हेटौंँडा । मकवानपुरका पुराना वामपन्थी नेता तथा यातायातविज्ञ श्रीधर शर्माको निधन भएको छ । उनको आज उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए ।
शिक्षक सङ्गठनका संस्थापकमध्ये एक शर्मा लामो समयदेखि रक्तअर्बुदरोगले ग्रसित थिए । एमाले नेता अनन्त पौडेलले नेता शर्माको निधनले नेपाली कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति पुगेको बताए ।
‘शर्मा शिक्षक आन्दोलन, तत्कालीन नेकपा मालेको खुला मोर्चाका नेता तथा नेकपा मालेका भूमिगत नेताहरुलाई आश्रय दिने हेटौंँडाका मुख्य आश्रयदाता हुनुहुन्थ्यो, नेकपा (एमाले) का नेता, नेपालको यातायात क्षेत्रका विज्ञ आदरणीय श्रीधर शर्माको दुःखद् निधनको खबरले स्तब्ध भएको छु’, उनले भने, ‘आफ्नो अनुभव र ज्ञान सधैँ अरुलाई हस्तान्तरण गरिरहने त्यो विलक्षण प्रतिभा आज अस्ताएको छ, नेकपा (एमाले) लाई अपूरणीय क्षति भएको छ ।’
राष्ट्रियसभाका सदस्य रामचन्द्र राईले नेता शर्माको निधनले आफूहरुलाई मर्माहत बनाएको बताए । स्व शर्माका आमा, दुई श्रीमती, दुई छोरा र दुई छोरी छन् । शर्माको पार्थिव शरीर अन्तिम संस्कारका लागि आज राति हेटौंँडा ल्याइने पारीवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया