गम्भीर अपराधमा माफी दिएकोमा रास्वपाले स्पष्टीकरण माग्ने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान दिवसको अवसरमा गम्भीर अपराधमा दोषी ठहर भई कैदमा रहेकालाई माफी दिएको विषयमा सरकारसँग स्पष्टीकरण माग्ने भएको छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारसँग स्ष्टीकरण माग्ने निर्णय गरेको हो ।

साथै रास्वपाले राष्ट्रपतिलाई संविधान र मुलुकको अभिभाकत्व भूमिका निभाउन ध्यानकर्षण गराउने निर्णय गरेको छ । ‘माफीको विषयमा सदनमा सरकारसँग जवाफ माग्छौँ । संकल्प प्रस्ताव पनि दर्ता गराउँछौँ । संविधान र कानुनको संरक्षक बन्न राष्ट्रपतिलेलाई भेटेर ध्यानकर्षण गराउने निर्णय गरेका छौँ,’ रास्वपाका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले भने ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६७० जनाको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी दिएका थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले कैद मिनाहा गरेका थिए ।

सुन तस्करी र ललितानिवासको जग्गा प्रकरणमा निश्पक्ष छानबिन गर्न सरकारको ध्यानकर्षण गराउने निर्णय रास्वपाले गरेको छ । ‘सुन प्रकरण र ललितानिवास प्रकारणमा सुरुमा सरकारले काम गरेको देखिन्थ्यो । तर प्रहरी र न्यायाधीशको सरुवाले सरकार आफैं भ्रष्टाचारमा लागेको संशय पैदा भएको छ । निश्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गरेका छौँ,’ प्रवक्ता ढकालले भने ।

रास्वपाले सुन तस्करीको अनुसन्धान गर्न ६ भदौमा भएको सहमति अनुसार उच्चस्तरीय आयोग बनाएर काम गर्न सरकारलाई आग्रह पनि गरेको छ । ‘६ भदौको सहमति कार्यान्यवन हुनुपर्‍यो । कार्यादेश दिएर तत्काल आयोगले काम सुरु गर्नु पर्‍यो ,’ प्रवक्ता ढकालले भने ।

सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकमा पनि रास्वपाले असहमति जनाएको छ । र, संसदमा संशोधनबाट विधेयक परिमार्जन गर्ने निर्णय रास्वपाले गरेको छ । ‘विद्यालय शिक्षा विधेयकमा गम्भीर असहमति छ । यो विषय संसदमा उठाउँछौँ । संशोधन हाल्छौ,’ प्रवक्ता ढकालले भने, ‘संशोधनको मस्यौदा बनाउन पार्टीको शिक्षा विभागलाई जिम्मेवारी दिएका छौँ ।’

चिकित्सकहरूमाथि भइरहेको आक्रमणबारे रास्वपाले तत्काल दोषीलाई कारबाही गर्न र कानुनको पालना गर्न सरकारलाई आग्रह गरेको छ । ‘स्वास्थ्यकर्मीलाई आन्दोलनमा आउन बाध्य बनाइएको छ । कानुन कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छौँ,’ उनले भने ।

चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न पनि रास्वपाले सरकारलाई आग्रह गरेको छ । ‘दसैं तिहारजस्ता पर्वमा कालोबजारी हुने गरेको पाइन्छ । झारो टार्ने अनुगमन मात्र नगरी पूर्णरुपमा कालोबजारी नियन्त्रण गरी उपभोक्ता ठगिनबाट जोगाउनुपर्छ,’ प्रवक्ता ढकालले भने ।

धार्मिक सद्भाव खलल पुर्‍याउने तत्त्व सक्रिय रहेको निष्कर्ष निकाल्दै रास्वपाले त्यस्ता तत्त्वलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ । ‘विभिन्न जात र धर्म मान्नेहरू समुदायमा सदियौंदेखि मिलेर बसेको समाजमा सद्भाव खलल पार्ने तत्त्व सक्रिय भएका छन् । त्यसलाई सरकारले नियन्त्रण गर्नुपर्दछ,’ उनले भने, ‘आम नागरिक पनि गम्भीर भएर सचेत हुनुपर्छ।’

काठमाडौं महानगरमा देखिएको समस्या वैज्ञानिक ढंगले समाधान गर्न पहल गर्ने निर्णय रास्वपाले गरेको छ । बैठकले पार्टीका सम्पूर्ण सांसदलाई सार्वजनिक सुनुवाइ गर्न पनि निर्देशन दिएको छ । त्यसैगरी पार्टीको दस्तावेज तयार पार्न गाउँगाउँमा जाने अभियानलाई निरन्तरता दिने र विज्ञहरूसँग पनि छलफल गर्ने निर्णय बैठकले गरेको छ । सांसद स्वर्णिम वाग्लेको संयोजकत्वमा काठमाडौंमा बौद्धिक वर्गसँग छलफल गर्ने निर्णय रास्वपाले गरेको छ । त्यसपछि पार्टीको नीति विचारलाई अन्तिम रुप दिने प्रवक्ता ढकालले बताए ।

प्रतिक्रिया