मजदुर आन्दोलनले गाईभैँसी भोकै

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा कार्यरत दैनिक ज्यालादारी मजदुरले आन्दोलन गरेपछि त्यहाँ पालिएका गाईभैँसी भोकै भएका छन् । गोठमा काम गर्ने करार र स्थायी मजदुरलाई पनि आन्दोलनरत मजदुरले नियमित काम गर्न नदिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयमा १ सय १५ जना दैनिक ज्यालादारीमा काम गर्ने मजदुर रहेका छन् । उनीहरूको माग करार नियुक्ति पाउनुपर्नेछ । आन्दोलनरत मजदुरले यही २० भदौमा विश्वविद्यालयको केन्द्रीय कार्यालय, डिन, सहायक डिन र प्रशासकको कार्यकक्षमा तालाबन्दी गरेर आन्दोलन थालेका हुन् । विश्वविद्यालयको पशुविज्ञान, पशुचिकित्सा र मत्स्य विज्ञान संकायका डिन डा. होमबहादुर बस्नेतका अनुसार चार दिनदेखि पानी खान नपाएका गाईभैँसीलाई बिहीबार बिहान मजदुरले दानापानी दिएको बताए ।

आन्दोलनरत मजदुरलाई निकै अनुरोधपछि दाना पानी दिने व्यवस्था मिलाइएको उनको भनाइ छ । चार दिनसम्म दानापानी खान नपाएपछि गाईभँैसीको अवस्था दयनीय बनेको छ । उनले भने, ‘मजदुरले दूध दुहेर नालीमा फाल्दै आएकामा निकै अनुरोधपछि बंगुरका बच्चालाई दिइएको छ ।’ दैनिक ७० लिटर दूध हुने गरेकामा अहिले ३० लिटर हाराहारीमा उत्पादन हुने गरेको बस्नेत बताउँछन् ।

गोठमा एक सातामा ६ भैँसी ब्याएका छन् । १४ ब्याउने अवस्थामा छन् । रामपुरको गोठमा मात्र ६५ भैँसी रहेको उनको भनाइ छ । गोठमा हालै मात्र उन्नत जातका पाँच गाई ल्याइएको छ । गोठमा १९ गाई छन् । गाईभैँसी ब्याउने समय भएकाले आन्दोलनका कारण ती पशु प्रभावित भएका छन् । यससँगै अध्ययनका लागि २६ बंगुर, ६ बाख्रा, १० कुखुरा, स्थानीय सुंगुर ६, हालै १ लाख ५० हजारमा खरिद गरेर ल्याइएको एउटा राँगो र २० भेडा छन् । ती पशुचौपायालाई नियमित दानापानी र चरिचरण बन्द गरेपछि पूर्ण रूपमा प्रभावित बनेको उनी बताउँछन् ।

गाईभैँसी मर्ने अवस्था देखिएपछि मजदुरलाई अनुरोध गरेर बिहीबार बिहानबाट दानापानी नरोक्न भनिएको बस्नेतको भनाइ छ । गोठमै रहेका बस्नेतले भने, ‘यो अत्यावश्यक क्षेत्र भएकाले काम नरोक्न अनुरोध गरेका छौँ ।’ गोठमा २६ मजदुर काम गर्दछन् । ती मध्ये १४ दैनिक ज्यालादारीका हुन् । १२ जना करारका रहेका छन् । अन्य विभागमा काम गर्ने आन्दोलनरत मजदुरले समेत त्यहाँ सहभागी भएर धर्ना दिएको उनले जानकारी दिए ।

कानुनमा श्रेणीविहीन कर्मचारीलाई करारमा नियुक्त गर्न नमिल्ने भएकाले समस्या परेको बस्नेत बताउँछन् । आन्दोलनरत मजदुर घनश्याम न्यौपानेले आफूहरूले पशु चौपायाको दानापानी नै प्रभावित हुनेगरी आन्दोलन नगरेको जिकिर गरे । विश्वविद्यालय प्रशासनले आफूहरूको मागको बेवास्ता गरेपछि आन्दोलन गर्न बाध्य भएको न्यौपानेले बताए । माथिल्लो तहका केही मजदुरलाई करारका लागि प्रक्रिया अघि बढाइएको भए पनि योग्यता भएर पनि अन्यले अवसर नपाएको न्यौपाने बताउँछन् ।

विगत केही वर्षयता सो विश्वविद्यालयमा विभिन्न नाममा आन्दोलन हुँदै आएको छ । गत वर्षभर हुन नसकेको सिनेट बैठक हालै मात्र भएको छ । विश्वविद्यालयका पदाधिकारी जिम्मेवार नहुँदा समस्या समाधानको सट्टा बढ्दै गएको त्यहाँ कार्यरत प्राध्यापकहरू बताउँछन् ।

प्रतिक्रिया