काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागि हुन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा पत्रकारसँगको भेटमा विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिएका हुन् ।
‘विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएका छौँ,’ प्रचण्डले भने, ‘अब विदेशमा बस्ने कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित गरिने छैन ।’
अर्को प्रसंगमा उनले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको बताए । प्रधानमन्त्री प्रचण्डले त्यसको नियमनका लागि सरकारले विशेष पहल गरिरहेका पनि जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि सरकार तयार रहेको बताए ।
उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरुलाई भन्दा पनि नकारात्मक कुरा गरेर कसरी बदनाम गर्न सकिन्छ भनेर केही गिरोह सक्रिय रहेको आरोपसमेत उनले लगाए ।
अर्को प्रसंगमा प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीको उपल्लो तहमै केहि समस्या देखिएको स्वीकार गरे। उनले अब त्यसलाई सच्याएर जानुको विकल्प नरहेको बताए ।
आगामी बिहीबार महासभालाई सम्वोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साईडलाईन बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ।
प्रचण्डले नेपाल अल्पविकसित राष्ट्रको अध्यक्ष भएका कारण पनि अहिले महासभामा सहभागि हुनु परेको बताए।
यसैगरी परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घको फोरम ठूला–साना सबै देशको साझा फोरम भएकाले सोहीअनुसार नेपालको सहभागिता रहने बताएका छन् ।
संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री साउदलाई अमेरिकामा रहेका विभिन्न सङ्घसंस्थाले आयोजना गरेका स्वागत तथा सम्मान कार्यक्रममा उनले नेपालले हासिल गरेको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याएको अनुभवलाई विश्वमाझ लैजान प्रयास गरिरहेको बताए ।
जनसम्पर्क समिति अमेरिकाको आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले विदेशमा भएका नेपालीलाई स्वदेशमा फर्किने वातावरण बनाउनका लागि वर्तमान सरकारले काम गरिरहेको बताएका थिए । मन्त्री साउदले भने “केवल तपाईंहरूको ज्ञान, सीप र पुँजीमात्र नभई देश निर्माण प्रक्रियामा हातेमालो गर्न सरकार सदैव तयार छ ।”
गैरआवासीय नेपालीहरूले प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने र त्यसरी चुनिएर आएको एकत्रित र बलियो संस्थाले मात्र विदेशमा बसेका नेपालीहरूको प्रतिनिधित्व गर्ने भएकाले यही भावनाअनुसार काम गर्न मन्त्री साउदले अनुरोध गरे ।
उनले विदेशमा बसेका नेपाली नागरिकलाई मताधिकार दिनका लागि गृह मन्त्रालयले प्रेषित गरेको पत्रलाई आफूले सैद्धान्तिक सहमति दिइसकेको उल्लेख गरे । मन्त्री साउदले विदेशमा बसेका नेपालीहरूको पासपोर्ट, भिसालगायतका समस्या सम्बोधन गर्न मन्त्रालयको सङ्गठानिक संरचनामा केही सुधारको पहल भइरहेको जानकारी दिए ।
उनले अमेरिकाजस्तो प्रजातान्त्रिक मुलुकमा बसेर यहाँ हासिल भएको प्रजातान्त्रिक संस्कृति, संस्कार र व्यवहारलाई नेपालमा लैजान अनुरोध गर्दै भने, “तपाईंहरू विकसित र प्रजातान्त्रिक देशमा बसेर यहाँ जुन प्रक्रिया र प्रणाली अङ्गिकार गर्नुभएको छ त्यसको अभ्यासमा नेपाललाई लैजान म अनुरोध गर्दछु ।”
उनले एक प्रसङ्गमा नेपालको परराष्ट्र नीति हिजोका दिनमा विचार या सिद्धान्तका आधारमा कहिले दायाँ त कहिले बायाँ ढल्किएको अनुभव गरिएको भएता पनि अहिले प्राकृतिक सिद्धान्तअनुसार स्वभाविक आधारमा ल्याउन प्रयास गरिएको बताए ।
कार्यक्रममा पूर्वमन्त्री जीतेन्द्र देव, जनसम्पर्क समितिका सभापति आनन्द विष्टलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
यसैगरी संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटघाट भएको छ ।
आइतबार सम्पन्न सो भेटको उनीहरु बीच विश्व शान्ति र सुरक्षाका बारेमा छलफल भएको राष्ट्रसङ्घका लागि नेपाली नियोगले जनाएको छ । साथै शान्ति स्थापनाका लागि खेल्नुपर्ने विभिन्न मुद्दाहरूमा छलफल भएको बताइएको छ ।
भेटघाटको अवसरमा परराष्ट्र सचिव भरतराज पौड्याल, राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए ।
यसैबीच अध्यक्ष राष्ट्र नेपालको लगातार प्रयासका बाबजुद संयुक्त राष्ट्र संघको महासभाका दौरान हुँदै आएको सार्क मन्त्रीस्तरीय साइडलाइन बैठक यो वर्ष पनि नहुने भएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष नेपालले अफगानिस्तान बाहेक सबै मुलुकलाई आग्रह गरेपनि भारत र पाकिस्तानको प्रतिद्वन्द्वीताका कारण साइडलाइन बैठक नहुने भएको हो ।
अध्यक्ष नेपालका प्रयासका बाबजुद सन् २०२० यता महासभाको दौरान हुने उक्त साइडलाइन बैठक हुन सकेको छैन । उच्च कूटनीतिक स्रोतका अनुसार भारत र पाकिस्तानबीच सहमति नहुँदा फेरि साइडलाइन बैठक हुन नसकेको हो । सन् २०१४ देखि अर्को सार्क शिखर सम्मेलन नभएका कारण नेपाल अध्यक्ष रहँदै आएको छ ।
सार्क अध्यक्षको हैसियतमा नेपालले नै सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठक राख्नुपर्ने हुन्छ । नेपालले अहिले सार्क मन्त्रीस्तरीय बैठक गरेर भारत र पाकिस्तानको बीचमा विश्वासको वातावरण बनाएर काम गर्न खोजे पनि त्यो सफल हुन सकेन । एक साताअघि नै न्युयोर्क पुगेका परराष्ट्रमन्त्री एनपी साउदले नेपालको लगातारको कोसिसका बाबजुद बैठक हुने अवस्था नदेखिएको बताएका छन् ।
यसैगरी परराष्ट्रमन्त्री साउदले जलवायु परिवर्तनले पारेको असरबाट जुध्न विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न विकसित राष्ट्रलाई अपिल गरेका छन् ।
जैविक ऊर्जाको भविष्यका लागि सांसदको सञ्जाल (पार्लियामेन्टरियन्स नेटवर्क फर अ फोसी फयुल फयुचर) द्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थितिको गाम्भिर्यतालाई दृष्टिगत गर्दै भावी पिँढीका लागि कार्ययोजना निर्माण गर्न समन्वयत्मक ढङ्गले अगाडि बढनुपर्ने चुनौती देखापरेको बताएका छन् । उनले जैविक ऊर्जाको विस्थापनका लागि प्रक्रियागत रणनीतिका बारेमा अतिकम विकसित देशको अध्यक्षको हैसियतले मुख्य वक्ताका रूपमा कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
कार्यक्रममा मन्त्री साउदले विकासशील राष्ट्रले प्रतिबद्धता जनाएअनुसारको ‘ग्रीन क्लाइमेट फन्ड’मा ‘एक सय अर्ब’ उपलब्ध गराउनुपर्ने र सन् २०२५ सम्ममा दोब्बर वृद्धि गर्नुपर्ने कुरामा जोड दिए ।
उनल भने , “हामीहरूले विकसित देशहरूलाई स्वच्छ ऊर्जा उत्पादन वृद्धि गर्न र जैविक ऊर्जाको खपत कम गर्न सदैव भनिररहेका छौँ । हामी हाम्रा विकास साझेदारहरूलाई अतिकम विकसित राष्ट्रहरूमा प्रविधिको रुपान्तरण गर्दै स्वच्छ तथा नवीकरणीय ऊर्जाको प्रयोगमा वढोत्तरी गराउन अनुरोध गर्दछौँ ।”
जैविक ऊर्जाको भविष्यका लागि सांसदहरूको सञ्जाल पार्लियामेन्टरियन्स नेटवर्क फर अ फोसी फयुल फयुचरमा ७० देशका सात सय बढीले हस्ताक्षर गरेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न जैविक ऊर्जालाई विस्थापित गर्ने अभिप्रायले स्थापित संस्था हो ।
यसैबीच संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार न्यूयोर्क पुगेका छन् । प्रधानमन्त्रीसहितको ११ सदस्यीय टोली शनिबार साँझ प्रस्थान गरेको थियो ।
प्रधानमन्त्री दाहाल मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । यस्तै असोज ४ गते संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहालले सम्वोधनमा विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धता समावेश गर्नेछन् । उनले न्युयोर्कमा संयुक्त राष्ट्रसंघको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलाई समेत सम्बोधन गर्नेछन् ।
न्यूयोर्कमा रहँदा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यतालिका छ । उनले विभिन्न देशका आफ्ना समकक्षीसँग समेत भेटवार्ता गर्नेछन् ।
सरकारको प्रवक्ता रेखा शर्माका अनुसार प्रधानमन्त्री तीन शीर्षकको कार्यक्रममा सहभागी हुने छन् । जलवायु परिवतर्न, कम विकसित राष्ट्र र नेपालको शान्ति प्रक्रियाकोबारेमा थप स्पष्ट पार्नका लागि सम्बोध गर्ने तालिका छ ।’
प्रधानमन्त्री दाहाल असोज ५ गते न्यूयोर्कबाटै चीनको औपचारिक भ्रमणमा जानेछन् । चीनको हाङझाउमा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्ने कार्यतालिका छ । उनी १९ औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा पनि सहभागी हुनेछन् ।
बेइजिङमा असोज ८ मा प्रधानमन्त्री ली छियाङसँग द्विपक्षीय वार्ता हुने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रको अवलोकन गर्नेछन् ।
उनले तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीको टोली चीनबाट १३ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच न्यूयोर्कस्थित मुख्यालयमा आइतबार भेटवार्ता भएको छ । भेटमा उनीहरु बीचमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने, जलवायु परिवर्तन, शान्ति स्थापना, आपसी सहकार्य र साझेदारीलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन् । उनले यही असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।
प्रतिक्रिया