यी हुन् नेम्वाङको निधनपछि बसेको एमाले सचिवालय बैठकका निर्णय

काठमाडौं । नेकपा (एमाले)ले स्वर्गीय उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा विशेष शोक प्रस्ताव पारित गरेको छ । नेम्वाङको निधनपछि बसेको सचिवालयको आकस्मिक बैठकले विशेष शोक प्रस्ताव पारित गरेको हो ।

नेम्वाङको निधनले पार्टी मात्र नभएर देश नै शोकमग्न भएको एमालेले बताएको छ ।

‘पार्टी परिवारमात्र होइन, सिंगो देश शोकमग्न भएको छ । बैठकले उहाँको योगदानको मूल्यांकन गर्दै विशेष शोक प्रस्ताव पारित गरेको छ,’ बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘मुलुकको संविधान निर्माणका लागि उहाँले खेल्नु्भएको भूमिका नेपालको इतिहासमा अमिट रहेको छ । दुई–दुईपटक संविधानसभाको अध्यक्ष बन्ने दुर्लभ अवसर उहाँले पाउनुभएको हो । नेकपा (एमाले)का उपाध्यक्षको रुपमा, संसदीय दलको उपनेताको रुपमा, सार्वजनिक लेखा समितिको सभापतिको रुपमा उहाँले आफ्नो जिम्मेवारी खरो रुपमा निर्वाह गर्नुभएको छ ।’

ज्ञवालीले नेम्वाङ कति लोकप्रिय थिए भन्ने कुरा उनले लगातार चुनाव जितेबाटै प्रस्ट हुने बताए ।

‘उहाँ कति लोकप्रिय हुनुहुन्थ्यो भन्ने कुरा उहाँले ०५६ सालदेखि लगातार पाँचपटक चुनाव जितेबाट पनि प्रष्ट हुन्छ,’ ज्ञवालीले भने ।

एमालेले नेम्वाङको सम्मानमा तीन दिनसम्म देशभरका सबै पार्टी कार्यालयमा पार्टी झण्डा आधा झुकाउने निर्णय गरेको छ । यस्तै, केन्द्रीय कार्यालय, प्रदेशिक कार्यालयहरु र इलाम जिल्ला पार्टी कार्यालयमा शोक पुस्तिकासमेत राख्ने निर्णय एमालेले गरेको छ ।

पार्टी र अन्तर्गतका सबै जनवर्गीय संगठनले तीन दिनसमम सबै औचापरिक कार्यक्रम स्थगित गरेको पनि ज्ञवालीले जानकारी दिए । ‘असोज २ गते उहाँको सम्मानमा पार्टी केन्द्रीय कार्यालयको आयोजनामा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिनेछ,’ ज्ञवालीले भने ।

प्रतिक्रिया