अमेरिकामा ‘ओभरडोज’

काठमाडौं । सुमन पौडेलको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘ओभरडोज’ को प्रिमियर हुने भएको छ । अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीमा आधारित यो चलचित्र २९ मेमा अमेरिकाको टेक्सस राज्यको डलासमा प्रिमियर हुने निर्माण पक्षले जनाएको छ । लागुऔषध र अपराधको कथामा आधारित रहेर निर्माण गरिएको यस चलचित्रले छिटो धनी हुने सपनामा परेर कुलतमा फसेकाको विषयलाई उठान गरेको छ । यस चलचित्रमा प्रनिसराज पन्त, सविनजंग थापा, विना श्रेष्ठ लगायतका कलाकारको प्रमुख भूमिका छ । त्यस्तै, गौरव गुरुङ र स्वामी डिजे लगायतका केही अमेरिकन कलाकारले पनि यस चलचित्रमा अभिनय गरेका छन् ।

नेपाली र अंग्रेजी दुई भाषामा निर्माण गरिएको यस चलचित्रले समाजमा अपराधको जालो कसरी जेलिएको छ भन्ने विषयवस्तुलाई उठाउन खोजेको छ । निर्देशक पौडेलले चलचित्रले समाजमा छिटो छिटो धनी हुने मनोविज्ञान बढ्दै गएपछि निम्त्याउने अपराधिक कर्मलाई प्रस्तुत गरेको जनाए । उनले भने, ‘लागुऔषध र अपराधमा संलग्नको जीवन यात्राको कथामा आधारित रहेर चलचित्र बनेको छ ।’

लघुचलचित्र, गीति भिडियो तथा विज्ञापन निर्माण गर्दै आएको दादा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण बनेको यो पहिलो फिचर चलचित्र हो । निर्देशक पौडेलले कथावस्तु र प्रविधिका कारण दर्शकले यो चलचित्र मनपराउनेमा आफू विश्वस्त रहेको बताए । चितवनका पौडेल केही वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । उनले चलचित्र मेकिङमा ब्याचलर अध्ययन गरेका छन् ।

अभिनेता प्रनिसराज पन्तले दर्शकले यस चलचित्रमार्फत केही नयाँ सन्देश पाउने आशा राखेको बताए । अध्ययनको सिलसिलामा अमेरिका रहेका पन्तले नयाँपन दिने उद्देश्यले चलचित्र निर्माण भएको जिकिर गरे । साजन कार्कीले सम्पादन गरेको यस चलचित्रलाई कोरोना कहरको संत्रास कम भएपछि विश्वभर प्रदर्शन गर्ने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया