भारतविरुद्ध अमेरिकी प्रतिबन्ध लाग्न सक्ने

वासिङ्टन, २ चैत । इरानबाट तेल आयात नगर्न अमेरिकाले दिएको सुझाब अटेर गरे भारतमाथि प्रतिबन्ध लगाउन सक्ने अमेरिकी अधिकारीले जनाएका छन् । भारतले इरानबाट हुने तेल आयात नघटाए इरानी तेल खरिदमाथि प्रतिबन्ध लगाउने अमेरिकी कानुनअन्तर्गत भारतमाथि प्रतिबन्ध लगाउन सकिने ती अधिकारीले प्रस्ट पारेका छन् ।
अमेरिका–भारत सम्बन्धमै असर गर्ने भएकाले विषयको संवेदनशीलतालाई ध्यानमा राखेर अमेरिकी अधिकारीले आफ्नो नाम उल्लेख गर्न नचाहेको ब्लुम्वर्गको अनलाइन संस्करणमा बिहीबार जनाइएको छ । एसियामा भारतसँग रणनीतिक गठजोड निर्माण गरेको अमेरिकाले दिएको यस्तो चेतावनीलाई विश्वभर अत्यन्त चासोका साथ हेरिएको छ ।
इरानबाट आयात गर्ने तेल उल्लेख्य मात्रामा नघटाए २८ जुनदेखि भारतमाथि प्रतिबन्धात्मक कारबाही हुन सक्ने अमेरिकी अधिकारीको भनाइ उद्धृत गर्दै समाचारमा जनाइएको छ । यस वर्षको मध्यसम्म इरानी तेल आयातमा उल्लेख्य कटौती नगर्ने राष्ट्रको बैंकिङ क्षेत्रलाई लक्षित गरी विभिन्न प्रतिबन्ध लगाउन सकिने प्रावधान अमेरिकी कानुनमा छ । निर्धारित समयमा भारतले इरानबाट हुने तेल आयातमा कटौती नगरे भारतीय बैंकमाथि अमेरिकामा प्रतिबन्ध लाग्न सक्ने समाचारमा जनाइएको छ । भारतले इरानबाट ल्याइने कच्चा तेलको मात्रामा उल्लेख्य कटौती गरेको छैन । तर, अमेरिकाले भारतसहित बढी तेल खपत गर्ने चीन र टर्कीजस्ता राष्ट्रलाई इरानी तेलमाथिको निर्भरता घटाउन दबाब दिन थालेपछि भारतले इरानी तेलको विकल्प खोजिरहेको बताइन्छ । (एजेन्सी)

प्रतिक्रिया