काठमाडौं । नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिएका छन् । कांग्रेसको १४औँ महाधिवेशनबाट भारी मतका साथ जिल्ला सभापति पदमा निर्वाचित खड्काले आज राजीनामा दिएका हुन् ।
खड्काले पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत केन्द्रीय सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।
विसं २०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा संखुवासभाबाट निर्वाचित खड्काले प्रतिनिधिसभा सदस्य भएपछि काठमाडौंमा धेरै समय बिताउनुपर्ने र जिल्लाको पार्टी संगठनलाई पर्याप्त समय दिन नसकेको भन्दै राजीनामा दिएको बताए ।
‘संखुवासभामा विसं २०७० र २०७९ सालको निर्वाचनमा कांग्रेसलाई विजयी बनाएको र आगामी दिनमा पनि कांग्रेसको संगठनलाई मजबुद बनाउन जिल्लामा रहेका साथीहरुलाई काम गर्ने वातावरण निर्माण गर्न सभापति पदबाट राजीनामा दिएको हुँ’, उनले भने ।
नेता खड्काले आफू जिल्ला सभापति पदमा नरहे पनि अब बन्ने सभापतिलाई सहयोग गर्दै पार्टी र जनाताको काममा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया