संविधान निर्माणका क्रममा हस्ताक्षर गर्नेले विरोध गर्नु उचित होइन : उपप्रधानमन्त्री सिंह

काठमाडौं । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालीरहेका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान निर्माणका क्रममा हस्ताक्षर गर्नेहरूले अहिले आएर संविधानको विरोध गर्नु उचित नहुने बताएका छन् ।

आज काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले २०१७ सालमा गुमेको जनताको मौलिक अधिकार २०४६ सालमा प्राप्त गरिएको कसैले बिर्सिन नहुने बताए ।

उनले भने, ‘१७ सालमा खोसिएको जनताको मैलिक अधिकार फिर्ता ल्याउन ३० वर्ष कुर्नु पर्यो, सर्वमान्य नेता गणेशमान सिंहको पहलमा ४६ सालमा प्राप्त गरेको बिर्सिनु हुँदैन, प्राप्त गरेको अधिकार सुरक्षित गर्न सक्नुपर्छ, संविधान निर्माण गर्दा हस्ताक्षर गर्नेहरूले विरोध गर्नु उचित हुँदैन ।’

उनले आफूहरू जनताको सेवाका लागि राजनीतिमा आएकाले आफ्नो धर्म भनेको जनताको सेवा गर्ने भएको बताए । उनले भने, ‘सरकारको कामकारबाहीलाई जनताले हेरेर बसिरहेका छन्, जनता र देशका लागि काम नगर्ने नेताहरूलाई जनताले निर्वाचनमा मूल्यांकन गर्नुपर्छ ।’

सहरी विकासमन्त्री सिंहले निजामती विधेयकमा केही तलमाथि भएके भन्दै विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्ने बताए । छानबिनपछि जोसुकै दोषी भए पनि कारबाही हुनुपर्ने उनको भनाइ छ । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले अहिले नगरको आफ्नो भवन निर्माण भएकाले सेवा प्रवाहमा सहजता हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले नगरको नयाँ भवन निर्माण भएकोप्रति खुसी व्यक्त गर्नुका साथै नागरिकलाई सेवा प्रवाहमा सहज होस् भन्ने शुभकामना व्यक्त गरेका थिए । करिब रु ५१ करोड बढी लागतमा उक्त भवन निर्माण गरिएको जनाइएको छ । आजको कार्यक्रममा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन निर्माणमा सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया