एमाओवादीलाई महासंघ

mao officeकाठमाडौं, १५ माघ । प्रमुख सत्ताधारी एमाओवादीको नाम फेर्नुका साथै पार्टीलाई महासंघको संरचनामा लैजान प्रस्ताव आएको छ । एक सातापछि हेटांैडामा हुने पार्टी महाधिवेशनमा यसबारे छलफल हुनेछ ।

एमाओवादीको महाधिवेशन आयोजक समितिका सदस्य तथा निवर्तमान पोलिटब्युरो सदस्य गोपाल किरातीले पार्टीको नाम फेर्नुपर्ने प्रस्ताव ल्याएका हुन् । राज्य तहमा छुट्टाछुट्टै कम्युनिस्ट पार्टी बनाएर केन्द्रमा ती सबैको महासंघ हुने गरी पार्टी संरचना बनाइनुपर्ने उनको प्रस्ताव छ । पार्टीको नयाँ नाम ‘संघीय नेपाल कम्युनिस्ट पार्टी(माओवादी)’ राखिनुपर्ने किरातीको प्रस्ताव छ ।
नेता किरातीले आºनो अवधारणाबारे केही समयअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत नेतालाई लिखित जानकारी नै गराएका थिए । उनले पार्टी फोरममा त्यसमाथि छलफल गराइनुपर्ने माग गर्दै आएका थिए ।
महाधिवेशनमा लैजान अध्यक्ष दाहालले आयोजक समितिमा पेस गरेको राजनीतिक प्रतिवेदनमाथि यही विषयलाई लिएर किरातीले गत २७ पुसमा फरक मत राखेका थिए । ‘नेपाली क्रान्तिको नयाँ संश्लेषण : एक ऐतिहासिक आवश्यकता’ नामक अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमा किरातीको ११ पृष्ठ लामो फरक मत पनि समावेश गरिएको छ ।
‘हाम्रो महान् तथा गौरवशाली पार्टीको नामको एकीकृत शब्द हटाएर संघीय नेपाल कम्युनिस्ट पार्टी(माओवादी) कायम गरियोस् । जसले पार्टीको नामबाट समेत संघीयता प्रत्याभूत गर्दछ,’ किरातीको फरक मत समावेश गरिएको अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनको पृष्ठ ९३ मा उल्लेख छ ।
राज्य तहमा छुट्टाछुट्टै र स्वायत्त कम्युनिस्ट पार्टी गठन गरिनुपर्ने किरातीको प्रस्ताव छ । राज्य तहका सबै पार्टीको छाता संगठन(महासंघ)का रूपमा केन्द्रमा नयाँ नामसहितको पार्टी हुनुपर्ने उनको प्रस्ताव छ । ‘हाम्रो पार्टी एमाओवादी र संविधानसभा राज्य पुन:संरचना समितिले प्रस्तावित गरेको संघीय इकाइलाई समायोजन गरी राज्य कम्युनिस्ट पार्टी गठन तथा सञ्चालनको संरचना अख्तियार गरियोस्,’ किरातीको फरक मतमा उल्लेख छ ।
उनको प्रस्तावअनुसार ‘कोचिला कम्युनिस्ट पार्टी,’ ‘लिम्बुवान कम्युनिस्ट पार्टी,’ ‘किरात कम्युनिस्ट पार्टी,’ ‘मधेस कम्युनिस्ट पार्टी,’ ‘ताम्सालिङ कम्युनिस्ट पार्टी,’ ‘नेवा: कम्युनिस्ट पार्टी,’ ‘तमुवान कम्युनिस्ट पार्टी,’ ‘मगरात कम्युनिस्ट पार्टी,’ ‘थारुवान कम्युनिस्ट पार्टी,’ ‘खसान कम्युनिस्ट पार्टी’ लगायत बनाइनुपर्छ । यी सबैको नेतृत्व महासंघका रूपमा संघीय नेपाल कम्युनिस्ट पार्टी(माओवादी)ले गर्नुपर्ने किरातीको प्रस्ताव छ ।
नेता किरातीले आºनो प्रस्ताव ‘पार्टीलाई एक किसिमले महासंघ नै बनाउने’ भएको बताए । ‘एक किसिमले केन्द्रमा पार्टीलाई महासंघ नै भन्नुपर्‍यो । ठ्याक्कै महासंघ नै नभए पनि कुरा त्यस्तै–त्यस्तै हो । अहिले हाम्रो अध्यक्ष कमरेड प्रचण्डले नेतृत्व गर्नेचाहिँ महासंघ हुने भयो भन्नुपर्‍यो,’ किरातीले सौर्यसँग भने ।
पार्टीले लिएको सर्वहारा वर्गीय आन्दोलन र जातीय मुक्ति आन्दोलनबीच समायोजनको नीति लेनिनवादी भए पनि व्यावहारिक अभ्यासको विधि निर्माण हुन नसकेकाले आफूले अध्यक्षको प्रतिवेदनमाथि फरक मत राख्नुपरेको किरातीले जनाएका छन् ।
‘पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनद्वारा सर्वहारा वर्गीय आन्दोलन र जातीय मुक्ति आन्दोलनबीच समायोजनको जुन नीति निर्माण भएको छ, लेनिनवादी आधारमा यो एकदम सही छ । परन्तु त्यसअनुकूलको समायोजन विधि(व्यावहारिक अभ्यासको विधि) निर्माण नहुनु जोखिमपूर्ण कुरा हो । अत: संघीय संरचनाको कम्युनिस्ट पार्टी निर्माणको सांगठनिक कार्यदिशाका अन्तरवस्तु, त्यसको पृष्ठभूमि र विश्लेषण, सम्भावित टिप्पणीहरूको निरूपण, उक्त कार्यदिशा अख्तियार गर्दा हुने उपलब्धि र सम्भावित चुनौतीहरूको संक्षिप्त विश्लेषण एवं वर्गीय र जातीय आन्दोलनबीच समायोजन विधिबारे प्रश्नहरूसहितको फरक मतको यो प्रस्ताव प्रस्तुत गरिएको छ,’ किरातीले अध्यक्ष दाहालको प्रतिवेदनमाथि फरक मत राख्नुको कारण खुलाएका छन् ।
पार्टी अध्यक्ष दाहालसहितका खस–बाहुन एमाओवादी नेताहरूमा बाहुनवादी अहंकार कायम रहेको दाबी पनि नेता किरातीले आºनो फरक मतमा गरेका छन् । खस–बाहुन नेताहरूबाट जनजाति र उत्पीडित क्षेत्रका नेता–कार्यकर्तामाथि सामन्ती रवैया प्रकट हुने गरेको उदाहरण उनले पेस गरेका छन् ।
‘गत सेप्टेम्बरमा क. गिरिराजमणि पोखरेलसम्बद्ध एक पार्टी डिसिएम(बाहुन)ले इटहरीस्थित आºनो घरमा खाना खान कर गरे । उच्च वर्गतर्फ लम्किरहेका ती डिसिएमले खाना दिँदा क. पोखरेललाई काँसे थालमा दिए भने सँगै बसेका हामीलाई अन्य सस्तो थालमा । अन्य खानाको परिकार वितरण पनि हिन्दू वर्णव्यवस्थाअनुसारकै अन्तरको थियो । त्यो वस्तुत: बाहुन वितरण प्रणाली हो । अरू जातिमा पनि सामन्ती अवशेष अवश्य छन् । तर, जनजाति र दलित सामन्तवादले राज्य र पार्टी सञ्चालनमा अहिले प्रभावित गर्दैन र यो मुख्य टिप्पणीको विषय बन्दैन,’ उनले उदाहरण दिँदै आºनो फरक मतमा उल्लेख गरेका छन् ।
आफूले उठाएका मुद्दालाई पार्टीले सम्बोधन नगरे महाधिवेशनमा मतदानमा लैजाने नेता किरातीले बताए । ‘पार्टीले यो गम्भीर विषयलाई सम्बोधन गर्छ भन्ने मलाई विश्वास छ, नगरे महाधिवेशनमा मतदानमा लगिन्छ,’ उनले भने ।

प्रतिक्रिया