शिक्षकहरुको आन्दोलनले अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका आजको लागि निर्धारित बैठक स्थगित भएका छन् ।

नेपाल शिक्षक महासंघको आन्दोलनका कारण सवारी आवागमन प्रभावित भएपछि सांसदहरु समयमै सिंहदरबार पुग्न नसक्दा दुई वटै समितिको बैठक प्रभावित भएको हो । बिहान ११ बजे बोलाइएका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक गणपूरक संख्या नपुग्दा स्थगित भएका हुन् ।

अर्थसमितिका सभापति सन्तोष चालिसेले गणपूरक संख्या नपुगेर बैठक स्थगित गरिएको जानकारी बताए । कतिपय सांसद जिल्ला बाहिर पनि रहेकाले सबैको समय मिलाएर छिट्टै अर्को बैठक बोलाइने उनको भनाइ छ ।

अर्थ समितिको आजको बैठकमा समितिको कार्यविधि मस्यौदा र विविध विषयमाथिको छलफल गर्ने कार्यसूची थियो । समितिमा कूल २४ जना सांसद रहेकामा गणपूरक संख्याका लागि १३ जना सांसद हुनुपर्ने थियो तर ११ जना सांसद मात्र बैठकमा उपस्थित थिए । प्रतिनिधिसभा नियमावली अनुसार आधा घण्टासम्म गणपूरक संख्या नपुगेमा बैठक स्थगित गर्ने व्यवस्था छ ।

यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक पनि गणपूरक संख्या नपुगेका कारण स्थगित भएको छ । समितिमा २७ जना सदस्य रहेका छन् । बैठक बस्न १४ जना सांसद उपस्थित हुनुपर्नेमा १२ जनामात्र उपस्थित थिए ।

प्रतिक्रिया