन्न नसकिने बताउँछन् ।
‘हमासलाई हातहतियार उपलब्ध गराउने प्रमुख देश इरान भएको सत्य हो’, उनले भने, ‘र उनीहरूले सिरियामा र भनिएअनुसार इरानमा पनि तालिम दिइरहेका छन् ।’
उनी इजरेलले पछिल्ला महिनाहरूमा हमासका अधिकारीहरूको गतिविधि निगरानी गरिरहेको बताउँछन् । ‘हामीले सलेह अल–अरुरी (हमासका सैन्य विभाग प्रमुख) र अरू हमास नेताहरू लेबनन र इरानमा बाक्लै आउजाउ गरेको तथा (अयतोल्लाह) खामेनी लगायतसँग बैठकहरू गरेको देखेका छौँ’, उनले भने ।
तर तोमरका अनुसार आक्रमणको समयबारे चर्चाका लागि यो प्रकारको ‘अन्तरंग सम्बन्ध’ मात्रै पर्याप्त छैन । ‘इजरेलमा आन्तरिक द्वन्द्वका लागि हमासले सहयोग गरिरहेको थियो’, उनले भने ।
‘इरानले उसका लागि आवश्यक सामग्रीका लागि सहयोग गर्दै आएको छ । तर मेरो विचारमा उक्त आक्रमण ७५ प्रतिशत हमास नेतृत्वको स्वतन्त्र निर्णय थियो ।’
आक्रमणको निर्णय हमासले लिएको थियो
तेल अभिभ विश्वविद्यालयका इरानविज्ञ राज जिम्मत यो कुरामा सहमत छन् । ‘यो प्यालेस्टाइनको कथा हो’, उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
वालस्ट्रिट जर्नलका अनुसार बेरुतमा सोमबार भएको बैठकमा इरानले आक्रमणका लागि सकारात्मक संकेत दिएको थियो । हमास र हिजबोल्लाहका नाम खुलाउन नचाहने स्रोतले उक्त पत्रिकालाई इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले गत शनिबारको हवाई, स्थल र सामुद्रिक आक्रमणका लागि गत अगस्टबाट नै हमाससँग मिलेर काम गरिरहेको बताएका छन् ।
हमास आक्रमणका भिडिओहरूले उक्त समूहले यसअघि गर्दै आएका अपरिपक्व आक्रमणहरूको तुलनामा परिष्कृत आक्रमण भएको देखाउँछ । रकेट, ड्रोन, सवारी साधन र झुन्डिन मिल्ने यान्त्रिक ग्लाइडरहरूबाट एक साथ भएको आक्रमणले यो हमलामा सहभागीहरूले युक्रेनसहित हालै भएका अन्य मिश्रित युद्धहरूबारे अध्ययन भएको देखाउँछन् ।
राजका बुझाइमा ‘प्यालेस्टाइनको वास्तविकताबाट उत्पत्ति भएको आफ्नो हितका आधारमा’ आक्रमणको निर्णय हमासले नै लिएको थियो । ‘हमासले इरानी सहायता स्वीकार ग¥यो ? पक्कै पनि ग¥यो । उसले चाल्ने कदममा इरानको चासो छ ? पक्कै छ । हमासलाई चल्नका लागि इरानको अनुमति चाहिन्छ ? त्यो त चाहिँदैन ।’
मोसादका पूर्व अधिकारी तोमर हमासले धेरै वर्षदेखि आफ्नो सभ्रान्त टोली बनाइरहेको बताउँछन् । ‘तर उनीहरूले आफ्नो यसअघिको स्तरभन्दा धेरै उच्च तहको प्रदर्शन गरे’, उनी भन्छन् ।
इरानी अधिकारीहरू अहिले अब के हुन्छ र इरानको सहभागिता थप खुला भयो भने के हुनसक्छ भन्नेबारे विमर्श गरिरहेका छन् ।
इरानको सहयोगी लेबननको विद्रोही हिजबोल्लाहले यसअघि नै इजरेल नियन्त्रित गोलन हाइट्समा दुई वटा सानो स्तरका आक्रमण गरिसकेको छ । इजरेली सैनिकले हेलिकोप्टरको प्रयोग गरेर लेबननभित्र निशाना बनाइएका ठाउँमा प्रहार गरिएको जनाएको छ ।
हमासको सञ्चालनले मध्यपूर्वको अवस्था नै परिवर्तन गरिदिएको छ । यदि इजरेलको प्रतिक्रियाले हमासलाई महत्वपूर्ण चुनौती देखापरेको अवस्थामा इरान समन्वयको अवस्थाबाट प्रत्यक्ष सहभागिताको चरणमा जान बाध्य बन्नसक्छ ।
बिबिसी पर्सियतका केभान होसेनीका अनुसार इरानका सरकारी पोपागान्डा माध्यमहरूले इजरेलको अस्तित्व नभएको जस्ता सामग्री प्रसार गरिरहेका छन् । उनीहरूले ‘आगामी २५ वर्ष भित्रमा इजरेलको अस्तित्व नहुने’ भन्ने सर्वोच्च नेता खामेनीको भनाई प्रसार गरिरहेका छन् ।
तेहरानको प्यालेस्टाइन स्क्वायरमा यसको प्रतिकात्मक दिनगन्ती गर्ने एउटा चिन्ह राखिएको छ । जसमा इजरेलको अस्तित्व समाप्त हुँदै गएको देखाइएको छ । अधिकारीहरूको आक्रामक विचारका बाबजुद यसलाई गम्भिर चुनौती नभएको बुझाइ छ ।
भू–राजनीतिक परिवेसका बाबजुद इजरेलको बढ्दो सैन्य शक्ति र अमेरिकाले दिएको साथका कारण युद्ध नहुने ठानिन्छ । द्वन्द्व चर्किएको अवस्थामा इरानी सरकारलाई आन्तरिक चुनौतीहरूलाई बेवास्ता गर्न र धेरै खतरनाक द्वन्द्वमा सहभागी हुन कठिन हुने होसेनी बताउँछन् ।
गत वर्ष इरानमा उत्पन्न प्रदर्शनले दशकौंपछि त्यहाँको सत्ताको लागि सबैभन्दा ठूलो अस्तित्वको खतरा खडा गरेको थियो । यसले शासनको वैधानिकताको कमजोर धरातल उजागर गरेको छ । यस्तो अवस्थाले प्यालेस्टाइनका सहयोगीहरूलाई समर्थन गर्ने शासनको क्षमतालाई पनि सीमित गर्न सक्छ ।
इजरेली गुप्तचर गाजाबाट भीषण आक्रमण रोक्न किन विफल भयो
‘हामीलाई थाहा छैन, त्यो कसरी हुन सक्यो ।’ यति बृहत् स्रोतसाधन हुँदा पनि इजरेली गुप्तचरले हमासको आक्रमणको भेउ किन पाएन भनेर मैले सोध्दा इजरेली अधिकारीले यस्तो प्रतिक्रिया दिइरहेका छन् ।
दर्जनौँ सशस्त्र प्यालेस्टिनी बन्दुकधारीहरू इजरेल र गाजा स्ट्रिपबीचको कडा सुरक्षा पहरासहितको सीमा पार गर्न सफल भएका थिए । शनिबार मात्रै हजारौँ रकेटहरू गाजाबाट इजरेलतर्फ प्रहार गरिएका थिए ।
इजरेलको घरेलु गुप्तचर निकाय सीन बेट र उसको बाह्य गुप्तचर निकाय मोसाद तथा इजरेली रक्षा बलहरूको शक्ति एवं संयुक्त प्रयास हुँदा पनि कसैले यस्तो हुन्छ भन्ने आँकलन गर्न नसक्नु अनौठो हो वा यदि उनीहरूले आँकलन नै गरेको भए पनि त्यसमा कदम चाल्न विफल भए ।
इजरेलको गुप्तचर निकायलाई मध्यपूर्वको सबैभन्दा शक्तिशाली र स्रोतसाधन सम्पन्न गुप्तचर निकाय मानिन्छ । प्यालेस्टाइनको लडाकु समूहसहित उसका एजेन्ट र सुराकीहरू लेबनन, सिरिया र अन्यत्र छन् ।
विगतमा उसले कतिपय विद्रोही नेताहरूलाई उनीहरूको आवतजावतबारे ठ्याक्कै वास्तविक सूचना लिएको आधारमा हत्यासमेत गरिदिएको थियो ।
हमास लडाकु कसरी इजरेलभित्र पसे ?
कतिपय अवस्थामा एजेन्टहरूले ती व्यक्तिका कारमा जिपिएस ट्रयाकर राखिदिएका भरमा त्यस्ता हत्या ड्रोन आक्रमणबाट गरिएका थिए । कतिपय समयमा मोबाइल फोन विस्फोटन गराइएको थियो ।
गाजा र इजरेलबीचको तनावपूर्ण सीमा तारबारनजिकै क्यामेरा, भुइँमा हुने गतिविधि थाहा पाउने सेन्सर र नियमित सैनिक गस्तीको कडा सुरक्षा बन्दोबस्त छ ।
सीमामा लगाइएको बारमाथिको धारिलो तारलाई यस पटकको हमलामा देखिए जस्तो घुसपैठ रोक्नका लागि खडा गरिएको ‘बुद्धिमानी अवरोध’ का रूपमा कतिपयले लिएका छन् । तर हमासका विद्रोहीहरूले त्यसलाई पार गरेका छन् र तारहरू काटेर वा समुद्रको बाटो हुँदै वा प्याराग्लाइडिङको मद्दतले इजरेलभित्र प्रवेश गरेका छन् ।
इजरेलको नाकैमुनि यस्तो सुनियोजित र जटिल हमलाको तयारी गर्न अभूतपूर्व बन्दोबस्त र सुरक्षाको व्यवस्था हमासले गरेको हुनुपर्छ । हजारौँ रकेटहरू प्रहार गर्न त्यही स्तरमा ती अस्त्रहरूको भण्डारण र व्यवस्थापन गर्नु साधारण होइन ।
इजरेली सञ्चारमाध्यमले तुरुन्तै कसरी यस्तो भयो भनेर देशको सैनिक र राजनीतिक नेतृत्वमाथि प्रश्न गरेको छ । एक समयमा उसका शत्रुले ठ्याक्कै ५० वर्षअघि यस्तै आश्चर्यजनक रूपमा इजरेलमाथि आक्रमण गरेका थिए । सो युद्धलाई योम किप्पर युद्ध भनिन्छ जुन अक्टोबर १९७३ मा भएको थियो ।
प्रश्न छन्, तर उत्तर छैन
इजरेली अधिकारीहरूले मसँग कुरा गर्दै एउटा प्रमुख अनुसन्धान अघि बढाइएको भन्दै अहिले उठेका प्रश्नहरू ‘वर्षाैंसम्म उठिरहने’ बताएका छन् ।
तर अहिलेको इजरेलका प्राथमिकताहरू अरू नै छन् । उसले दक्षिणी सीमाबाट भइरहेको घुसपैठलाई नियन्त्रण र दमन गर्नुपर्नेछ भने सीमा पर्खालको इजरेलतर्फको भूभागका कैयौँ समुदायमाथि नियन्त्रण कायम गरेका हमास लडाकुहरूलाई त्यहाँबाट हटाउनुपर्नेछ । बन्धक बनाइएका आफ्ना नागरिकलाई उसले सशस्त्र उद्धार मिसन वा वार्तामार्फत् छुटाउनुपर्नेछ ।
इजरेलमाथि रकेट हमला गर्ने ठाउँहरूलाई उसले निमिट्यान्न पार्ने प्रयास गर्नेछ । तर त्यो लगभग असम्भव काम हो किनभने लगभग जहाँसुकैबाट कुनै भेउ नै नदिइकनै त्यसरी आक्रमण गर्न सक्ने स्थिति छ ।
र, सम्भवतः इजरेलका लागि सबैभन्दा ठूलो चिन्ता भनेको उसले हमासले गरिरहेको अस्त्रको अनुरोधमा अरूलाई पर्नबाट रोक्नु र यो तनावलाई वेस्ट ब्याङ्कसम्म फैलनबाट रोक्नु हो । अनि सम्भवतः भारी अस्त्रले सुसज्जित हिजबुल्लाहलाई उत्तरी सीमाको लेबननबाट द्वन्द्वमा नतान्नु भन्ने हो ।
इजरेलमा १० नेपालीको ज्यान कसरी गयो ?
प्रयोगात्मक सीप सिक्ने उद्देश्यले झन्डै एक महिनाअघि मात्र इजरेल पुगेका १० नेपालीको हमासका लडाकुहरूले गरेको आक्रमणमा परी ज्यान गएको इजरेलस्थित नेपाली दूतावास तथा काठमाडौंस्थित परराष्ट्र मन्त्रालयले पुष्टि गरिसकेका छन् । तर उनीहरू कसरी उक्त आक्रमणमा परे भन्ने प्रश्न धेरैले सोध्न थालेका छन् ।
इजरेलमा द्वन्द्व र गोलाबारुद नौलो नभए पनि उसले सुरक्षाका लागि अपनाउने अत्याधुनिक उपाय तथा प्रयोग गर्ने अस्त्ररोधक प्रविधिले हत्तपत्त त्यहाँ ठूलो मात्रामा मानिसहरूको ज्यान गइहाल्दैन भन्ने धेरैको विश्वास थियो ।
कृषि विज्ञानमा स्नातक गरेका ती नेपाली विद्यार्थीहरू एकै स्थानमा सांघातिक आक्रमणमा परेपछि इजरेलमा रहेका अरू क्षेत्रका नेपालीलाई पनि ‘त्रसित बनाएको’ त्यहाँस्थित नेपालीहरूले बताएका छन् ।
मृतक र घाइते नेपालीहरू कसरी आक्रमणको चपेटामा परे भन्नेबारे नेपाली कूटनीतिक अधिकारीहरू र इजरेलस्थित गैरआवासीय नेपालीहरूले निक्र्याेल गर्न सकेका छैनन् ।
बिबिसीले कुराकानी गरेका अधिकारीहरू र इजरेलस्थित नेपालीहरूले ती १० जना आक्रमणमा पर्दाको अवस्थाबारे फरकफरक विवरण दिएका छन् । यद्यपि एउटा कुरामा भने सबै पक्ष सहमत देखिन्छन्, ‘भर्खरै इजरेल गएकाले उनीहरूले त्यहाँको सुरक्षा व्यवस्था र आक्रमणका बेलामा बच्ने उपायबारे पर्याप्त जानकारी नपाएका हुन सक्छन् ।’
यद्यपि त्यसलाई पुष्टि गर्न पनि केही समय कुर्नुपर्ने र आक्रमणमा परेर घाइते भएका तथा उक्त समूहमै भएर पनि सुरक्षित रहेकाहरूको विवरणमा भर पर्नुको विकल्प नरहेको अधिकारीहरूको भनाइ छ ।
राजदूत के भन्छिन् ?
नेपालीहरू कसरी मारिए भन्ने विषयमा यकिन गर्न अझै केही समय लाग्न सक्ने इजरेलस्थित नेपाली राजदूत कान्ता रिजालको भनाइ छ । सोमवार बिहान बिबिसीसँगको कुराकानीमा उनले भनिन्, ‘अहिलेसम्म हामीले पाएको विवरण अनुसार उहाँहरूलाई रकेटबाट खसेका कुराले पनि लागेको र गोली पनि लागेको भन्ने छ । तर अस्पतालले रिपोर्ट नदिईकन सबै कुरा भन्न सकिन्न ।’
केही नेपाली सञ्चारमाध्यमले उक्त घटनाका पर्ने अरू नेपालीहरूसँग टेलिफोनबाट प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूलाई उद्धृत गर्दै ग्रिनेड आक्रमण र गोली प्रहारबाट पहिले घाइते भएका नेपालीहरूको मृत्यु भएको जनाएका छन् । त्यस्ता विवरणमा घाइतेमध्ये कतिपयको उच्च रक्तश्रावका कारण निधन हुन पुगेको पनि उल्लेख छ । यद्यपि नेपाली दूतावासका अधिकारीहरू आफूसँग विस्तृत जानकारी नभएको बताउँछन् ।
गोली लागेको हुन सक्ने सम्भावना कति ?
गैरआवासीय नेपाली संघ इजरेलका अध्यक्ष श्रीकृष्ण भण्डारी मृतकहरूलाई गोली नै लागेको हुने सम्भावना देखिएको बताउँछन् ।
आक्रमण सुरु भएपछि मृतकहरूसँगै रहेका केही नेपालीसँग सम्पर्क भएको र सोही समूहका सुरक्षित रहेका दुई जनालाई सोमवार तेल अभिभ ल्याइएपछि उनीहरूसँग पनि कुरा गरेको उनले बताए ।
‘उहाँहरू सबैसँगको कुराकानीपछि गोली नै लागेको भन्ने बुझिएको छ’, उनले भने ।
‘यसपालि हमासले इजरेलभित्रै छिरेर अन्धाधुन्ध गोली प्रहार गरेको छ । त्यसै क्रममा नेपालीहरूलाई पनि लागेको भन्ने बुझिन्छ तर शवहरू अस्पतालले हस्तान्तरण गरेपछि अवस्था हेरेर मात्र थप भन्न सकिन्छ ।’
घटना कहाँ भएको हो ?
मृतक १० जना ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत नेपालबाट इजरेल गएका थिए । उनीहरू दक्षिणी इजरेलको गाजानजिकै रहेको सेडाट नेगेभ एग्रिकल्चर सेन्टरअन्तर्गत किबुज अलुमिम फर्ममा प्रशिक्षण लिइरहेका थिए ।
उक्त कृषि फर्ममा कुल १७ जना नेपाली रहेकामा १० जनाको निधन भयो । चार जना घाइते भए । सकुशल रहेका दुई जनालाई अहिले तेल अभिभ ल्याइएको छ भने एक जना अझै बेपत्ता छन् ।
विशेषतः केही समयअघि मात्र इजरेल गएका नेपालीहरू अहिले चिन्तित र त्रसित अवस्थामा रहेको पाइएको छ । लामो समयदेखि इजरेलमा रहेकाहरूमा ‘आक्रमणका बेलामा कसरी सुरक्षित हुने’ भन्ने अनुभव रहेको तर भर्खरै जानेहरूलाई त्यसबारे कतिपय कुराहरू थाहा नहुँदा पनि चिन्ता बढेको भण्डारीले बताए ।
‘अहिले दक्षिणी क्षेत्रमा मात्र अवस्था केही गाह्रो भएको हो त्यो पनि आक्रमण सुरु भएको दिनभन्दा धेरै कम भइसकेको छ तर हालसम्म आक्रमणको कुनै प्रभाव नपरेको उत्तरी क्षेत्रमा रहेका नेपालीहरू पनि चिन्तित र त्रसित हुनुभएको छ’, उनले भने ।
‘यस्तो बेलामा हामीले संयम अपनाउनुपर्ने र डराएकाहरूलाई थप त्रसित नबनाउने र गाजाको सीमा क्षेत्रमा बंकरमा रहेका नेपालीलाई उद्धार गरेर ल्याउनुपर्ने छ । तर, ‘इजरेलभरि नै अवस्था ठिक छैन’ भन्ने हल्ला फैलाउनु हुँदैन ।’
उनी इजरेलमा प्रायः यस्ता हमलाहरू भइरहने भएकाले पनि नेपालबाट इजरेल पठाइने विद्यार्थी तथा कामदारलाई ‘सुरक्षित रहने तरिका र सुरक्षा अवस्था’बारे अभिमुखीकरण दिएर मात्र पठाउनुपर्ने आवश्यकता अहिलेको घटनाले देखाएको बताउँछन् ।
इजरेलमा कति छन् नेपाली ?
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले इजरेलमा नेपालीहरूको अवस्थाबारे जानकारी दिएका थिएका थिए । त्यस क्रममा उनले इजरेलमा रहेका नेपालीहरूको संख्या पनि सदनलाई जानकारी गराए । उनका अनुसार अहिले इजरेलमा ४ हजार ५ सय नेपालीहरू केअरगिभरको रूपमा कार्यरत छन् ।
त्यस्तै २ सय ६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा गएको सरकारी तथ्यांक छ । यद्यपि इजरेलमा रहेका नेपालीहरू केही मात्रामा सरकारी विवरणमा नसमेटिएका र गैरकानुनी रूपमा इजरेलमा कार्यरत नेपालीहरू पनि रहेको बताउँछन् ।
२ सय ५३ नेपाली विद्यार्थीलाई इजरेलबाट ल्याइयो, शव आउन समय लाग्ने
इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी तनावका कारण इजरेलमा अलपत्र परेका नेपाली विद्यार्थीलाई तेल अभिभबाट काठमाडौं ल्याइएको छ । अधिकारीहरूका अनुसार नेपाल वायु सेवा निगमको चार्टर गरिएको विमानमा २ सय ५३ नेपाली विद्यार्थीलाई ल्याइएको हो ।
‘राति २ बजेर ४० मिनेटमा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो’, एक अधिकारीले बिबिसीसँग भने । स्वदेश फर्कन चाहने अन्यलाई पनि चाँडै ल्याउने पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत शनिबार हमासले इजरेलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीसहित सयौँ जनाको ज्यान गएको थियो ।
उक्त घटनामा थप चार जना घाइते भएका र एक जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको नेपालका परराष्ट्रमन्त्रीले बताएका छन् ।
अहिले विद्यार्थीको मात्र उद्धार
विशेषगरी इजरेलमा गएर लामो समयदेखि कार्यरत नेपालीहरूले स्वदेश फर्कन नचाहेको अधिकारीहरूको भनाइ छ । त्यसैले पहिलो चरणमा विद्यार्थीहरूको मात्र उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बुधवारको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पनि उक्त जानकारी दिएकी थिइन् । तेल अभिभस्थित नेपाली राजदूतावासले इजरेलमा रहेका र स्वदेश फर्कन एवं सुरक्षित स्थानमा सर्न चाहनेहरूका लागि अनलाइनमार्फत् फर्म भर्न सूचित गरेको थियो ।
बुधबारसम्म ३५० जनाभन्दा बढीले फर्म भरेका भए पनि सबैले स्वदेश फर्कन नचाहेको अधिकारीहरूले बताएका थिए । त्यसमध्ये बिहीवार २ सय ५४ जनालाई स्वदेश फर्काउन लागिएको हो भने बाँकी आउन चाहनेका लागि छुट्टै व्यवस्था गरिने बताइएको छ ।
शव पछि ल्याइने
इजरेलमा निधन भएका नेपालीहरूको शव भने ल्याउन केही समय लाग्ने अधिकारीहरूको भनाइ छ । इजरेलस्थित नेपाली राजदूत र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बिबिसीलाई दिएको जानकारीअनुसार इजरेली निकायले नेपालीलाई शव हस्तान्तरण गर्न पनि केही प्रक्रिया पूरा गर्न बाँकी नै रहेको छ ।
इजरेलले आफू युद्धमा रहेको घोषणा गरेकाले शव हस्तान्तरणसम्बन्धी प्रक्रियाहरू पूरा गर्न केही दिन लाग्न सक्ने परराष्ट्रकी प्रवक्ता लम्सालले पत्रकार सम्मेलनमा जानकारी दिएकी थिइन् ।
प्रतिक्रिया