खानेपानीले फेरियो दुर्गम गाउँको दैनिकी

रुकुम पश्चिम । रातदिन खानेपानीको जोहो कसरी गर्ने भन्ने चिन्तामा रहने आठबिसकोट नगरपालिका–३ का पारस विकलाई झिसमिसेमै डोकोमा गाग्री बोकेर पानीका लागि भौंतारिरहनु नपर्ने भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –३ खदी गाउँ एकदमै दुर्गम गाउँका रुपमा चिनिन्छ । प्रयाप्त खानेपानी नहुँदा यहाँका स्थानीयले कुलो, कुवाँको पानी पिउन बाध्य थिए ।

त्यो पनि सहजै पाइदैँन थ्यो । बिहानै उठेर लाइनमा बस्नुपर्ने हुन्थ्यो । पानी भर्न प्रतिस्पर्धा गर्नुपर्ने बाध्यतासँगै दैनिक झगडा नगरे पानी पिउन पाइँदैनथ्यो । लामो समयपछि बल्लतल्ल यहाँका नागरिकको दैनिकी सहज भएको छ । देशमा बनेको संघीय संरचना पछी आएको स्थानीय सरकारले गाउँमा एक घर एक धारा कार्यक्रम मार्फत पानी वितरण भएपछि अहिले उनी घर आँगनमै रहेको धारामा पानी थाप्छ्न ।

पारस विक जस्तै अर्का धज्जे दमाई आफ्नै घर आँगनमै खानेपानीको धारा आउला भन्ने सपनामा पनि नसोचेको बताउँछन् । ‘अब बिहान सबेरै काँधमा गाग्री बोकेर खानेपानी खोज्दै हिँड्न परेन । हरेक दिन सुत्नेबेला खानेपानीकै चिन्ता हुन्थ्यो, अहिले त्यो समस्या हट्यो,’ दमाइले भने । सदरमुकाम मुसिकोटबाट ४५ किलोमिटरको दूरीमा छ खदी गाउँ यो गाउँमा खानेपानी नहुँदा दुषित पानी पिउँदा यहाँका बासिन्दाहरु झाडापखाला, आउँ, ज्वरो, हैजा जस्ता सरुवा रोगहरुको सिकार बन्ने गरेका थिए ।

खानेपानीकै समस्याका कारण कतिपय स्थानीय बीच आपसी सद्भाव मात्रै भट्किएन तछाडमछाडले यहाँ द्वन्द्व नै चर्किन्थ्यो । यहाँका महिलाको दैनिकी डोकोमा गाग्री बोकेर पानीको खोजीमा भौँतारिँदैमा बित्थ्यो । अहिले गाउँका प्रत्येक घरमा धारा जडान गरी आँगनमै पानी आउँदा उनीहरूको खुसीको सीमा छैन । यसअघि गाउँलेले गाउँभन्दा करिब एक घण्टा माथि रहेको कुँवाको पानी उपभोग गर्दै आएका थिए । हिउँदमा मुहान सुक्दै जाँदा घण्टौं पालो कुर्नुपर्ने बाध्यता थियो भने बर्खाको समयमा आकाशे पानी र कुवाको धमिलो पानी पिउनुपर्ने बाध्यता थियो । गाउँ–गाउँमा सिँहदरबार आएको आभास भएको यहाँका स्थानीय बताउँछन् ।

स्थानीय सरकार आएसँगै गाउँमा खानेपानीको समस्या समाधान भएपछि अहिले दैनिकी फेरिएको छ । खदीको तलीगाउँ, माथिगाउँ, पाटागाउँ लगायतका गाउँमा एकघर एक धारा सञ्चालनमा आएका छन् । गाउँगाउँमा पानी पुगेपछि अहिले सबेरै खानेपानीकै निम्ति भौतारिनुपर्ने बाध्यताबाट मुक्त भएको वडा अध्यक्ष केशरमान विकले बताए । विकले भने, ‘म निर्वाचित भएर आउँदा वडा लथालिंग थियो ।

गाउँमा बिजुली थिएन, कुवा र कुलोको फोहोर पानी खाएर धेरै जसो बिरामी हुन्थे । केही वर्ष अघिसम्म हामी खानेपानीको जोहो गर्दैमा दिन बित्थ्यो । भालेको डाकसँगै खानेपानी लिन धारा पधेँरीमा पुग्थ्यौं तर, अहिले खानेपानीको समस्या टरेको छ । घरमै पानी आउँछ । योसँगै दुर्गमको सुगम वडा बनाउन प्रत्येक घरमा फुस हटाएर जस्ताको छानो, व्यवस्थित सौचालय र नियमित सरसफाइ अभियान चलाएका छौँ ।’ खदी गाउँ भन्दा अलि पर स्याला र पाहाडा गाउँ छ ।

यो गाउँपनि खदीभन्दा सुगम छैन । खानेपानीको सधैँ हाहाकार झेलेका यहाँका बासिन्दा अहिले प्रत्येक घरको धाराबाट प्रयाप्त पानी उपभोग गर्दै आएका छन । भौगोलिक रुपमा विकट र टाढाको वस्ती भएको यो गाउँमा खानेपानीले नै दैनिकि फेरिदिएको छ । साविकको स्यालाखदी गाविस अन्तर्गत पर्ने आठबिसकोट नगरपालिकाको १, २ र ३ नम्वर वडा अहिले दुर्गमका सुगम वडाहरु बन्दै छन् ।

नगरपालिकाले १४ वटै वडाहरुमा खानेपानी, सडक, विद्युत, स्वास्थ्य र शिक्षाको पहुँच बढाए पछी यहाँको जिवन स्तर बदलिँदै गएको हो । घण्टौँ समय लगाएर पानी बोक्नुपर्ने, बिरामी हुँदा एक दिन लगाएर बोकेर अस्पताल लिनुपर्ने र टुकिको भरमा रात कटाउनुपर्ने बाध्यता स्थानीय सरकार आएसँगै अन्त्य भएको छ । त्यस्तै आठबिसकोट नगरपालिकाको ४, ५ र ६ वडामा पनि खानेपानीको अभाव हटेको छ । वडा नम्वर ६ मन्काका बासिन्दाले यस अघि ठुलीभेरी नदीको पानी पिउँदै आएका थिए ।

अहिले गर्थला खानेपानी आयोजना निर्माण हुँदै छ । यो आयोजनाबाट वडाका मनका गाउँ र मनका बगरका स्थानीय लाभान्वित हुने वडा कार्यालयले जनाएको छ । गाउँभन्दा ४ किलोमिटर टाढा रहेको गर्थला मुहानबाट गाउँमा पानी ल्याईदै छ । यो आयोजना संघीय खानेपानी आयोजना सुर्खेतले कार्यान्वयन गरिरहेको छ । हिमाली जिल्ला डोल्पासँग सिमाना जोडिएको मन्का र त्रिवेणी गाउँमा भेरी नदीको पानी पिउँने बाध्यता टरेको स्थानीय राधा बोहोराले बताइन् ।

उनले भनिन्, ‘भेरीबाट गाग्रीमा पानी बोकेर ल्याउथ्यौँ । वर्खाको समयमा पानी दुषित हुँदा बिभिन्न रोगको सिकार बन्नुपथ्यो । तर केहि वर्ष यता घर घरमा खानेपानीको धारा सञ्चालनमा आएपछी सहज हुँदै गएको बोहोराले छ ।’ हिमाली जिल्ला डोल्पासँग जोडिएका यी दुर्गम गाउँका वडामा वडा नम्वर ३ मा पाँच सय एकासी, ४ नम्बर वडाका पाँच सय ६६ घरपरिवार, ५ नम्बरका ६ सय र ६ नम्बर वडाका पाँच सय ४६ घरपरिवार गरेर २५ सय १२ घरघरपरिवार खानेपानीबाट लाभान्वित भएका छन् ।

वडा नम्वर ४ मा घट्टेखोलाबाट पानी बोकेर खानुपर्ने बाध्यता हटेको वडाअध्यक्ष नरसिंह बिष्टले बताए । गाउँमा खानेपानीको धारा आएपछी आरुखोला, बिष्टगाउँ र चौतारामा घरमै स्वच्छ पिउने पानीको उपभोग गर्दै आएको उनले बताए । पछिल्लो केहि वर्ष यता बस्तीबस्तीमा खानोपानी पुगेसँगै यहाँका स्थानीयको घरको करेसाबारी हरियाली देखिन थालेको छ ।

आयोजना सञ्चालनपछि खानेपानीको समस्या टर्नुका साथै आफ्नै करेसाबारीमा तरकारी उत्पादन गर्दै आएको वडा नम्वर ४ का स्थानीय ललित बिष्टले बताए । ‘पहिले पहिले खानेपानी अभाव हुँदा मानिसलाई पिउने पानी पाउन नै सकस थियो, पशुचौपायालाई त कुरै थिएन तर, अहिले घरमा तरकारी खेती गर्दै आएका छौँ । तरकारी किन्नु पर्दैन । खानेपानी आयोजनाले गाउँ नै फेरिएको झैँ लागेको छ,’ उनले भने ।

खानेपानीकै लागि हाहाकार बनेका दुर्गमका गाउँ पाँच वर्षको अवधिमा यी सबै समस्याबाट मुक्त भएका छन् । वडा नम्वर ५ मा मोहखोला खानेपानी आयोजना र साटाखोला खानेपानी आयोजनाको काम भइरहेको र एक घर एक धारा कार्यक्रम सञ्चालनमा आउने अन्तिम तयारी रहेको वडा अध्यक्ष घनश्याम भण्डारीले बताए । उनका अनुसार गाउँदेखि १० किलोमिटर टाढा रहेको झिम्रीखोलाबाट सिचाइका लागि गाउँमा पानी ल्याइएको छ ।

यी गाउँ जस्तै पालिकाका १४ वटै वडामा एक घर एक धारा कार्यक्रम लागु गरिएको र आर्थिक वर्ष भित्रै सबै वडाहरुमा खानेपानी पुग्ने नगरप्रमुख रवि केसीले बताए । उनले भने, ‘एकदमै विकट गाउँ उभोखोला, पहाडा र खदीगाउँको सबै बस्तीमा सडक, शिक्षा, स्वास्थ्य, शौचालय, खानेपानी र बिजुलीको पहुँच विस्तार भएको छ ।’

संघीयता पछी देशमा तीन तहको सरकार बनेसँगै विकट गाउँमा विकासले गति पाएको उनले सुनाए । केसीका अनुसार आठबिसकोट नगरपालिकाको केन्द्र राडीबजार, बगर लगायतका ठाउँमा एक घर एक धारा पूर्ण रुपमा सञ्चालनमा ल्याइएको छ । भने अन्य वडाहरुमा पनि निर्माण कार्य भइरहेको छ ।

प्रतिक्रिया