अचानोमा नेपाली कांग्रेस

नेपाली कांग्रेसका निष्ठावान नेता भीमबहादुर तामाङको निधन र कांग्रेस आई अध्यक्ष सोनिया गान्धीका विश्वासपात्र करण सिंहको नेपाल आगमनले कांग्रेसको छवि र साख पतनको दिशातर्फ उन्मुख भएको देखाएको छ । तामाङको दाहसंस्कार बिपीद्वारा प्रतिपादित प्रजातान्त्रिक समाजवादको आसन्न अन्त्येष्टिको द्योतक हो भने करण सिंहको भ्रमणबाट वर्तमान गठबन्धन सरकारलाई मिलेको धाप अन्तर्राष्ट्रिय समुदायबाट परित्यक्त कांग्रेस रद्दीको गन्हाउने टोकरीमा थन्किन लागेको तीतो यथार्थको प्रकट रूप हो ।
नेपालको भूराजनीति र समाज सम्बन्धमा बिपीको गहन तथा वस्तुपरक बुझाइ जिपीको पदलोलुपता र कांग्रेसीगणको दास मनोवृत्तिका कारण अहिले आर्यघाटमा छटपटाइरहेको छ । बिपीको निधनपछि शीतयुद्धको समाप्तिबाट निसृत: बाछिटालाई कांग्रेस पंक्तिले बुझ्न नसक्दा पहिलो जनआन्दोलन हुँदै दोस्रो जनआन्दोलनसम्मको राजनीतिक यात्राले मुलुकलाई अकल्पनीय क्षति पुर्‍याएको छ । दोस्रो जनआन्दोलनताका र त्यसपछि ‘सभ्यताबीचको टकवार’को हन्टिङटन सिद्धान्त अक्षरस लागू गर्न कम्मर कसेको साम्राज्यवादको नियतबारे भेउ पाउन नसक्दा कांग्रेस अहिले एक्लिएर निर्धो भएको छ । पहिलो जनआन्दोलनपछि जनताको भरोसा गुमाएको कांग्रेसले अन्तर्राष्ट्रिय समर्थन पनि गुमाइसकेको छ । देशभित्र टेक्ने जमिन र देशबाहिर समाउने हाँगाको अभावमा कांग्रेस अहिले भिरको चिचिण्डोभैँm अलपत्र झुन्डिरहेको छ ।
‘मुसा समात्न सक्छ भने त्यो राम्रो बिरालो हो, चाहे त्यसको रङ कालो अथवा सेतो जस्तोसुकै किन नहोस्’ भन्ने देङ स्याओपिङको भनाइलाई अक्षरश पालना गर्ने सोच सम्राज्यवादले बनाइरहेका बेला ‘हामीविना नेपालमा अन्तर्राष्ट्रिय समुदायको कुनै डेग चल्दैन’ भन्ने आत्मरतिमा कांग्रेस रमाइरहेको थियो । भारतलाई ‘लन्चिङ प्याड’ बनाएर माओवादीले नेपालविरुद्ध छद्मयुद्ध आरम्भ गर्दा समेत कांग्रेसले यसको छनक पाउन सकेन । दिल्ली प्रायोजित १२ बुँदे सम्झौतामा हस्ताक्षर गरेर ‘टेरोरिस्टलाई मेनस्ट्रिमिङ’ गरेको भ्रममा जिपी रमाइरहेका बेला कृष्ण सिटौला, अमरेशकुमार सिंहजस्ता एकाधबाहेक अन्य कांग्रेसीले ‘टेरोरिस्ट’ले नेपाली प्रजातन्त्रको धरोहर (?)लाई सुनियोजित रूपमा ‘पल्भराइज’ (ध्वस्त) गरिरहेको संकेतसम्म पनि पाउन सकेनन् । नभन्दै बाबुराम सरकारकै पालामा अमेरिकाले माओवादीलाई आतंकवादीको सूचीबाट मुक्त गर्‍यो । भारतको दरिलो टेकोका कारण लहराएको एमाओवादी–मधेसी मोर्चाको गठबन्धन सरकार अनेक प्रतिकूलताका बीच पनि सेपिलो भूमिमा एकाएक फस्टाउन पुग्यो । यत्तिले नपुगेभैँm गरी नेपाल आएर करण सिंहले बाबुराम सरकारकै नेतृत्वमा ‘सहमतीय सरकार’का लागि मार्गप्रशस्त गर्न पहल गरे, जुन काम उनले दिल्लीमै बसेर जयन्तप्रसादमार्फत सजिलै गराउन सक्थे । तर, ‘दिल्ली अब पर्दापछाडिको खेलाडी रहेन’ भन्ने स्पष्ट सन्देश दिई नेपाली स्वाभिमानलाई हीनताबोधको आगोमा भस्म गराउन र कोसी उच्च बाँध परियोजनालगायत भारतका काम फत्ते नभइन्जेल वर्तमान सरकारलाई कसैले हल्लाउन सक्दैन भन्ने सन्देश दिन उनले नेपाल भ्रमण गर्नु नितान्त आवश्यक थियो ।
कांग्रेसलाई अहिले कत्रो विडम्बना † जनताको सवाल उठाएर राजनीति गरौँ भने जनतामाझ एक पित्को विश्वसनियता पनि बाँकी छैन । विगतमा भैँm विदेशीको मुख ताकेर राजनीति गरौँ भने भारत–अमेरिकाको पोल्टामा एमाओवादी र चीन–पाकिस्तानको आँगनमा नेकपा–माओवादी पुगिसकेका छन् । नेपाली राजनीतिको अहिलेको विषम घडीमा नेपालसँगै कांग्रेसको अस्तित्व पनि धरमराइरहेकाले परालको त्यान्द्रोको साहाराले नदीका बहावबाट बँच्न कांग्रेस पंक्ती जुर्मुराएन भने नेपाललाई इतिहासका पानामा सीमित गर्ने षड्यन्त्रलाई सघाएको आरोप कांग्रेसको निधारबाट (यदि बच्यो भने) चिरकालसम्म पखालिन सक्ने छैन ।
कांग्रेससँग अन्तिम मौका
भावी प्रधानमन्त्री बन्ने रुमानी कल्पनामा रमाएका गगन थापा मार्काका कांग्रेसका युवा नेता र रामचन्द्र पौडेल मार्काका वृद्ध नेताले बुझ्नुपर्छ– मौजुदा राजनीतिक कोर्सबाट उनीहरूको राजनीतिक महत्त्वाकांक्षा पूर्ति हुन सक्दैन । भारत र इजरायललाई ‘कोर एली’ (मूल साझेदार) बनाएर इस्लाम तथा चिनियाँ जगतलाई ध्वस्त गर्न लागिपरेको साम्राज्यवादले पश्चिम युरोपलाई जारी क्रुसेडको ‘पेरिफेरियल एली’ (परिधीय साझेदार)को हैसियत प्रदान गरेर काम फत्ते गरिरहेको छ । अफगानिस्तान, इराक, लिबिया हुँदै सिरियामा ठोसिएको क्रुसेडले अब बाटो बनाउने भनेको चीन, इरान र उत्तर कोरियातिरै हो । अर्कोतर्फ साम्राज्यवादले ‘पेरिफेरियल एली’सँग मिलेर सभ्यताबीचको टकरावलाई ‘जातजातिबीचको टकराव’को लघु कायामा जन्म दिइरहेको छ । साम्राज्यवादको बृहत् तथा सूक्ष्म दुवै मोर्चाबाट उत्पन्न प्रभावको दुश्चक्रबाट नेपाल अछुतो रहन सकेको छैन । साम्राज्यवादको बृहत् रणनीति इन्डो–युएस एक्सिसका नाममा दिल्लीमार्फत नेपाल भित्रिएको छ । त्यसैगरी कम्युनिस्ट आवरणमा खुलेका जातिवादी पार्टी, विभिन्न जातीय समूह र उनीहरूको नाजीवादी सवालका प्रवक्ता बनेका एनजिओ/आइएनजिओले नेपालमा जातीय विद्वेश सिर्जना गरी साम्राज्यवादको सूक्ष्म रणनीतिलाई सफल पार्ने काम गरिरहेका छन् । यस्तो बेला कांग्रेसको उपादेयता साम्राज्यवाद र उसको क्षेत्रीय रणनीतिक साझेदार दुवैलाई छैन किनकि लेनिन र स्टालिनलाई नजिर बनाएर साम्यवादी सिद्धान्तमा जातिवादी एजेन्डा घुसाउन जति सहज प्रजातान्त्रिक संस्कारलाई जातीय कलेवर प्रदान गर्नु हुँदैन । त्यसैले कम्युनिस्ट एनजिओहरूले विदेशी सहयोग उग्राइरहेका बेला कांग्रेस समर्थित एनजिओ अहिले डलर अभावमा प्याक्प्याक्ती मुख बाइरहेका छन् । यस्तो बेला राजनीति गर्न अझै इन्डो–युएस एक्सिसको कृपा पर्खिएर बसे कांग्रेसले साँढेको पछि लाग्ने स्यालको नियति भोग्नुपर्ने निश्चित छ ।
कांग्रेससामु अब अस्तित्वरक्षाका लागि दुईवटा मात्रै विकल्प बाँकी छन् – पार्टीपंक्तिबाट विदेशी खुफिया एजेन्सीका दलालहरूको पहिचान गरी पार्टी शुद्धीकरण गर्ने र साम्राज्यवादी–जातिवादी प्रोपोगन्डासँग जुध्दै नेपाली जनताका वास्तविक चासोहरूका पक्षमा जनमत सिर्जना गरेर राजनीति गर्ने । नेपाल भ्रमणका क्रममा करण सिंहले ‘नेपाल र भारतबीचको राजनीतिक सम्बन्ध जस्तोसुकै भए पनि सांस्कृतिक सम्बन्ध युगौँयुगसम्म रहिरहन्छ’ भन्ने हुंकार गरी नेपाललाई राजनीतिक रूपमा निष्क्रिय पार्ने दिल्ली रणनीति अभिव्यक्त गरेका छन् । यस्तो अवस्थामा दोस्रो जनआन्दोलनताका कृष्ण सिटौलाले दिल्ली पुगेर नेपालविरुद्ध नाकाबन्दी गर्न भारतीय शासकलाई दिएको आत्मघाती सुझावकै शैलीमा राजनीति गरे निहित स्वार्थ बोकेका कांग्रेसीको उद्देश्य त पूर्ति होला तर भीमबहादुर तामाङजस्ता बिपीको प्रजातान्त्रिक समाजवादमा विश्वास गर्ने आमकांग्रेसी जमातका लागि भने त्योभन्दा ठूलो दुर्भाग्य अर्को केही हुनेछैन । कांग्रेसीगणलाई चेतना भया †

प्रतिक्रिया