काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्ने बताएका छन् । देश गम्भिर संकटको अवस्थामा पुगेको उल्लेख गर्दै ओलीले ती समस्या समाधान गर्न सबै राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
‘साँच्चै गम्भीर भएर देशको बारेमा सोच्नुपर्ने अवस्था आज आएको छ । आज सबै पार्टी, सबै पक्षहरू मिलेर देशका समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ । नत्र भने धरै प्रकारका खतराहरूबाट हामी जेलिँदैछौँ । त्यो गम्भीर परिस्थिति छ,’ ओलीले भने ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक कार्यक्रममा ओलीले धरै प्रकारका खतराहरूबाट देश जेलिएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउनु प्रमुख राजनीतिक दलहरूको कर्तव्य भएको उल्लेख गरे ।
‘प्रमुख राजनीतिक दलहरू जिम्मा, जमानी बसेर धेरै आन्दोलन भएका छन् । जिम्मा, जमानी बसेर धेरै बलिदान भएको छ । जिम्मा, जमानी बसेर धेरैका घरबार, परिवार उजाड भएका छन । प्रमुख राजनीतिक दलहरूको आह्वानमा धेरैले जीवन आहुति गरेका छन् । धेरैको क्षति भएको छ । धेरै ठूलो हिसाब गर्न नसकिने क्षति हामीले व्यहोरेर यो ठाउँमा आइपुगेका छौँ,’ ओलीले भने, ‘यी आजको उपलब्धिहरू जे छन् । यी यतिकै होइन आकाशबाट आएका होइनन् । यी बलिदानसँग, जीवनसँग, रगत र पसिनासँग, आँशु, कठिनाइहरूसँग जुधेर यहाँ ल्याईपुर्याएका छौँ । यसलाई गुम्न दिन सकिँदैन, यसलाई गुम्न दिन हुँदैन ।’
संविधान निर्माणमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दिएको योगदानको सम्मान र प्रशंसा गर्दै आफ्नो पार्टीले मुलुकमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने ओलीको भनाइ थियो ।
नेम्वाङको अभावमा संविधान दिवस मनाउनुपर्ने दुःखद् अवस्था आएकाले उनको स्मरणमा आफ्नो पार्टीले ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम आयोजना गरेको ओलीको भनाइ छ ।
‘हामी संविधान दिवस पनि मनाइरहेका छौँ । र, जुन संविधान बनाउँदा संविधान बनाउने संविधानसभाको अध्यक्ष सुवाषचन्द्र नेम्वाङजी हुनुहुन्छ । यसपल्ट दुःखद् कुरा हो । यस अगाडिका संविधान दिवसहरू हामी उहाँको उपस्थितिमा मनाइरहेका थियौँ,’ ओलीले भने, ‘यसपल्ट उहाँको उपस्थिति नभएर सुवास नेम्वाङ र संविधान भनेर संविधानमा सुवास नेम्वाङको पदचिह्न के छ, उहाँको कन्ट्रिब्युसन के छ ? उहाँका चिन्हहरू के छ ? उहाँले दिनुभएको दिशा निर्देश, गोरेटको के छ ? उहाँका योगदानका पत्रहरू के छन् ? ती विषयहरूमा हामी छलफल गर्छौं, गरिरहेका छौँ ।’
प्रतिक्रिया