तीस प्रतिशत अपांग विद्यालयको पहुँचबाहिर

विराटनगर, १७ मंसिर । मोरङमा अपांगता भएका बालबालिकामध्ये ३० प्रतिशत विद्यालय पहुँचबाहिर छन् । पारिवारिक, आर्थिक, सामाजिक, अपांगता, भौगोलिकलगायत समस्याले उनीहरू विद्यालय नपुगेका हुन् ।
अधिकांश बालबालिका अभिभावकमा चेतनाको अभाव, समाजमा अपांगप्रति गर्ने व्यवहार, अपांगताकै कारण हिँडडुल गर्नुपरेको समस्याका साथै भाषिक समस्याले विद्यालय जान नसकेको अपांगताका क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरूले जनाएका छन् । मोरङमा दुई हजार अपांगता भएका बालबालिका विद्यालय जाने गरेका छन् । तर, ती पनि कक्षा वृद्धिसँगै ‘ड्रप आउट’ हुने क्रम बढ्दो रहेको राष्ट्रिय अपांग महासंघ विराटनगरका कार्यक्रम संयोजक उत्तम सिवाकोटीले बताए । उनका अनुसार माध्यमिक तहसम्म पुग्दा ८० प्रतिशत ‘ड्रप आउट’ भइसकेका हुन्छन् ।
मोरङमा १२ स्रोतकेन्द्रमा १०–१० विद्यार्थी संख्यालाई आवासीय रूपमा पठनपाठनको व्यवस्था छ । तर, यतिको संख्याले मात्र नपुग्ने हुँदा स्रोतकेन्द्रमा मात्र नभई घरपायकको विद्यालयमा पनि बालबालिकालाई अपांगतामैत्री तरिकाले पठनपाठनको व्यवस्था मिलाउन आवश्यक रहेको सिवाकोटीले बताए । राष्ट्रिय अपांग महासंघले अपांगता भएका बालबालिकालाई विद्यालयसम्मको पहुँच बढाउन समावेशी शिक्षाको नीति लिएको छ । महासंघका अनुसार मोरङका ५ सय ६५ सरकारी विद्यालयमध्ये ४ सय १० का प्रधानाध्यापकलाई समावेशी शिक्षा नीतिबारे वकालत गरिरहेको महासंघले बताएको छ ।
शिक्षा कार्यालय मोरङका अनुसार विद्यालय जाने उमेरका करिब ७ प्रतिशत विद्यार्थी विद्यालय शिक्षाबाट वञ्चित छन् । सरकारले वर्षैपिछे भर्ना अभियान चलाए पनि प्रभावकारी हुन सकेको छैन भने विद्यालय भर्ना भएका बालबालिका पनि ‘ड्रप आउट’ हुने समस्या छ । उपसचिव टंक गौतमका अनुसार विद्यालय जाने उमेरका भएर पनि विद्यालय शिक्षाबाहिर रहेका सात प्रतिशत बालबालिकामध्ये अपांगता भएका र दलित बढी छन् । विद्यालयको पहुँचसम्म नआइपुगेका अपांगता भएका बालबालिकाका लागि शिक्षा कार्यालयले छात्रवृत्तिको अभियान सुरु गरेको उपसचिव गौतमले जानकारी दिए ।

प्रतिक्रिया