कसरी हुनगयो यसरी नेपालको अधोगति ?

Dirgha-Raj-Prasaiनेपालको यस्तो दुरावस्था कसरी भयो ? नेपाल अहिले अत्यन्त नाजुक भएको छ । यो स्थितिमा देशलाई पुर्‍याउने के कारण हुन् र कसरी हुनगयो ? यो अधोगतिको जिम्मेवारी अब कसले लिन्छ ? २०६३ सालपछि सत्ता कब्जा गरेका नेपाली कांग्रेस, एमाले, माओवादीहरू देशमा आएको खतराप्रति जिम्मेवारी लिन चहाँदैनन् । यसको आधिकारिक जिम्मेवार शक्ति को हो ? हिजो राजाले परिस्थितिको अध्ययन गरेर देशलाई निकास दिलाउने काम गर्थे । आज राजा पाखा लागेका अवस्थामा देश डुब्दै छ ।
देश संविधानविहीन भएको बेला र मन्त्रिपरिषद् विघठित रहेको अवस्थामा देशलाई संकटबाट बचाउन एक मात्र वैधानिक संस्था नेपाली सेना हो । देशको यो अधोगति भइरहेको अवस्थामा नेपाली सेनाको के आशय छ बुझ्न सकिएको छैन । केही काम नगरी ४ वर्षसम्म संविधानसभाको नाममा राष्ट्रपति, मन्त्रिपरिषद् तथा ६ सय एक सभासदहरूले अनर्थमा राष्ट्रको अरबौं राजस्वमाथि लुट मच्चाउने काम गरे । ०६९ जेष्ठ १४ गते संविधानसभा भंग भइसकेपछि पनि पदीय हैसियत गुमाइसकेका राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत माओवादीले देशलाई अन्धकार भविष्यतर्फ धकेल्दै छन् । संविधानसभा भंग भएपछि मात्र सहमतिको अनर्गल कुरा उठाएर सुशील कोइरालालाई बाबुराम भट्टराईहरूले बोका बनाउँदै सत्ता नछोड्ने धम्की दिँदै ब्रम्हलुट मच्चाउँदै छन् । भारतीय गुप्तचर संस्थाको आडमा, घामले तातेको बालुवा जस्तो माओवादीले कांग्रेस र एमालेका नेताहरूलाई घेराबन्दीमा पारेको छ । वास्तवमा ०६२ साल मंसिरको १२ बुँदे सहमतिपछि प्रजातन्त्रवादी शक्तिसमेत विदेशीको पारामा लागेर जनआन्दोलनको नाममा माओवादीको काँधमा चढेको परिणाम देश अनिर्णयको बन्दी बनेको छ ।
डा. शास्त्रदत्त पन्तले आजभन्दा १५ वर्ष अगाडि नै ‘नेपालमा ‘रअ‘ को चलखेल’ भन्ने पुस्तक विमोचन गराएर नेपाललाई बरबाद गर्नसक्ने रणनीति भारतीय गुप्तचर संस्था ‘रअ‘ ले लिएको छ भन्ने कुरा सार्वजनिक गरेका थिए । तर, त्यसबेला हामीले त्यत्ति चासो राखेनौँ । अहिले उसैका घातक रणनीतिको कारणले भारत पनि असुरक्षित बन्न पुगेको छ । यसै सन्दर्भमा भारतीय एक विद्वान् राजीव मलहोत्रले ‘ब्रेकिङ इन्डिया’ नामक ४०० पृष्ठको पुस्तक सार्वजनिक गरेर मुसलमान राज्य, क्रिस्चियन र कम्युनिस्ट राज्य गरी भारत तीन टुक्रामा विभाजित हुनसक्छ भन्ने सार्वजनिक गरेका छन् । उनी कट्टर हिन्दू, प्रजातन्त्रवादी प्रस्तोता हुन् । भारत टुक्रिनुमा यसको सम्पूर्ण दोष कांग्रेस ‘आई’ को सोनिया सत्तालाई लगाएका छन् । भारतप्रति नेपाली जनताको सम्मान हुँदाहुँदै पनि भारतीय सत्ता र उसको गुप्तचरी अखडाहरूले नेपालको अधोगति गराउन जुन चाल रचे त्यसैकारणले ०६३ सालपछि नेपाली जनमानसमा भारतविरोधी आक्रोश व्यापक हुँदै गइरहेको छ । नेपालमाथि भारत र पश्चिमाहरूको षड्यन्त्रकारी चाल देखेर चीन पनि आफ्नो सुरक्षाको लागि नेपालमा चासो राख्न थालेको छ । हामी नेपालीहरू चीन पक्षधर र भारत विरोधी अनि भारत पक्षधर र चीन विरोधी होइनौँ । दुई ठूला देशको बीचमा अवस्थित नेपालले, आफ्नो सार्वभौमसत्तालाई बचाएर राख्न, सधँै संतुलित र तठस्त बाटो अपनाएको हुन्छ भन्ने कुरा चीन तथा भारत दुवै राष्ट्रले बझ्न सक्नुपर्दछ । चीनले नेपालको अहित हुने काम गर्दैन । त्यसले गर्दा हामी चीनप्रति शसंकित छैनौँ । तर, भारतीय षड्यन्त्र र हस्तक्षेप अत्यधिक बढ्दै गएकाले त्यसलाई हामी सार्वभौम नेपाली जनता सहन सक्दैनौँ । अत: हाम्रो अनुरोध छ कि भारतले नेपाल जस्तो युगौंयुगदेखिको सार्वभौम मुलुकको सम्मान गर्न सकोस् ।
हिजो भारतले नेपालका माओवादीलाई प्रयोग गरेर नेपाललाई तर्साएर केही फाइदा लिन सकिन्छ कि भन्ने विश्वासले पालनपोषण गरेर नेपालको विरुद्ध लड्न पठाएको कुरा अहिले भारतीय सञ्चारमाध्यम लगायत गुप्तचर संस्थाले पनि भन्न थालेको छ । अहिले माओवादी भारतको लागि नै घाँडो बनेका छन् । तर, भारतीयपक्ष अहिले धेरै सचेत छ । अहिलेको यो अन्योलपूर्ण अवस्थामा अमेरिका, युरोपियन राष्ट्रहरू विभिन्न मानवअधिकार, ‘फ्री’ तिब्बत लगायत अनेकौं षड्यन्त्रपूर्ण नारा लिएर चीन टुक्रयाउने दाउमा छन् । नेपालका माओवादीसँग चीन पनि सशंकित छ । भारतपरस्त माओवादी नेता प्रचण्ड र बाबुराम भट्टराईको खतरनाक चाल देखेर चीनले उनीहरूलाई कालोसूचीमा राखिसकेको समाचारमा पढ्न पाइएको थियो । साथै चीनले खतरा देखेर आफ्नो सुरक्षाको लागि नेपालमा विभिन्न कार्यक्रम लिएर भित्रीनुपर्ने यही नै मुख्यकारण भएको छ ।
नेपालको अधोगति गराउनमा विदेशीहरूको अत्यधिक चलखेल एक नम्बरमा पर्छ भने कांग्रेस, एमाले र माओवादीका नेताहरूलाई उनीहरूले नेतृत्व तहमा पुर्‍याएर नेपालको पहिचान, एकता र सार्वभौमसत्तालाई चकनाचुर पार्नु थियो । उनीहरूले यही काम गरे । नेपाललाई बरबाद गर्नमा भारत, अमेरिका, युरोपियन राष्ट्रहरूको स्वार्थ मिलेको छ । नेपालका राजनीतिक पार्टीका नेताहरूले देशको संवेदनशीलता बुझ्न नसकेर देश र जनताले धोका पाए । २०६३ सालपछि कांग्रेसका गिरिजाप्रसाद कोइराला, एमालेका माधव नेपाल र झलनाथ, माओवादीका प्रचण्डहरू प्रधानमन्त्री बनेर देशको हित हुने कुनै काम गरेनन् । २०६८ भाद्रदेखि बाबुराम भट्टराई प्रधानमन्त्री बनेदेखि देशलाई झन्–झन् बिगार्ने काम गर्दैछन् । विचार विनाको लुटाहा गैरजिम्मेवार प्रवत्तिको बाटोमा पार्टीहरू देखिए । माओवादीको आडमा सत्ताप्राप्तिलाई नै कांग्रेस, एमालेहरूले सफता मान्न खोजेको परिणति आजको दुर्दशा हो ।
अहिले आफ्नै कारणले माओवादी फुटेर अन्योलमा फसेको छ । अरू फुट्दै जानेछन् । माओवादी यति बदनाम भएको छ कि फुटेपनि जुटे पनि नेपालको पहिचान, एकता र सार्वभौमसत्ता बचाउनेछैनन् । माओवादी मोहन वैद्य समूह पनि विचारमा स्पष्ट छैन । जनगणतन्त्रको हावाबाट वैद्य समूहले समर्थन पाउन सक्तैन । माओवादीले देशभक्तिको स्वरूप देखाउनु नै थियो भने हिजो विद्रोहको स्वाँङ गरेर १७रौं हजार नेपालीको प्रयोजनहीन हत्या गर्नैपर्ने थिएन । त्यसबेला बाबुराम भट्टराईहरूलाई भारतले तालीमकासाथ सहयोग दिएर आतंक मच्चाउन नेपालमा पठाएको कुरा वैद्य समूहका नेताले किन बुझ्न सकेनन् ? माओवादीले बैंक लुटे, विकाशका पूर्वाधारहरू भत्काए, जलाए, नष्ट गरे किन ? नेपालको पहिचान र अस्तित्वको मर्म बुझ्न नचाहनेहरूले जनतालाई छक्याएर धर्मनिरपेक्ष, गणतन्त्र र जातीय आधारको संघीयतालाई किन विदेशीको निर्देशनमा बोके ?
वास्तवमा बाबुराम भट्टराई प्रधानमन्त्री बनेका दिनदेखि नेपालको पहिचान, मान्यता र एकतालाई भत्काउँदै क्रिस्चियनीकरण गर्नेमा छन् । भारतको सहयोगमा भट्टराई नेपालमा आगो लगाउन वचनबद्ध भएका व्यक्ति हुन् । माओवादीले गर्दा अहिले कांग्रेसी नेता र एमालेहरू दाँत झरेको बाघ जस्तो भएका छन् । माओवादी नेताहरू हत्यारा, अपहरणकारी, लुटेरालाई बोकेर हिँड्छन् । सयौं ज्यानमारा, लुटेराहरूलाई भट्टराई सरकारले कैद माफी दिइआएको छ । ‘सय दिनको साधु एकपटकको चोर’ भनेझैँ माओवादीले आफ्नो सक्कली अनुहार देखाएको छ । अपवित्र गठबन्धनका सबै कुरा छर्लङ् भएका छन् । माओवादीका घातक व्यवहारले गर्दा नेपालको यो अवस्था इतिहासको कालो अध्यायमा परिणत हुँदैछ ।
[email protected]

प्रतिक्रिया