रुकुम पश्चिम । जिल्लाको आठबिसकोट नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम बिहीबार सम्पन्न भएकोे छ । कार्यक्रम आठबिसकोट नपाको आयोजना तथा एनपि स्टार मिडियाको सहजीकरणमा भएको थियो । पालिकाले आर्थिक वर्ष ०७९÷८० मा सम्पादन गरेको कामको प्रभावकारिता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाइ गर्ने उद्देश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।
नगरपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पारदर्शिता सुनिश्चित गर्नका लागि नगरपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले बताएका छन् । नगरपालिकाका अधिकृत मणिराज शाहको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रमको प्रमुख अतिथी आठबिसकोट नगरपालिकाका मेयर रवि केसी रहेका थिए ।
कार्यक्रममा नगरपालिकाका उपमेयर राजनीतिक दलका प्रतिनिधिहरू, जनप्रतिनिधि तथा सरोकारवालाका साथै स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमका सहभागीले नगरपालिकाको विकासका लागि सानाभन्दा पनि ठुला योजनामा केन्द्रित भएर लाग्न सुझाव दिएका छन् । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाव दिएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरूमा प्रष्टता ल्याउन र नागरिकबाट प्राप्त रचनात्मक सुझावहरूलाई ग्रहण गर्दै जिम्मेवार संस्कार बसाई आमनागरिकको चासो सरोकार तथा विकास निर्माण योजना र समस्याको समाधान गरी सेवाग्राहीका रूपमा आएका सर्वसाधारणप्रति सेवाप्रदायक निकायबाट भए गरेका क्रियाकलाप, उपभोक्ता समिति गठन प्रक्रिया, योजना सञ्चालन, पारदर्शिताको स्थानीय निकायमा सार्वजनिक सुनुवाइ कार्यविधि बमोजिम आमसर्वसाधारणहरूमा जानकारी गराइएको थियो । ताजा पत्रिकाका प्रधानसम्पादक अर्जुन बिष्टले कार्यक्रम सञ्चालन गरेका थिए ।
उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा विशेष गरी नगरवासीहरूले बाटोघाटो, विद्युत्, खानेपानी, भवन निर्माण, सडक निर्माण, खुल्लादिशा मुक्त क्षेत्रको अनुगमनमा कमी लगायतको समस्याको बारेमा जानकारी गराउँदै प्रश्नको माध्यमबाट समस्याको उपाय खोज्दै जिज्ञासा तथा सुझावसमेत राखेका थिए । कार्यक्रममा नगरको विविध समस्या तथा सावधानका उपाय बारेमा विचार विमर्शसमेत गरिएको थियो ।
कार्यक्रममा सहभागी अतिथिहरूले उठाएका सवालमाथि नगरप्रमुख रवि केसी, कार्यकारी अधिकृत मणिराज शाह र विषयगत शाखाका कर्मचारीहरूले जवाफ दिँदै समयमा नै विगतका कमजोरी सच्याएर सेवाग्राहीलाई मुस्कान सहितको सेवा दिने प्रतिबद्धता जनाएका थिए । नगरपालिकाको सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि उपस्थित सेवाग्राही तथा सरोकारवालाहरूलाई जानकारी गराएका थिए ।
रुकुम पश्चिम
प्रतिक्रिया