नेवाः विश्वविद्यालय स्थापना गर्न ललितपुर महानगरसँग बालेनको प्रस्ताव

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नेवाः सभ्यता सम्बन्धी विश्वविद्यालय स्थापना र वाग्मती नदीको सरसफाइका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन् । ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित कार्यक्रममा बालेनले सो यी दुवै काम काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका एक्लाएक्लैले गर्न नसक्ने भन्दै सहकार्य अनिवार्य रहेको बताए ।

मेयर बालेनले कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्न र यसलाई अन्तर्राष्ट्रियकरण गर्न पनि नेवाः सभ्यतामा आधारित विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । जग्गाको आवश्यक व्यवस्था भने ललितपुर महानगरपालिकालाई मिलाउन सहज हुने उनको धारणा छ ।

मेयर बालेनले सम्पदाहरूको संरक्षणमा ललितपुर महानगरपालिकाबाट काठमाडौं महानगरपालिकाले धेरै कुरा सिक्नुपर्ने बताए । उनले प्राचीन ढुंगेधाराहरूको संरक्षणमा ललितपुर महानगरपालिकाले अघि सारेको अवधारणाबाट सिकेर आफूहरूले पनि सो कामलाई अघि बढाउन पुल्चोक इन्जिनियरिङ कलेजसँग सहकार्य गरेर अघि बढ्न लागेको जानकारी दिए ।

प्रतिक्रिया