एपिएफ बन्यो राष्ट्रिय महिला क्रिकेट च्याम्पियन

काठमाडौं, १८ असोज । पोखरामा बुधबार सम्पन्न राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) ले जितेको छ । साविक विजेता क्षेत्र नम्बर–५ नेपालगन्जलाई ३४ रनले पराजित गरी एपिएफ राष्ट्रिय प्रतियोगिताको रूपमा दोस्रोपटक सहभागी हुने क्रममा विजेता भएको हो । यसअघि गत छैटौँ राष्ट्रिय खेलकुदमा पहिलोपटक सहभागी भएको एपिएफ टोली त्यसमा पनि विजेता भएको थियो ।
आधा दर्जनभन्दा बढी राष्ट्रिय खेलाडीको उपस्थिति रहेको एपिएफले मधु थापाको ४१ र सरिता मगरको २२ रनको योगदानमा निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ११० रन जोडेको थियो । नेपालगन्जले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ११० रन मात्र जोड्न सक्यो । प्रारम्भिक ब्याट्सवुमन लक्ष्मी चौधरीले ३५ रन जोडे पनि नेपालगन्जको हार टार्न सकिनन् । राष्ट्रिय टिमका खेलाडीद्वय ममता थापा शून्यमा आउट भइन् भने कप्तान नेरी थापा शून्यमै रिटायर्ड हर्ट भइन् । राष्ट्रिय टिमकी सदस्य मनीषा रावल २ रनमा आउट हुँदा तृष्णा सिंहले १७ रन जोडिन् । प्रतियोगितामा बैतडीकी रोशनी बोहरा ‘वुमन अफ द सिरिज’ घोषित भइन् भने एपिएफकी सीता रानामगर ‘बेस्ट ब्याट्सवुमन’ र एपिएफकै सरिता मगर ‘बेस्ट बलर’ घोषित भए ।

प्रतिक्रिया