एमाले बागमतीमा नेतृत्वका लागि दुई गुटको भीडन्त

प्यानल बनाए उम्मेद्वारी खारेज गर्ने ओलीको चेतावनी

काठमाडौं । सोमबार सुरु भएको नेकपा एमाले बागमती प्रदेशको अधिवेशनमा नेतृत्वका लागि दौडधुप सुरु भएको छ । उक्त अधिवेशनमा नेतृत्व हत्याउने दौडमा आकांक्षीहरू बनेका छन् ।
काठमाडौंको भृकुटी मण्डपमा सोमबार उद्घाटन भएको एमालेको प्रथम प्रदेश अधिवेशनबाट एमाले बागमती प्रदेशको नयाँ कमिटी निर्माण हुनेछ । एमाले बागमती प्रदेशका उपसचिव एवं नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाका अनुसार सर्व सहमतिबाट नेतृत्व चयन हुने सम्भावना बलियो रहेको छ ।

अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित २ सय ४० सदस्यीय कमिटी चयन गर्ने उनले बताए । उक्त कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता हुनेछ भने १० प्रतिशत ४० वर्षभन्दा कम उमेर समूहका व्यक्ति रहने उनको भनाइ छ । जनजाति, पिछडिएको वर्ग, दलितहरूको सहभागितामा कमिटीलाई समावेशी बनाइने उनले बताए ।

यसअघि एमालेले प्रदेश कमिटी ४ सय ४७ सदस्यीय रहेकोमा यसपटक भने पाँच जना पदाधिकारीसहित २ सय ४० सदस्यीय कमिटी कायम गरिएको उनले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार उद्घाटन गरेको सो अधिवेशनकोमा अध्यक्ष पदका प्रत्याशीहरू तीव्र दौडधुपमा रहेका छन् । कार्यकारी पद भएकाले पार्टीको केन्द्रीय सदस्यदेखि वर्तमान अध्यक्ष लगायतले अध्यक्ष पदका लागि आकांक्षा व्यक्त गरेका छन् । अध्यक्ष बन्नका लागि आकांक्षीहरू पार्टी केन्द्रसँगको भेटघाटमा तीव्र दौडधुपमा गरिरहेका छन् ।

एमाले बागमती प्रदेश अध्यक्ष पदका लागि केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, रचना खड्का, कैलाशप्रसाद ढुंगेल, एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डे र सानुकुमार श्रेष्ठ लगायतले आकांक्षा व्यक्त गरेका छन् । उनीहरू अध्यक्ष पद हत्याउन शीर्ष नेताहरूसँगको लबिङमा रहेका छन् । प्रदेशको नेतृत्वका लागि उनीहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्ने बालकोट पुग्ने गरेका छन् ।

अधिवेशन उद्घाटन भएपछि एमालेका शीर्ष नेताहरू पनि प्रदेशको नेतृत्वको विषयमा छलफलमा जुटेका छन् । प्रदेश अध्यक्षको आकांक्षीमा मकवानपुरका दाहाल, रामेछापका ढुंगेलसहित नुवाकोटका पाण्डे र काठमाडौंका सानुकुमार श्रेष्ठ र दोलखाकी खड्काको नाम चर्चामा रहेको छ । संघीयतापछि निर्माण भएको एमालेको प्रादेशिक संरचनाको अध्यक्षको जिम्मेवारी पाएका पाण्डे पुनः दोहोरिने सोचमा रहेका छन् । सोही अनुसार उनी शीर्ष नेताहरूसँगको लबिङमा रहेका छन् ।

एमाले लुम्बिनी प्रदेशका निर्वाचनमा गुटगत प्रतिस्पर्धा देखिएको भन्दै बागमतीमा भने निर्वाचन नै हुन नदिने पक्षमा एमाले रहेको छ । सोही अनुसार एमाले अध्यक्ष ओली पनि सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारीमा लागेको बुझिएको छ ।

अध्यक्ष ओलीले रामेछापका ढुंगेल वा श्रेष्ठलाई अध्यक्ष बनाउन चाहन्छन् । अध्यक्ष ओलीका निकट मानिएका ढुंगेल प्रदेश अध्यक्ष बन्न सक्ने प्रबल सम्भावना रहेको एमालेका एक नेता बताउँछन् । ढुंगेल बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत भइसकेका छन् भने पूर्व पोलिटब्युरो सदस्य रहेका श्रेष्ठ बागमती प्रदेशका पूर्व सभामुखसमेत हुन् ।

गत मंसिरमा भएको आमनिर्वाचनमा पराजित भएसँगै राजनीतिक तथा अन्य कार्यक्रममा नदेखिएका दाहाल एकाएक प्रदेश अधिवेशनमा अध्यक्षको आकांक्षी बनेका हुन् । अध्यक्ष पदमा आकांक्षा व्यक्त गरे पनि बालकोटको साथ नदेखिएपछि उनको खासै चर्चामा हुन सकेको छैन । यद्यपि उनले अध्यक्षको उम्मेद्वारी कायम राख्ने मनस्थितिमा छन् । दाहाल पूर्व सांसद तथा प्रतिनिधिसभा अर्थ समितिका पूर्व सभापतिसमेत हुन् । एमाले ओलीले नरुचाएका नेता भए पनि उनी कार्यकर्ता माझ लोकप्रिय छन् ।

एमाले विभाजन ताका ओली पक्षमा रहेर सहयोग गरेकै कारण ढुंगेल र श्रेष्ठमध्ये एकलाई प्रदेश अध्यक्ष दिने तयारी ओलीको छ । प्रतिनिधिसभा विघटन पश्चात् बहुमत सदस्यहरू माधव नेपाल पक्षमा रहेका थिए । सो सयमामा बागमती प्रदेशसभामा राम्रो भूमिका निर्वाह गरेर श्रेष्ठले एमालेलाई थप क्षतिबाट जोगाएका थिए । उनले तत्कालीन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउनुपर्ने माग लामो समयसम्म रोक्न भूमिका खेलेका थिए । करिब आठ महिनासम्म सभामुख श्रेष्ठले प्रदेशसभा बैठक टार्दै एमालेको विभाजन क्षति कम गरेका थिए । श्रेष्ठले बागमती प्रदेशसभा बैठक सार्न खेलेको भूमिकाका कारण एमाले विभाजनको असर कम परेको थियो ।

त्यस्तै एमालेमा समस्या परेका बखत ढुंगेल अध्यक्ष ओलीको पक्षमा उभिँदै आएका छन् । उनको सहयोगमा तत्कालीन मुख्यमन्त्री पौडेल नेतृत्वको सरकार आठ महिनासम्म जोगिएको थियो भने सभामुख श्रेष्ठलाई काम गर्न सहज वातावरण बनेको थियो । उक्त गुन तिर्न पनि एमाले अध्यक्ष ओली श्रेष्ठ र ढुंगेल मध्ये एकलाई प्रदेश अध्यक्ष बनाउने पक्षमा छन् ।

अधिवेशनका लागि एमाले प्रदेश कमिटीका अनुसार अधिवेशनमा सबैभन्दा बढी प्रतिनिधि काठमाडौंका छन् । जहाँबाट १ सय ३२ जना प्रतिनिधि छनोट भएका छन्् । अधिवेशनका लागि काभ्रेबाट १ सय २५ र मकवानपुरबाट १ सय ६ जना प्रतिनिधि छन् । धादिङबाट ८७, दोलखा ६५, रसुवा २७, सिन्धुपाल्चोक ६४, रामेछाप ८१, नुवाकोट ६४, ललितपुर ५०, भक्तपुर ६६, सिन्धुली ६६ र चितवनबाट ८५ जना प्रतिनिधि छन् । जनसंगठबाट ९५ जना प्रतिनिधि छन् भने प्रदेश कमिटीबाट पाँच प्रतिशत मनोनीत भएका छन् ।

बागमती प्रदेशमा एमालेका १ लाख ९ हजार संगठित सदस्य रहेका छन् । एमालेले १ सय २५ संगठित सदस्यमध्ये एक जना प्रतिनिधि छनोट हुने व्यवस्था गरेको छ । तर दलितको हकमा ५० संगठित सदस्य बराबर एक जना प्रतिनिधि छानिएका छन् । २२ जनसंगठन रहेकामा एक जनसंगठनबाट दुई र संगठनहरूबाट तीन जना छनोट हुने व्यवस्था गरेको छ । ११ वटा प्रत्येक विभागबाट एक जना प्रतिनिधि छनोट गरिएको छ ।

एमाले बागमती प्रदेश अधिवेशनमा ८० लाख रुपैयाँ खर्च हुने उपसचिव बर्तौलाले बताए । अधिवेशनअन्तर्गत मञ्च व्यवस्थापन, आवास, अतिथि सत्कार, साउन्ड सिस्टम, प्रचारप्रसार लगायतका काममा सो रकम खर्च हुने उनले बताए ।
उनका अनुसार अधिवेशनको खर्चको व्यवस्थापन प्रतिनिधि शुल्क, आर्थिक सहायता तथा सहयोग र विभिन्न लाभको पदमा रहेका व्यक्तिहरूबाट संकन गरिने उनले बताए । जसअनुसार प्रतिप्रतिनिधि तीन हजार रुपैयाँका दरले प्रतिनिधि शुल्क संकलन गर्ने तयारी भएको उनको भनाइ छ ।

प्रतिनिधिहरूलाई आवासको सुविधा नरहेको र आ–आफ्नो व्यवस्था गर्न सूचना गरिएको उनले बताए । अधिवेशनको अन्य खर्चहरू सहयोगबाट संकलन गरिने उनको भनाइ छ ।

सोमबार सो प्रदेशको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेश अधिवेशनमा प्यानल बनाएको थाहा पाए त्यो प्यानलका सबै उम्मेद्वारहरूको उम्मेद्वारी खारेज गर्ने चेतावनी दिएका छन् ।

सोमबार काठमाडौंमा वागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकताबद्ध एमालेको नीतिअनुसार अघि बढ्न सुझाव दिए । उनले मिल्दा लोकतन्त्रको अभ्यास हुँदैन भन्ने नहुने भन्दै भने, ‘मिल्दा लोकतन्त्रको अभ्यास हुँदैन भन्ने हुँदैन । मिल्नु सबैभन्दा ठुलो लोकतन्त्रको अभ्यास हो ।’
देश बनाउने र पार्टी एकजुट बनाउने कुरामा मिल्दा अलोकतान्त्रिक नहुने ओलीको भनाइ छ । ‘नेकपा एमाले लोकतान्त्रिक पार्टी हो । यहाँ कसैले चुनाव लड्छु भन्छ भने पाउँछ । लड्नुुस् । लड्न दिनुस्, स्वस्थ ढंगले लड्न दिनुस्, ओलीले भने, ‘प्यानल बनाइएको थाहा भयो भने प्यानलको सिँगै उम्मेद्वारी पनि खारेज हुन सक्छ ।’

प्रतिक्रिया