शिक्षा विधेयक सच्याउँछौं : चन्द्र भण्डारी

काडमाडाैं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले सरकारले संसदमा पेस गरेको शिक्षासम्बन्धी विधेयक सच्याउन आफूहरू लागिपरेको बताएका छन् । सांसद भण्डारीले सरकारले शिक्षा क्षेत्र नै नबुझेर हतारमा शिक्षा विधेयक ल्याएकाले त्यसलाई सच्याउने काममा लाग्नुपरेको बताएका हुन् । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै सांसद भण्डारीले आन्दोलनरत पक्षका माग सम्बोधन हुने गरी शिक्षा विधेयक पारित हुने बताए ।

उनले शिक्षा क्षेत्रको समस्या समाधानका लागि नयाँ पुस्तालाई सो सेवामा प्रवेश गराउनुको विकल्प नरहेको बताए । पुराना पुस्तालाई अपडेट गर्ने र नयाँलाई प्रवेश गराएर मात्रै मुलुकको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकिने सांसद भण्डारीको भनाइ थियो ।

फरक प्रसंगमा डा. भण्डारीले चिकित्सकहरूमाथि हातपात हुनु अत्यन्तै दुःखद् भएको उल्लेख गर्दै त्यस्ता घटना हुन नदिन कडा कानुन बनाउनुपर्ने बताए । सांसद भण्डारीले जनताको विश्वास जित्ने गरी कानुन बनाउने काम आफूहरूले गर्ने प्रतिबद्धता पनि जनाए ।

प्रतिक्रिया