रुकुम पश्चिम । आज संविधान दिवस, २०८० देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको हो । संविधान दिवसको अवसरमा रुकुम पश्चिममा पनि विविध कार्यक्रम गरी मनाइएको छ ।
जिल्लाको आठबिसकोट नगरपालिकाको आयोजनामा शिक्षा दिवस र संविधान दिवसको अवसरमा नगरपालिकाको आयोजनामा विविध कार्यक्रम गरी मनाइएको हो ।
कार्यक्रममा आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम राडीबजारको पिपलबोटदेखि क्याम्पस रोड तल्लो बजार हुँदै पुनः पिपलबोटमा पुगेर परिक्रमा गरिएको थियो । प्रभात फेरीमा सुरक्षा निकाय तथा सामाजिक संघसंस्थाले ब्यान्डबाजासहित विभिन्न जातीय तथा सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा आठबिसकोटका नगरप्रमुख रवि केसीले नेपाली जनताको लामो बलिदानी, त्याग र संघर्षपछि प्राप्त नेपालको संविधान पूर्ण कार्यान्वयन गरी जनताको अधिकार स्थापित गर्नतर्फ ध्यान दिनुपर्ने बताए ।
केसीले देशको मूल कानून संविधान भएको र योभन्दा माथि कोही पनि हुन नसक्ने भएकाले कानूनका दृष्टिले सबै समान रहेको बताउँदै जनयुद्धको जगमा बसेको संघीयता र संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु जनयुद्धकै योगदान रहेको बताए ।
नेपालमा गणतन्त्र स्थापनामा हुनमा जनयुद्धको मुख्य भूमिका रहेको र गणतन्त्रपछि बनेको संविधान र जनयुद्ध नभएको भए तत्काल नेपालमा गणतन्त्र सम्भव नहुने उनले बताए । उनले भने, ‘सबै खाले परिवर्तन जनयुद्धबाटै सम्भव भएको हो ।’
आज आठौँ संविधान दिवस मनाइरहँदा जनयुद्धको बलिदानलाई भुल्न नहुने उनको भनाइ छ । केसीले भने, ‘जनयुद्ध नभएको भए हामी अहिले गणतन्त्रमा हुँदैन थियौँ, गणतन्त्र नभएको भए मुलुकमा संविधान बन्दैनथ्यो, त्यसकारण गणतन्त्र ल्याउन र संविधान निर्माणमा मुख्य भूमिका जनयुद्धको छ ।’
दिवसको अवसरमा नगरस्तरीय हस्तलेखन, हाजिरी जवाफ, नृत्य र वक्तृत्वकला प्रतियोगिताको आयोजना सम्पन्न भएको छ । जसमध्ये हस्तलेखन प्रतियोगितामा ३० विद्यालय, हाजिरी जवाफ प्रतियोगितामा २२ विद्यालय, लोक नृत्यमा ११ विद्यालय सहभागी भएको शिक्षा शाखाका प्राविधिक सहायक नरेन्द्र कार्कीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई क्रमशः ७ हजार, १० हजार र १२ हजार पुरस्कार प्रदान गरिएको कार्कीले बताए ।
हाजिरी जवाफ प्रतियोगिता र प्रावितर्फ हस्तलेखनमा पिस जोन आठबिसकोट प्रथम भएको छ । त्यस्तै लोक नृत्य प्रतियोगितामा कालिका मावि प्रथम भएको छ । सहभागी ११ विधालयलाई पछि पार्दै कालिका मावि प्रथम भएको हो भने हस्तलेखन र हाजिरी जवाफमा ३० र २२ विधालयलाई पछि पार्दै पिस जोन प्रथम भएको हो ।
त्यसैगरी संविधान दिवसका अवसरमा संविधान निर्माणमा विद्यार्थीको भूमिका विषयक वक्तृत्व कला सम्पन्न भएको छ । वक्तृवकलामा सहभागी सबै विधालयलाई प्रमाणपत्र सहित पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ ।
राष्ट्रिय शिक्षा दिवस र संविधान दिवसका अवसरमा नगरपालिका भित्रका ३० भन्दा बढी विधालयहहरुले भाग लिएका थिए । संविधान दिवसका अवसरमा पन्चेबाजा सहित विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरि भव्यताका साथ मनाईएको थियो ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ । सोही अवसरमा आठबिसकोट नगरपालिकाले नगर स्तरिय विविध कार्यक्रम गरेको हो ।
प्रतिक्रिया